प्रधानमन्त्रीको स्वास्थ्य

… नत्र यसपटक प्रधानमन्त्री ओलीलाई बचाउन सकिँदैन थियो

काठमाडौँ– सामान्य मानिस हैन, देशका कार्यकारी प्रमुख। जनस्तरमा उनको स्वास्थ्यबारे चिन्ता र चासो स्वाभाविक हो। उनको स्वास्थ्यबारे सही सूचना समयमै पाउनु नागरिकको हक बन्छ।

प्रधानमन्त्री केपी शर्मा ओली लामो समयदेखि जटिल रोगबाट ग्रस्त छन् तर उनी एउटा योद्धाका रुपमा त्यसको सामना गरिरहेका छन्, उच्च मनोबलका साथ।

तर पछिल्लो पटक (मंसिर १० देखि १९ गतेसम्म) उच्चतम कार्यकारी ओहोदामा रहेकाले मात्रै उनी आफ्नै देशकै अस्पतालमा स्तरीय सघन उपचारपछि दोस्रो जीवन पाएर बालुवाटार फर्किन सफल भएका हुन्। विडम्बना चिकित्सकहरुको दक्षता र समपर्णको पक्ष ओझेलमा पर्‍यो, प्रशंसा ओलीको दृढ इच्छाशक्तिको भयो।

तर त्यसले अर्को प्रश्न पनि जन्माएको छ। उनको जस्तै अवस्था र समस्याका साथ अस्पताल गएका कति सामान्य नागरिक प्रधानमन्त्री जसरी सकुशल फर्केका छन्?

ओलीकै उपचारमा रातदिन नभनी लडाइँमा होमिएका सिपाहीजस्तै खटिएका चिकित्सकहरुले नै बटुलेको अनुभव र निकालेको निष्कर्ष निष्कर्षपछि उब्जिएको प्रश्न हो त्यो।

खुसी छन् प्रधानमन्त्री निको भएकोमा र उनको समस्या ठीक पार्न सकेकोमा चिकित्सक पनि खुसी छन् तर उनीहरुको मनको कुनामा ग्लानि छ आम व्यक्तिका लागि सक्षम सेवा दिने व्यवस्था सरकारले गर्न नसकेकोमा।

१२ वर्षअघि प्रत्यारोपित मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि नियमित डायलासिसको प्रक्रियामा रहेका ओली मंसिर ८ गते धापासीस्थित ग्रान्डी इन्टरनेशल हस्पिटलमा पाँचौ पटक डायलासिस गरेर बालुवाटार फर्किए।

भोलिपल्ट साँझ सरकारको चौमासिक समीक्षा बैठकमा सामेल ओलीको त्यसैदिन राति २ बजेदेखि पेट दुख्न सुरु भयो।

प्रत्यारोपित मिर्गौलालाई शरीरमा टिकाई राख्न अर्थात शरीरले ‘रिजेक्ट’ नगरोस् भनेर ओलीले नियमितरुपमा ‘इमिनो सप्रेसन’ नामको औषधि सेवन गर्दै अएका छन्।

चिकित्सकका अनुसार यो औषधि नियमित सेवन गर्ने बिरामीको रोगप्रतिरोधात्मक शक्ति निकै कम हुने हुँदा कुनै पनि कारणले संक्रमण फैलिने गर्छ। कहिलेकाँही अवस्था घातक पनि बन्न जान्छ। तर समस्या ठूलो भइसकेपछि मात्रै लक्षण थाहा हुन्छ बिरामीलाई।

ओलीलाई एक्कासी धेरै पेट दुखेको थियो त्यो राति। केहीबेर प्रतीक्षा गरे, दुखाइ कम भएन । निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई खबर गरियो । डा. शाह बिहान सबेरै बालुवाटार पुगिन्।

समस्या बुझ्नासाथ डा. शाहलाई त्यो ‘एपेन्डिसाइटिस’ भएको अनुमान गर्न धेरै बेर लागेन। ओलीलाई जतिसक्दो छिटो अस्पताल लैजान हतारिन् उनी ।

छोटो दुरीमा रहेकाले महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टर स्वाभाविक रोजाइमा  पर्‍यो।

बालुवाटारबाटै शाहले नेपालमा राम्रो ख्याति कमाएका सर्जन मानिने डा. रमेशसिंह भण्डारीलाई खवर गरिन्। आवश्यक सबै चिकित्सक जुटाउन सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तम कृष्ण श्रेष्ठलाई अनुरोध गरिन्।

शिक्षण अस्पतालकाे क्रिटिकल कियर युनिटका चिकित्सकहरुलाई पनि  तत्काल सेन्टरमा उपस्थित हुन फोनबाट आग्रह गरिन्।

ओलीलाई सेन्टरमा पुर्‍याएको १० मिनेटमै डा. भण्डारीले हेर्न भ्याए।

ओलीको उपचारमा संलग्न एक चिकित्सकले देशसञ्चारसँग भने, ‘प्रधानमन्त्री भएकाले उहाँ पुग्नासाथ चिकित्सक दौडिँदै, कोही खुट्टा खोच्चाउँदै पुगे। तर सामान्य मानिस प्रधानमन्त्रीको जस्तै समस्या लिएर आकस्मिक कक्षमा पुग्दा कति समयपछि चिकित्सक आएर हेर्छन ? त्यो सबैले अनुभव गरेको कुरा हो । निजी अस्पालमा समयमै चिकित्सक आउन सक्छन् । तर सरकारी अस्पतालमा कयौँको पर्खाइमा ज्यान गएको छ।’

ओली सेन्टरमा पुगेको १५ मिनेटमा अर्का सिनियर रेडियोलोजिष्ट डा.शर्मा पौडेलले गरेको अल्ट्रासाउण्डमा पेरिटोनिटिस् ( संक्रमण पेटमा फैलिएको अवस्था) देखियो।

ओलीको क्लिनिकल डाइग्नोसेस थियो- ‘एपेन्डिक्स’ फुटेर संक्रमण पेटमा फैलिसकेको अवस्था ।

मुटुको धड्कन निकै बढी, रक्तचाप निकै कम र तीव्र गतिमा श्वासप्रश्वासको अवस्थामा ओली थिए। र, ती समस्या कम गर्न एन्टिबायटिक लगायत औषधि दिन भ्याएर डा. सिंह ओलीको

शल्यक्रिया गर्ने निधोमा पुगेको पाँच मिनेटमै उनलाई अप्रेशन थियटरमा छिराइएको थियो। त्यतिबेला ओली सेन्टर पुगेको ४० मिनेट मात्रै भएको थियो, यो तयारी पूरा हुँदा।

‘अन्य सर्वसाधारण बिरामीका लागि यो सम्भव छैन नेपालमा। यस्तो रिपोर्ट आएका बिरामीलाई पनि चाप र सेवासुविधाले गर्दा नै त्यतिकै छोड्नु परेको छ। तर प्रधानमन्त्रीज्यूलाई हामीले गरेको उपचार कुनै फिल्मको दृश्य जस्तो थियो। त्यसमा ठूलो योगदान डा. दिव्याको पनि थियो। उहाँ निकै संवेदनशिल भएर समन्वय गरिरहनु भयो। तर प्रधानमन्त्रीज्यू स्वयंको, चिकित्सकको र नर्सहरुको समेत एक सेकेण्ड पनि महत्वपूर्ण थियो। उनीहरुको सम्पूर्ण प्रयास प्रधानमन्त्री ओलीको जीवनसँग जोडिएको थियो,’ उपचारमा संलग्न अर्का एक चिकित्सकले भने।

सामान्यतया एक ‘एनेस्थेसिस्ट’ (बेहोस बनाउने चिकित्सक) ले एकैपटक दुई वटा अप्रेशन थिएटरमा काम गर्नु पर्ने अवस्था छ नेपालमा।

ओलीको शल्यक्रियाका बेला ५ जना ‘एनेस्थेसिस्ट’हरु संलग्न भए। त्यसमा प्रा. डा. विश्वास प्रधान, डा. विभुष श्रेष्ठ लगायत थिए।जहाँ शिक्षण अस्पतालका क्रिटिकल कियर युनिटका प्रमुख प्रा. डा सुवास आचार्य सामेल भए।

उनीहरुलाई सहयोग गर्न चार जना नर्स खटिए। डा. सिंहको नेतृत्वको अर्को शल्यक्रिया टिम पनि त्यतिकै ठूलो र सशक्त थियो।

मुटुको शल्यक्रियामा निपुर्ण समूह थियो नर्सको, चिकित्सकको आँखाको इसारामा उनीहरुले काम गरे।

शल्यक्रियाका बेला रगत आवश्यक पर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर त्यसको व्यवस्थानका लागि छुट्टै टोली खटिए।

तर शल्यक्रियाका बेला रगत आवश्यक नपरेपनि शल्यक्रिया सकिएपछि रगत चढाउनु पर्‍यो।

ओली असहयीय पीडामा थिए, बोल्न सकिरहेका थिएनन्, उभिँदा अरुको सहारा चाहिन्थ्यो, आँखाको तल्लो भाग झोलिएको थियो, तर मुस्कुराउँदै चिकित्सकलाई आफ्नो उपचारमा सहयोग गरे उनले।

‘एपेन्डिक्स’ फुटिसकेको अवस्थाको शल्यक्रिया जटिल मानिन्छ। आधा लिटर जति पिप ओलीको संक्रमण फैलिएको स्थानबाट निकालियो। त्यो सफा गर्न पनि त्यतिकै समय लाग्यो। त्यो अवस्थामा चिकित्सक निराश नभएका होइनन्, तर निराशा देखाउने परिस्थिति थिएन।

शल्यक्रियाको करिव दुई घण्टापछि फेरि चिकित्सकहरु झस्किए, कारण ओलीको चेत खुलेन अन्य बिरामीको जसरी। तर चिकित्सकहरु ओलीको अवस्था गम्भीर भएकोमा जानकार थिए, धैर्य गरे।

एपेन्डिसाइटिसका धेरैजसो बिरामीलाई ढाडबाट सुई लगाएर शरीरको आधा भाग मात्रै बेहोस पारेर शल्यक्रिया गरिन्छ।

‘त्यो बेला हामीलाई धेरै गाह्रो परेको थियो उहाँलाई बचाउन। आँखा समेत झिमिक्क नपारेरै काम गरिरहेका थियौँ, शल्यक्रिया संलग्न भएका सबै चिकित्सक एकै ठाउँमा बसेका थियौँ उहाँको होस् नआउन्जेलसम्म त,’ ती चिकित्सकले भने। ती चिकित्सकका अनुसार ओली भेण्टिलेटरमै रहेका बेला रातभर लगाएर डायलासिस समेत गरिएको थियो त्यसैदिन।

धेरैजसो बिरामी शल्यक्रिया गरेको एक/दुई घण्टाभित्र होसमा आउँछन् र दुई दिनमा घर जान सक्षम हुन्छन्।

तर ओलीको शरीर कमजोर र रोग गम्भीर भएकाले उनलाई पुर्ण बेहोस बनाएर शल्यक्रिया गरियो।

र, उनी होसमा आउन करिव १२ घण्टा र भेन्टिलेटरबाट मुक्त हुन झण्डै २० घण्टा लाग्यो।

आइसीयुमा लग्दै गर्दा ‘रेकर्ड’मा समेत आउन नसकेको  ब्लड प्रेसर बढाउन आइभी सलाइनबाट सबैभन्दा धेरै नम्बरको तीन वटा औषधि दिनु परेको थियो ।

‘त्यो बेला हामीलाई धेरै गाह्रो परेको थियो उहाँलाई बचाउन। आँखा समेत झिमिक्क नपारेरै काम गरिरहेका थियौँ, शल्यक्रिया संलग्न भएका सबै चिकित्सक एकै ठाउँमा बसेका थियौँ उहाँको होस् नआउन्जेलसम्म त,’ ती चिकित्सकले भने। ती चिकित्सकका अनुसार ओली भेण्टिलेटरमै रहेका बेला रातभर लगाएर डायलासिस समेत गरिएको थियो त्यसैदिन।

‘प्रधानमन्त्रीज्यूले दोस्रो जीवन पाउनुमा सिनियर चिकित्सकसँगै सघन उपचारका लागि खटिएका चिकित्सक र नर्सहरुको पनि त्यतिकै ठूलो हात छ। त्यो पक्ष बलियो नभएको भए उहाँलाई बचाउन अस्पताल सक्ने थिएन,’ ओलीको उपचारमा संलग्न अर्का एक चिकित्सकले भने।

तर सिकिस्त अवस्थामा प्रधानमन्त्रीको उपचार भइरहेका बेला बाहिर हल्कारुपमा प्रचारप्रसार गरियो। चिकित्सकहरु त्यसबाट अचम्मित भए।

‘स्वास्थ्यलाई गोपनीयतासँग जोडिन्छ। देशकै प्रधानमन्त्रीको गम्भीर अवस्थामा उपचार गरिहँदा त्यसबारे सूचना लुकाउनुको अर्थ मैले बुझ्न सकिन। उहाँलाई भेन्टिलेटरमा यतिकै राखिरहेका थिएनौँ हामीले। उहाँ सिकिस्त नै हुनुहुन्थ्यो। यसबारे हलुका टिप्पणी उहाँकै सचिवालयका व्यक्तिबाट सुन्दा हामी छक्क परेका थियौँ,’ ती चिकित्सकले भने।

स्मरण रहोस, प्रधानमन्त्रीको होस नआएको र भेन्टिलेटरमा राख्ने क्रमले निरन्तरता पाएको समचार ‘ब्रेक’ गर्दा देशसञ्चार सुरुमै आलोचित र उपहासको बन्न पुगेको थियो   बालुवाटारबाटै।

प्रधानमन्त्री बलियो नै हुहुनुहुन्छ भन्ने सन्देश दिन उहाँको गम्भीर स्वास्थ्य अवस्थालाई लुकाउने प्रयास भएको ओलीकै दलका एक प्रभावशाली नेताले बताए।

प्रधानमन्त्री ओली अस्पताल भर्ना भएको सूचना पाएपछि सुरुमा उनको सचिवालयका प्रतिनिधिहरुले उनको अवस्था सामान्य रहेको र नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएको दाबी गरेका थिए।

तर विस्तारै त्यो भन्दा फरक समाचारहरु आउन थालेपछि ओलीको वास्तविकताबारे सार्वजनिक गर्न उनीहरु बाध्य बने।

 जागै रहेको टिम

शल्यक्रियापछि ओलीको स्वास्थ्यमा निकै उतारचढाव आयो। कतिबेला कुन चिकित्सक आवश्यक पर्थ्यो, त्यसको टुंगो हुँदैन थियो।

त्यसैले आवश्यक पर्न सक्ने सबै चिकित्सक अस्पतालभित्र हुन्थे। देशकै महत्वपूर्ण व्यक्तिको उपचारमा ‘प्रेसर’ त्यतिकै थियो। तर पनि उनीहरु शान्त भएर काम गरिरहे।

उपचारका क्रममा निजी चिकित्सक डा.शाह ओलीसँगै रहिन् अधिकांश समय। एकछिन आफ्नो अस्पतालमै रहेको कार्यकक्षमा गएर आराम गर्थिन् र फेरि झुल्किन्थिन्, ओली भएको ठाउँमा।

उनको सक्रियताले अन्य चिकित्सकलाई पनि बल पुग्थ्यो । र त राति पनि सँगै रहेर ओलीको निगरानी गर्थे उनीहरु।

शल्यक्रियाको भोलिपल्ट ओलीलाई भेन्टिलेटरबाट मुक्त गराउन सफल भएका उनीहरुले सुरुको दिन जस्तै खटेर उनलाई हिँडाउन, फिजियोथेरापी गराउन, खुवाउन, ‘साग’ खेलको उद्घाटन सत्र हेराउने देखि गीत र समाचार सुनाउन अन्ततः डिस्चार्ज गर्न सफल भएका छन्।

अनिन्द्रा र आरा नपाउँदा कतिपय चिकित्क गलिसकेका थिए । उनीहरु नै बिरामी पर्ने अवस्था आएको थियो । तर पनि ओलीलाई दोस्रो जीवन दिए, त्यसका लागि प्राथमिकता पाए देशको प्रधानमन्त्री भएकाले ।

त्यसमा ओलीको बलियो इच्छाशक्ति र सकारात्मक सोच पनि लुकेको छ। त्योसँगै चिकित्सकको अथक र निरन्तरको प्रयासले उनले पुनर्जन्म पाएको भुल्नु अन्याय हुने छ।

तर, ओली आफूले दोस्रो जीवन पाउँदै गर्दा रोगले ग्रस्त बिरामीलाई आफूले जस्तै स्तरीय सेवाको पहुँचमा पुर्‍याउन र उनीहरुको जीवन बचाउन के गर्लान भन्ने प्रश्न पनि महत्वपूर्ण छ। वास्तवमा अव अस्पतालका लागि यो ठूलो चुनौती बनेको छ।

यो पनि पढ्नुहोस्

मंसिर २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू