भारत भ्रमण गर्ने अमेरिकी र बेलायती महिलाका लागि ‘ट्राभल एड्भाइजरी’

एजेन्सी– पछिल्लो समय भारत महिलाहरुका लागि असुरक्षित रहेको भन्दै बेलायत सरकारले भारतमा बसोबास गर्ने वा भारत भ्रमणमा रहेका आफ्ना महिला नागरिकहरुका लागि ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ।

बेलायतले आफ्ना देशका नागरिकलाई भारतमा बलात्कार तथा यौन उत्पीडनका घटना बढीरहेकाेतर्फ सचेत गराउँदै भारत भ्रमणका क्रममा सावधानी अपनाउन सुझाव दिएकाे छ। साथै बेलायतले कुनै दुर्व्यवहार भोग्नु परेमा प्रहरी समक्ष जान सुझावसमेत दिएको छ।

यस्तै अमेरिकी सरकारले पनि आफ्ना नागरिकका लागि भारतमा यात्रा गर्दा सावधानी अपनाउन भनेकाे छ। अमेरिकाले भारत भ्रमणका क्रममा महिलाहरुलाई आफ्नो अधिकारको बारेमा सचेत रहन सुझाव दिएको छ।

भारतमा बलात्कार तथा याैन दुर्व्यवहारका घटनाहरु दिन प्रतिदिन बढिरहेका छन्।

केही दिन अघि २८ नोभेम्बरमा हैदराबादको एक प्लाजा नजिकै २६ वर्षीया एक डाक्टरको जलेको अवस्थामा शव भेटिएकाे थियाे। प्रहरी अनुसन्धानले ती युवतीमाथि बलात्कारपछि हत्या भएको खुलेकाे थियाे।

घटनापछि चार जना अभियुक्तलाई पक्राउ परेका थिए। उनीहरु चारै जना शुक्रबार बिहान भएकाे प्रहरी इन्काउण्टरमा मारिएका छन्।

मंसिर २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्