आन्दोलनको चेतावनीपछि पशुपतिमा पुरीबाट ल्याएको जगन्नाथको प्रतिमा प्रतिस्थापन गर्ने कार्यक्रम रद्द

काठमाडौँ – पशुपति क्षेत्रमा भारतको पुरी क्षेत्रबाट ल्याएको जगन्नाथको प्रतिमा प्रतिस्थापन गर्ने कार्यक्रम रद्द भएको छ । पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष नरोत्तम वैद्य लगायतको टोलीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलाई भेटेर पुरीबाट ल्याएको  जगन्नाथको प्रतिमा पशुपति क्षेत्रस्थित बहिरा महादेव नजिकै प्रतिस्थापन गर्ने कार्यक्रम रद्द नगरे आन्दोलनको चेतावनी दिएपछि हाललाई यो कार्यक्रम रद्द भएको हो ।

नयाँ सहमति अनुसार पुरीबाट ल्याइएका प्रतिमा हाललाई पशुपतिका मूल पुजारीको निवासमा राखिने भएको छ। प्राचिन स्मारक ऐन तथा पशुपतिको मर्यादा अनुसार सो क्षेत्रमा अन्यत्रबाट ल्याएको मूर्ति स्थापित गर्न नपाइने पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष नरोत्तम वैद्यले बताए ।

नरोत्तम वैद्यका अनुसार करिब १० वर्ष पहिले पनि तिरुपतिको प्रतिमा ल्याएर पशुपतिमा राख्न खोजिएको थियो । तर त्यो बेला स्वीकृति नदिइएपछि रत्नपार्कमा राखिएको थियो ।

सो घटनापछि पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव सुशील नाहटाले पशुपतिनाथको प्रतिमा पनि भारतभर घुमाउने अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्ति विवादित बनेको थियो र तत्कालीन संस्कृति मन्त्री गोपाल किराँतीले उनीसँग स्पष्टिकरण मागेका थिए ।

वैद्यले भने, ‘प्राचिन स्मारक ऐन विपरित निर्णय लिने अधिकर पशुपतिका मुल भट्टलाई पनि छैन । निषेध गरेको गतिविधिको कुरा गर्न हुँदैन ।’

यसअघि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहेका बेला सन् २००८ को अगस्टमा मूल भट्ट परिवर्तन गर्न खोजिँदा पशुपतिको मर्यादा विवादित भएको थियो । त्यसको ११ वर्षपछि फेरि पशुपतिको मर्यादा विवादमा तानिएको छ ।

मंसिर २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्