मुसहर समुदायकाे कथा बोकेकाे उपन्यास ‘दुलारी’ लिएर आइन् मुना चौधरी

काठमाडौँ– लेखक मुना चौधरीको उपन्यास ‘दुलारी’ सार्वजनिक भएकाे छ।  शनिबार एक समारोहकाबीच लेखक नयनराज पाण्डे र शान्ति, द्वन्द्ध र विकासकी अध्येता प्रियंका कापरले ‘दुलारी’ सार्वजनिक गरेका हुन्।

चौधरीको यो दोस्रो उपन्यास हो। यसअघि उनको पौराणिक–ऐतिहासिक तथा मिथिला क्षेत्रका साँस्कृतिक, सामाजिक र राजनीतिक अवस्थाको झलक दिने जयवर्धन सलहेश उपन्यास प्रकाशित छ।

उपन्यासमाथि बोल्दै लेखक पाण्डेले मधेश आफ्नो पनि लेखनको विषय भएता पनि चौधरीले जस्तो मिहिन ढंगले आफूले समेत लेख्न नसकेको बताए।

‘लु’ र ‘उलार’ जस्ता उपन्यासका लेखक पाण्डेले मधेशी दलित महिलालाई केन्द्रमा राखेर लेखिएको दुलारी बाहेकको कृति अहिलेसम्म नपढेको बताए।

उनले राष्ट्रिय गानले ‘सयौं थुँगा फुलका हामी एउटै माला नेपाली’ भनेर अनेकताभित्र एकताको महिमा मण्डन गरे पनि सिमान्तकृत समुदायका संघर्ष, कथा, व्यथालाई मुना चौधरीजस्ता लेखकले उजागर गर्ने गरेको बताए।

अर्की वक्ता कापरले दुलारी उपन्यासले मुसहर समुदायका बारेमा पाठकलाई थप खोज्न बाध्य बनाउने उल्लेख गरिन्। छुवाछुत जस्ता सामाजिक कुरुति र अपराधलाई ठाडै गर्न हुन्न नभनी उपन्यासकी मुल पात्र दुलारीले गरेका प्रश्नले पाठकलाई झक्झकाउने विश्वास व्यक्त गरिन्। मानव सुचाङ्कमा पुछारतिर रहेको मुसहर समुदायलाई यो उपन्यासले बहसको केन्द्रमा तान्ने उनले बताइन्।

लेखक चौधरीले आफ्नो लेखन यात्राको बारेमा चर्चा गर्दै मुसहर समुदायको दु:ख आफूले सानैदेखि देखेकाे हुनाले उनीहरुका कथा लेख्न सहज भएको सुनाइन्।

आफै लेख्न नसकेका समुदायको कथा लेख्नु लेखकको जिम्मेवारी भएको उनको कथन थियो।

सांग्रिला बुक्सले प्रकाशन गरेको २९० पृष्ठको उपन्यास दुलारीको मूल्य ३९५ रुपैयाँ रहेको छ।

यो पनि पढ्नुहोस्

मंसिर २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्