साहित्‍य

‘दुलारी’को विवशता

गाउँको सबैभन्दा धनी कहलिने व्यक्ति गोसाई साहुकहाँ माई गइन्। माईले बाउको बारेमा सबै वृत्तान्त बताइन्। माईले बाउको उपचारको लागि गोसाइ साहुसँग दस हजार रुपैयाँ मागिन्। गोसाई साहुले पैसा होइन, अर्ती दिए।

हम पैसा दैले तयार चियौ, डोमनी। लेकिन हमर ऋण तोरा बोभर मात्रे हेतौ। कनङ्खे तिरबिही ? तोहर घरबला के क्यान्सर भ्या गेल छौ। कनहिक दिन मे मोरतौ। दबाई कर्या के कथि करबिही ? बेकार के खरच। जतहेक सकै चिही ततहेक ओकर सेवा कर्। भगवान् के हाथ उठा।

क्यान्सर कैहियो ने निक है छै। (म पैसा दिन तयार छु, डोमनी तर मेरो ऋण तँलाई बोझ मात्र हुन्छ। कसरी तिर्छेस् ? तेरो बुढालाई क्यान्सर भैसक्यो। अलिदिनमा मर्छ। उपचार गराएर के गर्छेस् ? व्यर्थको खर्च। सक्ने जति उसको सेवा गर्। ईश्वरको प्रार्थना गर्। क्यान्सर कहिले सन्चो हुँदैन।)

गोसाई साहुको कुरा सुनेर माईका आँखा राताराता भए। माईले घुटुक्क थुक निलिन्। टाढा हेरिन्। साहुले हुँदैन भनिसके भन्ने बुझेर पनि माईले अनुनय भावमा भनिन्, ‘सुनेको थिएँ, तोरो गिरहतनी के बरका रोग लागल छेलौ। तोहे बरका सहर मे ज्या के दबाई कराइल हि। निक भेलौ। हमरो आसा छै। ओकर सास चैल ते छ्रै। (तपाइकी  गिरहतनीलाई पनि ठूलो रोग लागेको थियो। तपाईँले ठूलो शहरमा लगेर उपचार गराउनुभयो। निको हुनुभयो। मलाई पनि आशा छ। उनको सास चलिरहेको छ।)

माईको कुरा सुनेर गोसाई साहु रिसले राता भए,
हमर घरवाली जरे तु आपन घरवला के तुलना करै चिही ? सान्त्वना के दुई वचन कथि बोललियै सुइन के माइत गेलही तु। (मेरो स्वास्नीसँग तँ आफ्नो बुढालाई दाँज्छेस् ? सान्त्वनाको दुई शब्द के बोलेको थिएँ, मात्तिन्छेस् ?)

साहुको हप्काइले माईको सातो गयो। विवश र लाचार भएर माई पैसा नलिइकन गोसाई साहुको ओसराबाट उठिन्। बाटोभरि के के सोच्दै हिँडिरहेकी थिइन्। माईको आवाज निस्केको थिएन तर आँखाले धेरै कुरा बोलिरहेको थियो। बाटोमा हिँड्दा –हिड्दै माई कसरी आफ्नो छाप्रोमा आइपुगिन् केही थाहा पाइनन्। बाउ सुतिरहेका थिए। बाउको छेउमा बसिन्। तेल तताइन्। बाउको जिउभरि तातो तेल घस्न थालिन्।

बाउलाई मालिस गरिसकेपछि बाउको लागि भात पकाइन्। भात पकाएर थोरै भात बटुकोमा हालिन्। बाउलाई दुईचार गाँस भात खुवाइन्। आफूले केही खानइनन्।

भात हुँदा पनि माईलाई भोक लागेको थिएन। चुलोतिर हेरिन। सानो बटुकोमा रातिको बासी भात थियो। बटुकाको बासी भातमा नुन र खुर्सानीको धुलो राखिन्। एक ढिको प्याज लिइन्। बासी भात गनाइसकेको थियो। भातमा पानी हालिन्। नुन र खुर्सानीको धुलो मिसाएको भातको पानी निचोर्दै दुई तीन गाँस खाइन्। त्यसपछि खान मन लागेन।

आकाशतिर हेरिन्। टन्टलापुर घाम लागिरहेको थियो। झपुडीको पछाडितिर गएर सबै भात मिल्काइन्। बाउको छेउमा आएर बाउको खुट्टा थिच्न थालिन्। उदास मन लिएर अनिश्चित आसा बोकी गहभरि आँसु बोकेर बाउको अनुहारतिर हेरिरहिन्। बाउ आँखा बन्द गरेर निदाइरहेका थिए।

बाउको अवस्था हेरेर माईको मन रोइरहेको थियो। माईलाई अनौठो छटपटी लागिरहेको थियो। मान्छेलाई त्यतिखेर छटपटी लाग्छ जतिखेर उसको चाहना पूरा हुँदैन। माई पनि त्यही छटपटीको सिकार बनेकी थिइन्। आफ्नो इच्छा अनुसार बाउको उपचार गराउन सकेकी थिइनन्।

 *(मुना चौधरीद्वारा लिखित उपन्यास दुलारीको आज विमोचन भएको छ।) 

मंसिर २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्