पशुपतिका मुलीहरुद्वारा नै पशुपतिको अपमान

काठमाडौँ – आराध्य देव पशुपतिनाथको मर्यादा फेरि एक पटक विवादमा आएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्यहरुसहितको समाजिक सञ्जालको एक समूह मार्फत पशुपतिनाथको मूल मूर्तिको तस्बिर सार्वजनिक भएको छ ।

पशुपतिनाथको तस्बिर खिच्न वर्जित छ तर हालै कोषको सदस्यमा नियुक्त भएका अर्जुन बास्तोलासहितको सामाजिक सञ्जालको समूह मार्फत पशुपतिको मुल मूर्तिको तस्बिर सार्वजनिक भएको हो ।

यसबारे जानकारी लिन देश सञ्चारले उनलाई सम्पर्क गर्दा, ‘अहिले कुरा गर्न मिल्दैन’ भन्ने जवाफ दिएका छन् । ‘पशुपतिको मूल मूर्तिको तस्बिर सार्वजनिक भए छ नि ?’ भन्ने हाम्रो प्रश्नको जवाफमा उनले, ‘अहिले कुरा गर्न मिल्दैन’ भनेका हुन् ।

बास्तोलाले केही साथीहरुसँग खिचाएको तस्बिर र पशुपतिनाथको मूल तस्बिर एउटै समूहमा सार्वजनिक भएको हो । देश सञ्चारले ती तस्बिरहरु ‘स्क्रिन सट’ गरेर लिएको हो ।

पशुपतिनाथको परम्परागत गोपनियता र मर्यादा जोगाउनका लागि त्यहाँ सर्वसाधारणलाई मोबाइल समेत लैजान निशेष गरिएको छ । तर सामाजिक सञ्जालमा भने पशुपतिको मूल मन्दिर र मूल मूर्तिको तस्बिर सार्वजनिक हुनु गैर कानूनी र पशुपतिको परम्परा विपरित रहेको पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष नरोत्तम वैद्यले बताएका छन् । यस्तो कार्यले पशुपतिको परम्परागत परम्परामा खलबल पुग्ने उनको भनाई छ ।

पशुपति स्थित शंकराचार्य मठमा शनिबार कर्मकाण्ड कन्फ्रेन्स भइरहेको छ । बास्तोला सो कार्यक्रमको सभापित हुन् । सो कार्यक्रमको उद्घाटन जगन्नाथपूरीका मुल भट्टले गरेका हुन् भने समापन पशुपतिनाथका मूल भट्टले गर्ने छन् ।

यस्तै पशुपति क्षेत्रमा जगन्नाथबाट ल्याइएको महादेवको प्रतिमा प्रतिष्ठापन गर्ने तयारी छ । आइतबार जगन्नाथबाट ल्याइएका मूर्ति पशुपति क्षेत्रस्तिथ बहिरा महादेव नजिकै प्रतिष्ठापन गर्ने कार्यक्रम रहेको सो कार्यक्रमका सम्पर्क व्यक्ति धर्मराज बरालले पुष्टि गरेका छन् ।

प्राचिन स्मारक ऐन तथा पशुपतिको मर्यादा अनुसार सो क्षेत्रमा अन्यत्रबाट ल्याएको मूर्ति स्थापित गर्न नपाइने पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष नरोत्तम वैद्यले बताए ।

तर पशुपति क्षेत्रमा जगन्नाथबाट ल्याइएका मूर्ति प्रतिष्ठापन गर्नका लागि पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकाल र पशुपतिका मूल भट्टले स्वीकृति दिएको बताइएको छ । सदस्य सचिव ढकाललाई सम्पर्क गर्ने प्रयास गरे पनि उनको मोबाइल स्वीच अफ रहेकाले सम्पर्क हुन सकेन ।

नरोत्तम वैद्यले यसरी मूर्ति प्रतिष्ठापन गर्नु पशुपतिको मर्यादा र प्राजित स्मारक ऐन विपरित रहेको भन्दै भने, ‘करिब १० वर्ष पहिले पनि तिरुपतिको प्रतिमा ल्याएर पशुपतिमा राख्न खोजिएको थियो । तर त्यो बेला स्वीकृति नदिइएपछि रत्नपार्कमा राखिएको थियो ।’

सो घटनापछि पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव सुशील नाहाटाले पशुपतिनाथको प्रतिमा पनि भारतभर घुमाउने अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्ति विवादित बनेको थियो र तत्कालीन संस्कृति मन्त्री गोपाल किराँतीले उनीसँग स्पष्टिकरण मागेका थिए ।

वैद्यले भने, ‘प्राचिन स्मारक ऐन विपरित निर्णय लिने अधिकर पशुपतिका मुल भट्टलाई पनि छैन । निषेध गरेको गतिविधिको कुरा गर्न हुँदैन ।’
मूल मूर्तिको तस्बिर सार्वजनिक तथा जगन्नाथबाट ल्याइएका बहिरा महादेवको प्रतिमा स्थापित गर्ने प्रयासका कारण फेरि एकपटक पशुपतिको मर्यादा विवादित बनेको हो ।

यसअघि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहेका बेला सन् २००८ को अगस्टमा मूल भट्ट परिवर्तन गर्न खोजिँदा पशुपतिको मर्यादा विवादित भएको थियो । त्यसको ११ वर्षपछि फेरि पशुपतिको मर्यादा विवादमा तानिएको छ ।

मंसिर २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू