डायलासिस मनमोहन की ग्रान्डी?

के ओली अब संक्रमणमुक्त रहन सक्लान्?

डिस्चार्ज हुँदै प्रधानमन्त्री ओली। तस्बिर: बर्षा शाह

काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो पटक स्वास्थ्य समस्याका रुपमा देखिएको एपेन्डिसाइटिसको शल्यक्रिया र पेटमा देखिएको संक्रमणको उपचार गराएर १० दिनपछि बिहीबार दिउँसो बालुवाटार फर्किएका छन्।

संक्रमणको जोखिम टार्न चिकित्सकले अझै केही दिन ओलीलाई अस्पतालमै राख्न चाहेपनि ओलीले आफू बालुवाटारमै गएर आराम गर्ने चाहना व्यक्त गरेपछि त्यसैअनुसार उनलाई डिस्चार्ज गरिएको हो।

पूर्णरुपमा एक साता बालुवाटारमा आराम गर्ने सर्तमा चिकित्सकले ओलीलाई डिस्चार्ज गरेको अवस्थामा ओलीले त्यो सर्त पालना गर्लान त भन्ने प्रश्न स्वाभाविकरुपमा उब्जिन्छ।

यता ओली मिर्गौलाका बिरामी पनि भएको र त्यसको उपचारले निरन्तरता पाएको सर्वविदितै छ।

तर १० दिन अघि देखिएका जस्ता समस्या दोहोरिन नदिन र थप नयाँ समस्या हुन नदिन संक्रमणबाट जोगिन ओलीलाई चिकित्सकले सल्लाह दिएका छन् ।

त्यो पृष्ठभूमीमा ओलीलाई अस्पताल धाउनै पर्ने बाध्यता छ नियमित अर्थात सातामा कम्तिमा तीन पटक डायलासिका लागि दोस्रो पटक मिर्गौला प्रत्यारोपण नभएसम्म।

१२ वर्ष अघि प्रत्यारोपित मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि ओलीले गत कार्तिक १३ गतेदेखि यता नियमित डायलासिस गर्दै आएका छन्।

डायलासिसका क्रममा उनलाई धपेडी नहोस् भनेर प्रधानमन्त्री निवास बालुवाटारमै त्यससम्बन्धी सुविधाको व्यवस्था गर्ने तयारी भइरहेको सूचनाहरु बाहिरिएका छन्।

त्यसबारे छलफल मात्रै भइरहेको र निधो नभइसकेको ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाह बताउँछिन्।

उनी भन्छिन्, ‘हामीले प्रधानमन्त्रीज्यूलाई जसरी हुन्छ सहज र जोखिममुक्त उपचार दिने कोशिस गछौँ। जहाँ उहाँलाई सहज हुन्छ त्यही बेस्ट ट्रिटमेन्ट दिने हो। त्यसबारे हाम्रो निरन्तर छलफल भइरहेको छ।’

तर ओलीका स्वास्थ्य सल्लाहकार एवं मुटुरोग विशेषज्ञ डा.अरुण सायमी भने त्यो व्यवहारिक नहुने बताउँछन्।

महाराजगञ्जको मनमोहन कार्डियो भास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पछिल्लो १० दिन निरन्तर ओलीको उपचार तथा निगरानीमा सायमी पनि जुटेका थिए।

उनी भन्छन्, ‘डायलासिस अस्पतालमै गर्दा राम्रो हुन्छ । बालुवाटारमा मेसिन खडा गर्न त सकिएला तर त्यहाँ संक्रमणको जोखिम हुन्छ । अस्पताल जस्तो हुन्न त्यहाँ । अर्कोतिर डायलासिसका बेला पनि अन्य विशेषज्ञ चिकित्सक उपलब्ध हुनुपर्छ । डायालासिस गर्दा गर्दै मुटुको समस्या भयो भने के गर्ने ? त्यसैले त्यो कति व्यवहारिक र सुरक्षित छ त्यसबारे छलफल हुनुपर्छ।’

प्रधानमन्त्रीले ओलीले पाँचौ पटकसम्म डायलासिस डा. सिंह कार्यरत रहेको धापासीस्थित ग्रान्डी इन्टरनेशल हस्पिटलमा गरेका थिए। तर एपेन्डिसाइटिसको सल्यक्रिया गर्न डा. सायमी कार्यरत सेन्टरमा भर्ना भएपछि ओलीले त्यही डायलासिसलाई निरन्तरता दिएका हुन्।

अव ओलीको डायलासिस कहाँ हुन्छ भन्ने प्रश्नमा डा.सायमी भन्छन्,‘ मैले प्रधानमन्त्रीज्यूलाई सोधेको थिएँ डायलासिसका लागि ग्रान्डीमा जानुहुन्छ कि यतै आउनुहुन्छ? जवाफमा प्रधानमन्त्रीज्यूले भन्नु भयो खै ग्रान्डी जाने बाटोमा खाल्डाखुल्डी बढी छ। सल्लाह गरौँला नि।’

प्रधानमन्त्री ओली आफ्नो सेन्टरमा डायलासिस गर्न अब फेरि आएमा त्यससम्बन्धी व्यवस्था अहिले जस्तै गर्न सक्ने आशय डा.सायमीले व्यक्त गरेका छन्।

यता प्रधानमन्त्री ओलीको हाल गरिएको उपचारको ‘फलोअप’ सेन्टरका चिकित्सकले बालुवाटारमै पुगेर गर्ने तयारी गरेका छन्।

मंसिर १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्