भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पशुपति क्षेत्र विकास कोषका अर्जुनप्रसाद बास्तोला। तस्बिर: सामाजिक सञ्जाल

काठमाडौँ– पशुपतिनाथ क्षेत्रमा आरम्भ भएको दुई दिने ‘कर्मकाण्ड’ सम्मेलन तथा जगन्नाथ प्रतिमा प्रतिष्ठा कार्यक्रम विवादमा तानिएपछि पशुपतिनाथका मूल भट्टले त्यसको बहिस्कार गरेका छन्।

शनिबार सम्मेलनको उद्घाटन कार्यक्रममा उनी उपस्थित भएनन्।

आइतबार कार्यक्रम समापन मूल भट्टबाट हुने गरी भनी आयोजक ‘सेभ शारदा कमिटी’ पशुपति क्षेत्र विकास कोष र श्रृंगेरी तथा पुरी शंकराचार्य पिठसँग आवद्ध केही व्यक्तिहरुको नामबाट जारी सूचना लगत्तै कोषका पूर्व पदाधिकारी र स्थानीय केही धार्मिक संस्थाहरुको पशुपति क्षेत्र गुरुयोजनामा उल्लेख भएको काम बाहेक अरु निर्णय र प्रतिमा प्रतिष्ठा हुन नसक्ने भनेपछि आयोजकहरुले जगन्नाथ पुरीबाट ल्याइएका तीन प्रतिमा मूल भट्टहरुको निवासमा राख्ने गरी बुझाएका थिए।

कोषका पूर्वकोषाध्यक्ष नरोत्तम वैद्यले प्राचिन स्मारक ऐन विपरितका गतिविधि गरेर पशुपतिनाथकाे मूर्तिको फोटो खिची सार्वजनिक गर्ने जस्ता ‘निषेधित’ कार्य आयोजकबाट भएको भन्दै त्यसविरुद्ध आन्दोलन गर्ने धम्की दिएपछि आयोजकहरुले शनिबार र आइतबारका कार्यक्रममा परिवर्तन गरेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग बास्तोला।

पशुपतिको मूल मूर्तिको फोटो खिची सार्वजनिक गरिए लगत्तै देश सञ्चारले शनिबार कार्यक्रमको अध्यक्षता गरेका पशुपति विकास कोषका नवनियुक्त सदस्य अर्जुनप्रसाद बास्तोला ‘संहिता शास्त्री’लाई सोध्दा ‘अहिले यसबारे नबोल्ने’ जवाफ दिए।

बास्तोला करिब दुई साता अघि राष्ट्रपति विद्यादेवी भण्डारीको चाहनामा कोषको सदस्यमा नियुक्त भएका र त्यस लगत्तै उनी यो विवादास्पद कार्यक्रमको एजेण्डासहित पुरी शंकराचार्य मठ पुगेको पशुपति कोष स्रोतले बतायो।

बास्तोलाले भारतका विभिन्न क्षेत्रमा खासगरी भारतीय जनता पार्टीका नेताहरुलाई आफू ‘नेपाल नरेश’का राजगुरु भएको दाबी गरी त्यहाँ पहुँच बनाएको तर त्यो सत्य नभएको सावित भएपछि उनलाई कुनै महत्व नदिइएको भारतका विभिन्न स्रोतले बताएका छन्। ‘उनी कुनै पनि उच्च ओहोदाका व्यक्तिसँग भेटी फोटो खिच्ने र त्यसको दुरुपयोग गर्न अभ्यस्त छन्’, स्रोतले भन्यो।

आदि शंकराचार्यले स्थापना गरेको परम्परा अनुसार पशुपतिनाथसँगै नेपाल पुरी मठको साँस्कृतिक तथा धार्मिक क्षेत्राधिकारमा पर्दछ, तर पशुपतिको मर्यादा, स्वायत्तता र परम्पराविरुद्ध मठले कुनै हस्तक्षेप गर्ने गरेको छैन। तर पुरी मठको नामबाट भएको शनिबारको कार्यक्रम र शैलीले एउटा नयाँ विवाद जन्मेको आरोप पशुपति कोषसँग जोडिएका एक अधिकारीले बताए।

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग बास्तोला।

‘पशुपतिको फोटो खिच्ने र पुरी तथा पशुपति सम्बन्धमा विवाद ल्याउने यो गतिविधिबारे छानविन र दोषीलाई दण्ड दिनु कोषका अध्यक्ष तथा संस्कृति मन्त्रीको दायित्व आउँछ’, कोषका पूर्वकोषाध्यक्ष वैद्यले बताए।

शनिबारको कार्यक्रममा कोषका सदस्य सचिव प्रदीप ढकाल, सदस्य बास्तोला, डा. जयशंकर (उपकुलपति काँची विश्वविद्यालय), जनार्दन पट्ट जोशी महापात्र, मूल पुजारी जगन्नाथ सहभागि थिए।

आइतबार शंकराचार्य मठमा फोटो संग्रहालयको उद्घाटन र जगन्नाथ प्रतिमा प्रतिष्ठाको कार्यक्रम रहेको आयोजकले जनाएको छ।

मंसिर २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्