झण्डै १३ लाख मूल्य बराबरको सुनचाँदीसहित एकजना भारतीय नागरिक पक्राउ

जनकपुरधाम– प्रहरीले धनुषाबाट ठूलाे मात्रामा सुनचाँदीसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

शनिबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेडक्वाटर धनुषाबाट खटिएको टोलीले ६ किलो ८ सय ५० ग्राम चाँदी र १ सय २६ ग्राम सुनसहित पक्राउ गरेको नम्बर ८ गण हेडक्वाटर धनुषाका प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए।

पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला गोवराही बस्ने ४० वर्षीय जयप्रकाश यादव रहेको प्रहरी उपरीक्षक उप्रेतीले जानकारी दिए।

यादवलाई शनिबार धनौजी गाउँपालिका वडा नंं ४ भडरीयामा नेपालबाट भारततर्फ लजाँदै गरेको सुनचाँदीसहित पक्राउ गरिएको हो।

पक्राउ परेका यादवसँग रहेको सुन र चाँदीको बजार मूल्य करिब १२ लाख ८८ हजार ७ सय ९२ रुपैयाँ रहेको प्रहरी उपरीक्षक उप्रेतिले जानकारी दिए।

साइकलमा भारततर्फ जाँदै गरेको अवस्थामा शंकाको आधारमा यादवलाई चेकजाँच गरीएको थियो। पक्राउ परेका यादवलाई आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ।

मंसिर २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्