अमेरिकामा तालिम लिइरहेका साउदी सैनिकले बेसक्याम्पमै अन्धाधुन्ध गोली चलाए

अमेरिकाको फ्लोरिडामा अन्धाधुन्ध गोली प्रहार गरी तीनजनाको हत्या गर्ने व्यक्ति साउदी अरेबियाका सैन्य विद्यार्थी रहेको सरकारी अधिकारीले बताएका छन् ।

फ्लोरिडाको पेनसाकोलामा रहेको अमेरिकी नेभीको बेसक्याम्पमा ती बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा तीनजनाको मृत्यु भएको हो ।

गोली प्रहार गर्ने व्यक्तिको नाम मोहम्मद सईद अलशम्रानी रहेको जनाइएको छ । उनी साउदी सैनिकका सदस्य रहेको पेनसाकोला बेसक्याम्पमा तालिमरत रहेको जनाइएको छ । आक्रमण लगत्तै जवाफी कारवाहीमा उनको गोली लागेर मृत्यु भएको छ ।

घटनामा अरु ८ जना घाइते भएको स्थानीय अधिकारीले पुष्टि गरेका छन् । घाइते हुनेमा दुई सुरक्षाकर्मी पनि छन् । आक्रमणकारीले ह्याण्डगनको प्रयोग गरेको जनाइएको छ ।

यो हप्ता अमेरिकी सैनिकको बेसक्याम्पमा भएको यो दोस्रो अन्धाधुन्ध गोली प्रहारको घटना हो । यसअघि गएको बुधबार हुवाईमा रहेको पर्ल हार्बोर सैन्य बेसक्याम्पमा अमेरिकी जलसैनिकले अन्धाधुन्ध गोली प्रहार गरी दुई कामदारको हत्या गरेका थिए ।

पछिल्लो आक्रमण पेनसाकोला बेसक्याम्पमा नेपाली समय अनुसार शुक्रबार बेलुका ६ बजेर ३६ मिनेट जाँदा भएको हो । पेनसाकोला सैन्य बेसक्याम्पमा १६ हजार भन्दा बढी सैनिक र सात हजार चार सय भन्दा बढी अरु कामदार छन् ।

साउदी अरेबियाका राजा सलमानमाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टेलिफोन गरी घटनाप्रति दुःख व्यक्त गरेको जनाइएको छ ।

मंसिर २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्