आफ्नै बुवा र हजुरबुवाबाट बलात्कृत पूजाकाे याचना

‘आफ्नै बलात्कारीलाई कसरी पिता भनुँ? मेरो नागरिकता परिवर्तन गरिदिनुस्’

काठमाडाैँ– ‘बाहिर झमझम पानी परिरहेको थियो। हजुरबुवाको कोठामा उहाँ बेडमा सुत्नुहुन्थ्यो। म भुइँमा सुत्ने गर्थेँ। त्यस दिन पानी परेका कारण अलि बढी जाडो भइरहेको थियो। एक्कासी हजुरबुवाले मलाई बेडमा सुत्न बोलाउनु भयो। हजुरबुवासँग सिरक ओडेर सुत्न पाइने भयो भनेर म खुसीले दङ्ग भएँ’, यति भनिरहँदा २३ वर्षकी पूजा कार्कीको गला अवरुद्ध भयो।

तर उनले मनलाई दह्रो बनाइन्। केही बोल्ने आँट गरिन्। बोल्दै गइन्। हलमा भरिएका प्राय: मानिसका आँखा रसाइरहेका थिए। शान्त हलमा सुँक्क–सुँक्क गरिरहेको आवाज सुनिरहेको थियो।

पूजा ९ वर्षकी थिइन्। उनी बुढा भएका हजुरबुवाको स्याहार सुसारमा खटिन्थिन् र उनकै कोठामा भुइँमा सुत्थिन्। सधैँ भुइँमा सुत्ने हजुरबुवाले त्यस दिन उनलाई बेडमा सुत्न किन बोलाए उनले पत्तो पाइनन्। उनी हजुरबुवाको कुरालाई स्वीकार्दै बेडमा पुगिन्। सिरकमा गुट्मुटिन नपाउँदै उनका हजुरबुवाले उनलाई पुरै लुगा फुकालेर सुत्दा तातो हुने बताए। उनलाई लाग्यो, हजुरबुवाले माया गरे। तर पनि उनले मानिनन्। पूजालाई हजुरबुवाले धेरै पटक सम्झाए, उनले नमानेपछि लगाएको लुगा च्यातिदिए। त्यही च्यातिएका लुगाले पूजाको हात खुट्टा बाँधिदिए र अबोध नातिनीको कलिलो शरीरमाथि खेले।

उनले त्यो बेला आफू बलात्कृत भएको भनेर थाहा पाइनन्। उनको शरीरभित्र केही भासिए जस्तो भयो। केही चिरिए जस्तो भयो। सहनै नसक्ने गरी गाह्रो भयो। दुखाइले छट्पट्टिरहिन्। उनको योनीबाट रगत बगिरहेको थियो। आफूमाथि के भएको उनले पत्तो पाउन सकिनन्।

पूजाको योनीबाट रगत बग्न नरोकिएपछि हुजरबुवाले भोलिपल्ट अस्पताल लगे। चेकजाँचपछि डाक्टरले उनलाई एउटा औषधि दिँदै भने,‘सबै ठिकै छ।’

तर पूजालाई केही ठिक लागेको थिएन। उनी एक हप्ता स्कुल जान सकिनन्। उनलाई अप्ठ्यारो महसुस भइरहेको थियो। रगत बग्न रोकिएको थिएन तर पनि स्कुल गइन्। रगत बगिरहेका कारण उनको स्कुलको ड्रेसमा रगत लागिरहेको थियो। उनलाई स्कुलमा साथीहरुले महिनावारी भएको भनेर जिस्काउन थाले। उनले त्यो बेला सोचिन्, ‘हजुर बुवाले यस्तो गर्दा महिनावारी भइँदोरहेछ।’

उनलाई आफूमाथि भएको त्यो हिंसाका बारेमा सबैलाई चिच्याएर सुनाउन मन थियो। तर उनले त्यो गर्न सकिनन्। किनकि उनका हजुरबुवाले उनलाई धम्की दिएका थिए,‘यो कुरा कसैलाई भनिस् भने तेरी आमा र तँलाई घरबाट निकाल्दिन्छु।’

तर पढाउने शिक्षिकाहरुले पूजालाई अनौठो तरिकाले नियाले। र उनकी आमालाई स्कुलमा बोलाए। पूजाले रुँदै आमालाई सबै कुरा बताइन्।

पूजाको कुरा सुनेर आमो बेस्सरी रोइन् तर उनले पूजालाई छोरी मान्छे भएपछि कहिलेकाहीँ यस्तै हुन्छ, सहेर बस्नु पर्छ भनेर सम्झाइन्।

आफूहरुले स्कुलमा गल्ती गर्दा शिक्षकले सजाए दिएको उनले सम्झिइन्। र आमासँग हजुरबुवालाई सजाय दिन आग्रह गरिन्। तर आमाले पूजालाई,‘हामीले हजुरबुवालाई सजाय दिन मिल्दैन। तिम्रो ड्याडी आएपछि सजाय दिउँला नि है’ भन्दै उनलाई फकाउने कोशिस गरिन्। उक्त समयमा पूजाका बुवा विदेशमा थिए।

त्यतिमै हजुरबुवाले पूजालाई छोडेनन्। उनी त्यसपछि पनि दुईपटक बलात्कृत भइन्।

अब भने उनलाई केटा मान्छे देख्ने वित्तिकै डर लाग्न थाल्यो। स्कुलमा पनि शिक्षक नजिक आउने बित्तिकै उनी तर्सिन थालिन्।

उनले भनिन्, ‘त्यो बेलामा ड्याडी विदेशमा हुनुहुन्थ्यो। जब म १४ वर्षकी थिएँ। ड्याडी घर आउनुभयो। म धेरै खुसी भएँ। मेरो खुसीले सीमा नै नाघ्यो। ड्याडी घर पुगेको दिनदेखि मैले कुरा गर्नका लागि समय मागेँ। ड्याडीलाई धेरै पटक हजुरबुवाको बारेमा भन्न खोजेँ। तर ड्याडीले जहिल्यै पछि भनेर टार्नुभयो।’

तर एकदिन पूजाका बुवा उनको कुरा सुन्न तयार भए। घरमा पूजा र उनका साना दुई जना बहिनी थिए। उनले पूजालाई बोलाए। उनी रक्सीको मातमा थिए। पूजा उनको छेउमा पुगिन्। उनले भने, ‘छोरी तिमीले हजुरबुवाको बारेमा केही भन्छु भनेको थियौ नि भन त आज मसँग समय छ।’ उनी खुसी भइन्। आफूमाथि भएको सबै कुरा सुनाइन्। पूजाका बुवा मुसुक्क मुस्कुराए र उनलाई भने, ‘धत् लाटी बुढो मान्छेले त्यस्तो गर्न सक्दैन नि हामी जस्तो मान्छेले पो गर्न सक्छ त।’

फेरि पूजाले बुवालाई विश्वास दिलाउन खोज्दै भनिन्, ‘आमाले बुवा आएर हजुरबुवालाई सजाय दिनुहुन्छ भन्नुभएको थियो। पिलिज ड्याडी हजुरबुवालाई पनिस्मेन्ट दिनुस् न।’

उनले बुवालाई यो कुरामा धेरै कन्भिन्स् गर्न खोजिन्। तर उनी कन्भिन्स् हुनै खोजेनन् र अन्तिममा पूजालाई उनले भने, ‘ल ठिक छ। तिम्रो कुरा सत्य हो कि असत्य मलाई चेक गर्न आउँछ। कहाँ तिमीलाई त्यस्तो गरेको हो, त्यहाँ मलाई देखाऊ। मलाई चेक गर्न देऊ। मैले चेक गरेपछि थाहा हुन्छ।’

बुवाको ‘देखाऊ’ भन्ने कुराले पूजालाई फेरि एक पटक अप्ठ्यारो महसुस भयो। उनी झस्किइन्। हजुरबुवाले नाङ्गै सुत्दा तातो हुन्छ भनेको कुरा झँल्यास्स सम्झिइन्। र, बुवाको कुरालाई ठाडै अस्वीकार गरिन्। उनले पूजालाई हजुरबुवाले जस्तै फकाउन खोजे। माया गर्न खोजे। अँगालो मार्न खोजे। उनले मानिनन्। त्यसपछि उनी पूजालाई तान्दै थिए। पूजा उनको पञ्जाबाट उम्किन खोज्दै भनिन्, ‘भयो ड्याडी पछि कुरा गरौँला अहिले म जान्छु।’

बुवाले छोरीको कुरा मानेनन्। तिमीलाई हजुरबुवालाई पनिस्मेन्ट दिनु छ हैन? भन्दै फकाउन खोजे। उनी फकिइनन्। तर पूजालाई उनले उम्किन दिएनन्। पूजा बुवाकै चंगुलबाट उम्किन असफल भइन्। उनी छोरीलाई सम्झाउँदै थिए, ‘यो सामान्य हो। विदेशतिर बाउ र छाेरीबीच यस्तो सबै हुन्छ। तिमी चिन्ता नमान म छु। मसँग पैसा छ तिम्रो लागि जे पनि गर्दिन सक्छु।’

उनको नाइँ–नास्तीको केही चलेन। फेरि अर्को एक पटक उनी निर्वस्त्र भइन्। बुवामाथिको विश्वास उठ्यो। बुवा शब्दसँग घृणा जाग्न थाल्यो उनलाई। उनी यो पटक हजुरबुवाबाट होइन, आफ्नै बाउबाट बलात्कृत भइन्। उनका बुवाले उनलाई एक पटक मात्र होइन, पटक–पटक बलात्कार गरे।

उनी रोइन्। कराइन्। छट्पटाइन्। मनमै लुकाएर राखिन्। तर त्यो कुराले उनलाई भित्रभित्रै खाइरह्यो। उनले कसलाई सुनाउने अनि उनको कुरा कसले सुनिदिने उनी आफू भित्रै पिरोलिइन्। उनले हिम्मत जुटाइन्। उनले सोचिन्, सन्तानको सुख दुःखमा साथ दिने भनेकै आमा हो। आफूमाथिकाे घटना पूजाले आमालाई सुनाइन्। तर आमाले उनलाई साथ दिनुको साटो उल्टै ‘पागल’काे संज्ञा दिइन्।

‘तँ बहुलाइस्, हिजो तैँले तेरो हजुरबुवाले गर्‍याे भनिस्, आज तैले तेरो बुवाले गर्‍याे भनिस्। भोलि तैँले तेरो भाइले गर्‍याे भन्न बेर लगाउदिनस्। तँ मेरो घर परिवार राम्रो भएको हेर्न चाहिरहेकी छैनस्। तँ मेरो साैता जस्तो भइस्’ भन्दै पूजाको कपाल समातेर उनलाई घिसार्दै ढोकासम्म पुर्‍याइन्। त्यही बेला उनलाई उनका बुवाले भने, ‘ओ माई लभ मैले तिमीलाई कसैलाई नभन्नु भनेको थिए नि, मुख नखोल म सबैलाई किन्न सक्छु, अब तिमीले मेरो बाटो फुकाइदियौ।’

उनी लाचार भइन्। अब प्रत्येक पटक बुवासँग सुत्नका लागि उनी विवश भइन्। उनलाई आवश्यक परेका केही समान किन्नका लागिसमेत उनले बुवाको ओछ्यान तताउनु पर्ने बाध्यता थियो। त्यसपछिको उनको दुई वर्ष बुवालाई शरीर सुम्पिदैमा बित्यो। महिनावारी भएको समयमा समेत उसले बोलाएको ठाउँमा पुग्नु पर्‍याे।

उनलाई कसैले सहयोग गरेन। अबको उनको विकल्प भनेको उनको मामा र माइजु थिए। जो पुलिसको ठूलै पोष्टमा थिए। उनले हिम्मत गरिन् र मामा–माइजुलाई भनिन्। सहयोगको सट्टा उनीहरुले पनि पूजाको मुखमा बुझो लगाउन खोजे। न्याय दिनुस् भन्दै शरणमा परेकी भान्जीलाई उनीहरुले ‘बरु हामी सम्पत्ति मिलाइदिन्छौँ, इज्जतको सवाल छ भान्जी यस्तो कुरा बाहिर ल्याउनु हुँदैन भनेर फर्काइ दिए।’

उनीले आफूमाथि भएको पीडालाई सहन सकिनन्। उनले बाँच्नुको कुनै औचित्य देखिनन्। र, अन्त्यमा मर्ने निर्णय गरिन्।

आफैँले आफ्नो हत्या गर्नका लागि बिष किनिन्। विष सेवन गर्नु अगाडि नोट बुकमा आफूले आत्महत्या गर्नुको कारण स्पष्ट खुलाइन्। किनकी उनलाई हजुरबुवा र बुवालाई सजाय दिन मन थियो।

धुलिखेलको जङ्गलमा गएर विष सेवन गरिन्। उनी छट्पटिन थालिन्। लडिबुडी गर्दै रोडसम्म पुगेकी उनलाई गस्तीमा गएका प्रहरीले धुलिखेल अस्पतालमा पुर्‍याए। उनीसँगै रहेको नोटबुक उनीहरुले भेटे र पढे र उनीमाथि निगरानी राख्न थाले र रक्षा नेपाललाई खबर गरे।

पूजाले चार दिनपछि आँखा खोलिन्। आँखा खोल्ने वित्तिकै सेतो सिलिङ देखिन्, उनलाई लाग्यो म स्वर्गमा पुगेछु। फेरि दाँया, बाँया हेर्न थालिन् तर होइन रहेछ। किनकी उनले आफ्नो अगाडि बुवा र आमालाई देखिन्। उनीहरुलाई देख्ने बित्तिकै उनी आत्तिइन्। उनले आफ्नो उपचारमा संलग्न चिकित्सक तथा नर्सलाई आफूलाई किन बचाएको भन्दै मार्न आग्रह गरिन्।

उनले बिन्ती बिसाइन्। तर कसैले सुनेन। १२ दिनको अस्पताल बसाइपछि प्रहरीको सहयोगमा उनी चौकी पुगिन्। बुवा र हजुर बुवाको विरुद्ध उजुरी दर्ता गरिन्।

अदालतले पूजाको पक्षमा फैसला गर्‍याे। उनका बुवालाई १८ वर्षको जेल सजाय भयो। उनका हजुरबुवाले भने आत्महत्या गरे।

त्यपछि उनको रक्षा नेपालको बाटो तय भयो। र उनलाई रक्षा नेपालको सुरक्षित गृहमा ल्याइयो। उनले नयाँ जीवनको अध्याय सुरु गरिन्। रक्षा नेपाल पुग्नुभन्दा अगाडि उनलाई यस्तो संस्थाहरु हुन्छ भन्ने थाहा नभएको बताइन्। सुँक्क–सुँक्क गर्दै उनले भनिन्, ‘म प्रहरीकै सहयोगले आज यहाँ छु। रक्षा नेपाल पुगेपछि मलाई गाह्रो भइरहेको थियो तर यहाँको माया, संस्कारले मलाई बलियो बनायो। यहाँ पुगेर मैले तेक्वान्दाे खेलेँ। अहिले म ब्याकबेल्ट छु।’

उनलाई सुरु सुरुमा लाग्थ्यो, ‘म मात्र यस्तो अभागी होला जसलाई आफ्नै हजुरबुवा अनि बुवाबाटै बालात्कारको सिकार हुनुपर्‍याे,’ तर होइन, रक्षा नेपालमा पुगेपछि मात्र उनले थाहा पाइन् उनी जस्ता धेरै रहेछन्, जो आफ्नैबाट बालात्कृत भइरहेका छन्।

उनले १० कक्षा पछाडि छोडेको पढाइलाई निरन्तरता दिएकी छन्। अहिले स्नातक गरिरहेकी छन्।

उनी विस्तारै ठिक हुँदै छिन्। उनले भनिन्, ‘मलाई पढेर स्त्री विशेषज्ञ बन्न मन छ। तर हरेक ठाउँमा मैले पिताको नाममा त्यही बालात्कारीको नाम लेख्नु पर्छ। आफैलाई बलात्कार गर्ने व्यक्तिलाई म कसरी पिता भनुँ? मलाई एउटा सहयोग गरिदिनुहाेस्, मिल्छ भने मेरो नागरिकता परिवर्तन गरिदिनुहोस्। जसले गर्दा मलाई चाँडै नै हिल हुन मद्दत गर्नेछ।’

पूजा त्यो घटनालाई बिर्सेर अगाडि बढ्ने कोशिस गरिरहेकी छन्। आफू जस्ताका लागि न्यायको लडाइँ लड्न आवश्यक छ भन्ने उनलाई लाग्छ। उनी त्यो लडाई लड्नका लागि आफूलाई दिन प्रतिदिन बलियो बनाइरहेकी छन्। हिम्मत जुटाइरहेकी छन्।

बिहीबार राजधानीमा भएकाे बलात्कार विरुद्धको ऐक्यवद्धता प्यानल डिस्कसनमा सामेल भएकी वकिल सोनाली रेग्मीले यस्ता बलात्कारका केसहरु एकदमै कम मात्र प्रहरीकहाँ पुग्ने बताइन्। उनले भनिन्, ‘बलात्कार भन्ने बित्तिकै अवला बिचरा भन्ने हुन्छ। यसमा ‘सिम्पेथी’ होइन ‘इम्पेथी’ चाहिन्छ।’

रेग्मीले थपिन्, ‘पछिल्लो तथ्याङ्क हेर्ने हो भने कसुर कायम बढिरहेको छ। जिल्ला होस् वा सर्वोच्च अदालतमा होस्- करिब ५० प्रतिशत कसुर कायम भएका छन्। कसुर कायम गरिसकेपछि पनि सजाय कति दिइएकाे छ भन्ने कुरा हो। पछिल्ला केस हेर्ने हो भने सजाय बढी दिइएको छ भने अघिल्ला घटनामा एकदमै कम दिइएको छ। सजायकै कुरा गर्ने हो भने ‘स्पेसिफिक’ छैन।’

कानुनमै कतै समस्या भएको हुन सक्ने भन्दै यसलाई केलाउन जरुरी रहेको उनले बताइन्। उनका अनुसार पीडितको उमेरको आधारमा सजाय निर्धारण गर्न मिल्दैन।

त्यसैगरी अतिरिक्त प्रहरी महानिरीक्षक पुष्कर कार्कीका अनुसार पछिल्लो समय बलात्कारका घटनाका उजुरी लिएर आउनेहरुको संख्या बढ्दै गएको छ। उनले भने, ‘पहिला मानिसहरु आफ्नो इज्जतका लागि खुल्न हिच्किचाउने अवस्था थियो भने अहिले मानिसमा त्यो मानसिकता हराउँदै गएको छ। उनीहरु सचेत भइरहेका छन्।’

त्यसैगरी अर्की प्यानलिस्ट सूचना आयुक्त यशोदा तिम्सिनाले विदेशमा जस्तो नेपालमा पनि बालबालिकालाई राम्रो र नराम्रो कुरामा ‘ट्रेन’ गरिनु पर्ने बताइन्। उनले भनिन्, ‘विदेशमा बुवा आमाले पिटेमा यस्तो ठाउँमा खबर गर्नु भनेर सिकाइएको हुन्छ तर नेपालमा बलात्कार भए पनि बाहिर भन्नु हुँदैन भनेर सिकाइन्छ।’

उनले बालबालिकालाई ‘ट्रेन’ गर्नका लागि यस्ता सबै कुरा पाठ्यक्रममा समावेश गर्न जरुरी रहेको बताइन्।

मंसिर १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्