अमेरिकी सैन्य तालिम केन्द्रमा गोली चलाउने साउदी सैनिकले गोलीकाण्डको भिडियो हेर्थे

अमेरिकाको फ्लोरिडा स्थित अमेरिकी नेभीको बेसक्याम्पमा अन्धाधुन्ध गोली प्रहार गरी तीनजनाको हत्या गरेका साउदी अरेबियाका प्रशिक्षार्थी सैनिकले अन्धाधुन्ध गोली प्रहारको भिडियो हेर्ने गरेको अमेरिकी अधिकारीले बताएका छन् ।

फ्लोरिडाको पेनसाकोलामा रहेको अमेरिकी नेभीको बेसक्याम्पमा शुक्रबार ती बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा तीनजनाको मृत्यु भएको थियो ।

गोली प्रहार गर्ने व्यक्तिको नाम मोहम्मद सईद अलशम्रानी हो र उनी साउदी सैनिकका सदस्य थिए । उनी पेनसाकोला बेसक्याम्पमा तालिमरत रहेका थिए ।

उनले आक्रमणको केही दिनअघि बेलुकाको खानाको समयमा सार्वजनिक स्थलमा अन्धाधुन्ध गोली प्रहारको घटनाको भिडियो हेरेको अनुसन्धानको क्रममा अधिकारीहरुले बताएको उल्लेख गरिएको छ ।

आक्रमण लगत्तै जवाफी कारवाहीमा उनको गोली लागेर मृत्यु भएको थियो । ८ जना घाइते भएका मध्ये दुई सुरक्षाकर्मी पनि छन्। आक्रमणकारीले ह्याण्डगनको प्रयोग गरेको जनाइएको छ ।

आक्रमणको घटनापछि त्यहाँ तालिम लिइरहेका अरु साउदी सैनिकहरुलाई गम्भीर सोधपुछ गरिएको छ।

कक्षा कोठामा भएको आक्रमणमा उनीहरु पनि संलग्न रहेको भन्ने आरोप भने लगाइएको छैन । तर साउदी सैनिक प्रशिक्षार्थीहरुसँग सोधपुछ भने जारी रहेको छ ।

आक्रमणलाई अहिले नै आतंकवादी आक्रमणको शंज्ञा भने दिइएको छैन र अहिले नै त्यसको पुष्टि गर्ने आधार नरहेको पनि अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

यसअघि गएको बुधबार हुवाईमा रहेको पर्ल हार्बोर सैन्य बेसक्याम्पमा अमेरिकी जलसैनिकले अन्धाधुन्ध गोली प्रहार गरी दुई कामदारको हत्या गरेका थिए ।

पछिल्लो आक्रमण पेनसाकोला बेसक्याम्पमा नेपाली समय अनुसार शुक्रबार बेलुका ६ बजेर ३६ मिनेट जाँदा भएको हो । पेनसाकोला सैन्य बेसक्याम्पमा १६ हजार भन्दा बढी सैनिक र सात हजार चार सय भन्दा बढी अरु कामदार छन् ।

मंसिर २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्