विराटनगर विमानस्थलमा

‘अब हामी कोही पनि एमाले र माओवादी रहेनौँ, हामी सबै नेकपा’

काठमाडौं- उप-प्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेकपाभित्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई थप शक्तिशाली बनाउने विषय सार्वजनिक भइरहदाँ पार्टी नेकपा एक रहेको बताएका छन्।

शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसंग संक्षिप्त कुरा गर्दै नेता पोखरेलले भने, ‘यहाँ एमाले र माओवादी भन्ने पक्ष रहेन। अब नो मोर माओइस्ट सेन्टर नो मोर युएमल, हामी नेकपा अर्थात नेपाल कम्युनिष्ट पार्टी नेपाल भइसकेको छ।’

पार्टीभित्र शक्तिको होडमा एमाले अघि बढ्ने र माओवादीलाई पछाडि पार्ने भन्‍ने कुरा नभएको उनको भनाइ छ। त्यसैगरी भारतसँगको नक्सा विवादका विषयमा उप–प्रधान एवं रक्षामन्त्री पोखरेलले सीमा विवाद समाधानका लागि उच्चस्तरीय पहल भइरहेको बताएका छन्।

कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा सरकारले कुटनैतिक र राजनैतिक हिसाबबाट उच्चस्तरीय पहल गरिरहेको रक्षामन्त्री पोखरेलेको भनाइ छ।

मन्त्री पोखरेलले सरकारको तर्फबाट औपचारिक रुपमा सीमा विवादको जानकारी गराउन भारत सरकारलाई अनुरोध पत्र पठाइसकिएको प्रस्टाए। उनले भने, ‘हाम्रो पोजिसनको बारेमा जानकारी दिएर भारत सरकारलाई औपचारिक रुपमै अनुरोध गरेका छौँ।’

त्यसैगरी शनिबार सम्पन्‍न उपनिर्वाचन अन्‍नर्गत भक्तपुर र धरानमा पार्टी पराजित भएको विषयमा चार दिन भित्र जानकारी दिन सम्बन्धित कमिटीलाई निर्देशन दिइसकिएको उनले बताए।

‘उप-निर्वाचनमा भएका घटनाक्रमलाई चार दिनभित्र व्यवस्थित समीक्षा प्रतिवेदन पठाउन सम्बन्धित कमिटीलाई निर्देशन दिइसकिएको छ,’ महासचिव पोखरेलले भने, ‘उक्त प्रतिवेदनका विषयमा आगामी सोमबार हुने पार्टीको सचिवालय बैठकमा थप समीक्षा गरेर निर्णय लिइने छ।’

मंसिर २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्