प्रदेश र स्थानीय तह सरकार खोला संरक्षण र सफाई अभियानमा जुट्दै

काठमाडौं- खोला तथा नदी सरसफाईमा प्रदेश एक सरकारले सक्रियता सुरु गरेको छ।

प्रदेश एक सरकारले शनिबारबाट सरसफाई अभियान सुरु हुने गरि मोरङका पाँच वटा स्थानीयसंगको सहकार्यमा सिंघिया खोला संरक्षण तथा सरसफाई अघि बढाउने भएको हो।

बिहीबार विराटनगरमा सामाजिक विकास मन्त्रालयद्धारा आयोजित सरसफाई विषयक पत्रकार सम्मेलनका क्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले भने, ‘पहिलोचरणमा सिंघिया खोलाको सरफाई हुनेछ। जसमा घिनाघाटदेखि करिब १० किलोमिटर भातिगछ पुलसम्मको क्षेत्रमा सरसफाई हुनेछ।’

अभियान मुुल समिति संयोजक समेतरहेका मन्त्री घिमिरेले प्राकृतिक सम्पदामाथि हुने फोहर ब्यवस्थापनका क्रममा जागरण ल्याउनेतर्फ लक्षित रहेको प्रस्टाए। उनले यसपछि मन्त्रालय र स्थानीय तहकै सहकार्यमा पूर्वका अन्य प्रदुषित खोलाहरुमा सरसफाईको योजना रहेको बताए।

पहिलोचरणको यस अभियानमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली सह–संयोजक रहेकाछन्। कार्यक्रममा मेयर पराजुली सरससफाई महाअभियान सन्देशमुलक र जनचेतनामुलक हुने जानकारी दिए।

‘सिंघीया खोलाको सफाई अभियान, हामी सबैको शान’ अभियान अन्र्तगत पहिलोचरणमा शनिबार विराटनगरको पुष्पलाल चौकपूर्व घिनाघाटदेखि सिंघिया खोलाको सफाइ हुनेछ।

यसक्रममा विराटनगर महानगरपालिका तथा कटहरी गाँउपालिका, बूढीगंगा गाँउपालिका, ग्रामथान र जहदा गाउँपालिकासँग सहकार्य गर्दै प्रदेशको सामाजिक विकास मन्त्रालयले अभियानको थालनी गर्ने भएको हो।

सरकारी तथा गैरसरकारी संघ संस्था, निजी क्षेत्र, सुरक्षा निकाय, स्वास्थ्य क्षेत्र, सामाजिक अभियन्ता लगायत सबै पक्ष एवं समुदायको सामूहिक सहभागितामा अभियानको थालनी गरिने मन्त्रालयले जनाएको छ।

अभियानको मुल समितिमा विभिन्न स्थानीय तहका प्रमुख, विराटनगर–१, २, ७, ८, १४, १८ र १९, जहदा–१ र २, बूढीगंगा–१ तथा कटहरी –१, २, ३ का वडा अध्यक्ष, सरकारी कर्मचारी, सुरक्षा अधिकारी लगायत सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिती रहेको छ।

सोही खोलाको सीमांकन तथा ऐलानी र पर्ति जग्गा पहिचानका लागि नापी कार्यालय मोरङका अधिकृतको संयोजकत्वमा पाँच स्थानीय तहका अमिनहरु सदस्य रहने ६ सदस्यीय सीमांकन एवं नापजाँच समिति बनाइएको छ ।

सरसफाईका लागि मन्त्रालयले १ सय ७० जोडी गम्बुट जुत्ता, १ सय वटा डोको, १ हजार ५ सयवटा मास्क, ५ सयवटा डिस्पोजेवल पञ्जा, खानेपानी, माइक तथा स्पिकरको व्यवस्था गर्नेछ।

महानगरपालिकाले ७ सयवटा एप्रोन, १ सयवटा फोहोर तान्ने काँटा, २० वटा बेल्चा, २० वटा दविया, ५० वटा हसियाँ, २० वटा फोरुवा, २० वटा डस्बिन र २० थान डोरी उपलब्ध गराउने छ।

त्यस्तै संकलित फोहोर व्यवस्थापनका लागि फोहोर उठाउने र डम्पिङ साइडसम्म पुर्‍याउने सवारी साधनको व्यवस्था महानगरले गर्ने बताइएकोछ। सोही अभियानमा कटहरी गाउँपालिकाले २ सय जोडी गम्बुट जुत्ता, ६ सय जोडी पञ्जा, बूढीगंगाले ६५ जोडी गम्बुट जुत्ता, जहदाले ५० वटा फोहोर तान्ने काँटा र ग्रामथान गाउँपालिकाले ६५ जोडी फोहोर तान्ने काँटाको व्यवस्थापन गर्नेछन्।

मंसिर १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू