विद्यालयको खर्चमा कर्णालीका मुख्‍यमन्त्री र मन्त्रीको हेलिकोप्टर यात्रा

सिमकोट- अनावश्यक खर्च कटौती गर्दै मितव्ययी बन्ने घोषणा गरेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले नै विद्यालयको खर्चमा हेलिकप्टरको यात्रा गरेको पाइएको छ।

दुर्गमका विद्यालय बजेट अभावमा आवश्यक शिक्षकको दरबन्दी र पूर्वाधार अपुग भइरहँदा मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दलले रावल हुम्लाको एक विद्यालयको उद्‌घाटन गर्न सोही विद्यालयको खर्चमा नेपाली सेनाको हेलिकोप्टरको यात्रा गरेका हुन्।

ताँजकोट गाउँपालिका–४ स्थित चन्द्रप्रकाश माध्यमिक विद्यालय हुम्लाको शिलान्यास गर्न मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री रावल विद्यालयकै खर्चमा हेलिकप्टरको यात्रा गरेको स्रोतले जनाएको छ।

मुख्यमन्त्री र मन्त्रीको भ्रमणमा सोही विद्यालयको ३ लाख र ताँजकोट गाउँपालिकाको १ लाख ५० हजार गरी चार लाख ५० हजार रुपैयाँ नेपाली सेनाको हेलिकप्टरलाई भुक्तानी दिइएको छ।

विद्यालयको नमूना भवनको शिलान्यास गर्न प्रदेशका मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री रावल आउने भएपछि हेलिकोप्टरको भाडा वापत उक्त रकम तिरिएको विद्यालय स्रोतले जनाएको छ।

चालू आर्थिक वर्षको बजेटबाट प्रदेशको सामाजिक विकास मन्त्रालयको एक करोड र ताँजकोट गाउँपालिकाको २० लाख गरी १ करोड २० लाखको लागतमा विद्यालयको नमूना भवन निर्माण गर्ने योजना स्वीकृत भएको छ।

स्रोत भन्छ, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का हुम्ला अध्यक्ष लालकेश जैशी र ताँजकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लको आफ्नै वडामा बन्ने उक्त विद्यालयको नमूना भवन शिलान्यास गर्न प्रदेशका मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री रावललाई ल्याउन हेलिकोप्टर प्रयोग गर्ने र सो रकम विद्यालय र गाँउपालिकाले ब्यहोर्ने योजना बनेको थियो।

स्रोतका अनुसार त्यसको भाडा विद्यालयको भवन निर्माणमा बिनियोजन भएको रकमबाटै व्यवस्थापन गर्ने चाँजो पाँजो मिलाइएको छ। ‘हेलिकोप्टरको भाडाका लागि विद्यालयको आन्तरिक स्रोतबाट शुरुमै ३ लाख व्यवस्थापन गर्न भनिएको थियो।’

विद्यालय स्रोतले भन्यो, ‘हामी (विद्यालय) सँग त्यस्तो कुनै स्रोत नभएको जानकारी दिएको र त्यसको पछि व्यवस्थापन गर्ने गरी हाललाई वडा सचिवको खातामा भएको रकम प्रयोग गरिएको हो।’

रकम भुक्तानी कसरी भयो?


नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरे वापतको भाडा बुधबार अपरान्ह २ बजेर ४५ मिनेटमा ताँजकोट गाउँपालिकाका लेखा अधिकृत वृषसिंह सुनारको राष्ट्रिय वाणीज्य बैंकको खातामा ट्रान्सफर गरिएको हो।

चन्द्रप्रकाश माध्यमिक विद्यालयसमेत रहेको ताँजकोट–४ का वडा सचिव विष्णुभक्त जैशीको व्यक्तिगत चेकबाट ३ लाख र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालको व्यक्तिगत खाताको चेकबाट १ लाख ५० हजार रुपैयाँ गाउँपालिकाका लेखा प्रमुख सुनारको खातामा पठाइएको हो।

नेपाली सेनाको खाता जनता बैंकमा नभएकाले रकम सुर्खेतमा रहेका लेखा प्रमुख सुनारको जनता बैंक ताँजाकोटमा भएको व्यक्तिगत खाता नम्बर १२९१०२०६६२५२८०१ मा बुधबार २ बजेर ४५ मिनेटमा रकम जम्मा भएको थियो।

अघिल्लो दिन भाडा बापतको रकम भुक्तानी नभए नेपाली सेनाले हेलिकोप्टर नउडाउने भएपछि सुर्खेतमा भएका लेखा प्रमुख सुनारले जनता बैंकबाट रकम निकासा गरेका थिए।

बैंकबाट रकम निकासा गरे लगत्तै लेखापाल सुनारले अपरान्ह ३ बजे नेपाली सेनाको नेपाल बैंक सुन्धारामा रहेको कोष तथा लेखा नियन्त्रण कार्यालयको ००२०२००००००००६०००००१ नम्बर खातामा एकमुष्ट ४ लाख ५० हजार रकम जम्मा गरेका थिए।

रकम गाउँपालिकाका कार्यालय सहयोगी धनबहादुर शाहीले उक्त रकम पठाएका हुन्। विद्यालयले सिधै रकम पठाए नैतिक प्रश्न उठ्नेतर्फ सजग बनेका गाउँपालिका नेतृत्वले त्यसबाट बच्न रकमलाई घुमाउरो तरिकाले भुक्तानी गरेको हो।

गाउँपालिकाबाट रकम आफ्नो खातामा आएर नेपाली सेनाको खातामा जम्मा गरेका लेखा प्रमुख सुनारले स्वीकार गरे। गाउँपालिकाको बजेटलाई सुत्रमा राख्न उनी सुर्खेत रहदै आएका छन्।

कुन-कुन ठाउँ गयो हेलिकोप्टर ?


कर्णाली प्रदेशका मुख्यमन्त्री शाही, सामाजिक विकास मन्त्री दल रावल र नेकपा हुम्लाका अध्यक्ष लालकेश जैशी र मुख्यमन्त्रीका पिएसओ चढेको नेपाली सेनाको हेलिकोप्टर सुर्खेतबाट सिधैं हुम्ला र बाजुराको सीमाना कवाडीमा अवतरण गर्‍यो। त्यहाँ प्रदेश सरकारले विनियोजन गरेको १० करोडको अन्तर जिल्ला जोड्ने सडकको शिलान्यास गर्ने कार्यक्रम थियो।

कवाडी–खौला–पाल्स–गुँसा हुँदै उनापानीबाट नाम्खाको खगालगाउँ जोड्ने उक्त सडकको शिलान्यास मुख्यमन्त्री शाहीले एक्साभेटर चलाएर गरका थिए। त्यसपछि हेलिकोप्टर ताँजकोट–४ गोठेबाडामा निर्माण गर्न लागिएको चन्द्रप्रकाश माध्यमिक विद्यालयको भवन निर्माणस्थलमा अवतरण गर्‍यो।

त्यसपछि भने गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले हेलिकोप्टर चढेका थिए। विद्यालयको भवनको शिलान्यास कार्यक्रम सकिएपछि हेलिकप्टर मुगुको भट्टेचौरका लागि उड्यो। मुगु कर्णालीमा निर्माण हुने पुलका बारेमा स्थलगत अध्ययन गरेर हेलकोप्टर सुर्खेत फिर्ता भयो।

मंसिर २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्