स्वर्णधारी गोपीचन्द्र पार्की

नेपालबाट खोसिएको स्वर्ण फिर्ता ल्याउन मलाई १४ वर्ष लाग्यो

तस्बिर: बर्षा शाह/देश सञ्चार

काठमाडौँ – १० औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेका नेपाली धावक राजेन्द्र भण्डारीले शक्तिवद्र्धक औषधि सेवन गरेको भन्दै उनको पदक खोसियो ।

यो बेला गोपीचन्द्र पार्की स्कुल पढ्थे । नेपालका राजेन्द्र भण्डारीले जितेको पदक खोसिएको घटनाले पार्की निकै दुःखी भए । उनले मनमनै प्रण गरे कि नेपालबाट खोसिएको स्वर्ण पदक फिर्ताँ ल्याउँछु ।

उनै गोपीचन्द्र पार्कीले शुक्रबार पाँच हजार मिटर दौडमा स्वर्ण पदक जितेर आफ्नो लक्ष्य पूरा गरेका छन् । ‘मेरो बच्चैदेखिको सपना पूरा भएको छ, मैले राष्ट्रबाट खोसिएको पदक फिर्ता ल्याउन सकेको अनुभूति गरेको छु’, उनले भने ।

३० वर्षीय पार्कीले आफूले यो लक्ष्य पूरा गर्न १४ वर्ष मेहनत गरेको बताए । ‘स्कुलको अध्ययन सकेपछि म काठमाडौँ आए, विभागीय क्लवमा आवद्ध खेलाडीले यस्ता पदक धेरै जित्ने गरेको पाएपछि २०७६ सालमा म पनि सशस्त्र प्रहरीमा आवद्ध भएँ, पार्कीले भने, ‘त्यतिबेला मेरो मनमा लागेको चोट अहिले निको भएको महसुस भइरहेको छ ।’

पार्कीले पाँच हजार मिटर दौडमा सहभागी हुँदा दौड्ने क्रममा पनि आफूलाई राजेन्द्र भण्डारीको पदक खोसिएको घटनाले पिरोलिरहेको बताए ।
‘त्यही घटना सम्झिरहेँ, जसरी पनि जित्नुपर्छ ठाने र अन्त्यमा निकै सफल मानिएका खेलाडीलाई पनि उछिनेर मैले मेरो सपना पूरा गरेँ’, पार्कीले भने ।

श्रीलंकामा भएको १० औँ दक्षिण एसियाली खेलकुदमा दुईवटा स्वर्ण जितेका राजेन्द्र भण्डारीले शक्तिवद्र्धक औषधि सेवन गरेको भन्दै पदक खोसिएको थियो ।
तर उनै राजेन्द्र भण्डारीले ११ औँ दक्षिण एसियाली खेलकुदमा पनि स्वर्ण जितेर आफूलाई प्रमाणित गरेका थिए ।

 

मंसिर २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्