व्यंग्य

असली अविभावक

‘हाम्रा वरिष्ठ व्यक्तिहरु सारै असल भएकोले उहाँहरुले जता र जे मा हात हाल्यो त्यसबाट राम्रो फसल उब्जेर उहाँहरु सबैको राजनीतिको पसल ज्यादै गतिलो तरिकाले चलेको देख्दा समर्थकहरुको भुइँमा खुट्टा छैन ।’ पत्रिका पसलसँगै रहेको चिया पसलको बेन्चमा बसेर चिया पिउँदै र एउटा दैनिक पत्रिकाको हेडलाइन पढ्दै सुरेशले भन्यो ।

‘पत्रिकामा त्यस्तो के समाचार पढिस् र निकै ठूलो समर्थक भएजस्तो तरिकाले कुरा गर्न अघि बढिस्, सुरेशे ?’ अर्को बेन्चमा उपरखुट्टि लगाएर चुरोट तान्दै बसेको दिवाकरले सोध्यो ।

‘हाम्रा वरिष्ठ नेताहरुले विपन्न परिवारका धेरैजना बालबालिकाहरुको अविभावकत्व लिएर र उनीहरुलाई सबै किसिमको सहयोग दिएर उदाहरणिय काम गरेका रहेछन् । त्यसैको बारेमा समाचार छापिएको रहेछ । त्यहि पढेर भनेको नि ।’ सुरेशले भन्यो ।

‘अलि अगाडि सरकारका प्रधान र उनी सरहका वरिष्ठहरुले अनेक तरहका लोकप्रिय काम गर्ने सिलसिलामा अविभावकत्व पनि परेको बारेमा उहिल्यै प्रशस्त समाचारहरु आएकै र जनताले थाहा पाएकै थिए । फेरि अरु थपेछन् होला त्यहि भएर हेडलाइन आयो होला नत्र किन आउँथ्यो र ? हैन त ?’ अनिलले चिया पिउँदै थप्यो ।

‘त्यसो होइन, पहिले अविभावकत्व लिएको र त्यस्तो पुनित कार्यलाई पत्रिकाहरुले निकै महत्व दिएको हुनाले त्यहि समाचार पढेको होलास् । अहिले चाहिँ त्यत्रो तामझाम सहित घोषणा गरेर अविभावक पाएका बालबालिकाहरुका अविभावकहरुले उनीहरु प्रति कुनै चासो नराखेको भन्ने नौलो खालको समाचार छापिएको रहेछ क्या ।’ सुरेशले पत्रिकाको हेडलाइन अनिलतिर देखाउँदै भन्यो ।

‘ए, त्यस्तो पो । कुन चाहिँ नौलो कुरो भयो र ? सँधै त्यस्तै त हो नि । घोषणा गर्दा ठूलो तामझामसहित घोषणा गर्यो, भाषण ठोक्यो, यो गरिन्छ उ गरिन्छ भनेर जिम्मेवारी सहित यी यी विद्यार्थीहरुको अविभावक यो यो भनेर तोक्यो अनि ठूला ठूला अक्षरमा त्यस सम्बन्धी समाचार छापिएका पत्रिकाका चाङ्ग बोक्यो र त्यसैको खुशीयालीमा भोज भतेर गरेर सम्बन्धित सबैले मजाले धोक्यो । एकदुई दिन पछि अर्को नयाँ कार्यक्रममा चर्को सित लाग्यो । पुरानो बिर्सिहालिन्छ । यस्ता समाचार आउँछन् जान्छन् । यस्तोमा टाउको दुखाएर केही काम छैन । कहिले केको अभियान कहिले केको अभियान यसैगरी चलिरहन्छन् र त्यतिबेला बरिष्टहरुले गरेको अति ठूलो कार्य भनेर सबै पत्रपत्रिकाहरुले हानथाप गरेर कहन्छन् अनि त्यस्ता अभियानमा केही छिनको लागि महत्व पाएका ब्यक्तिहरुले पछि कतैबाट वास्ता नगरेपनि मजाले सहन्छन् । यसमा पनि भएको त्यहि हो । कोही वरिष्ठहरु हेलिकप्टर चढेर र कोही चाहिँ गाडीमै अगाडि बढेर धेरै बालबाकिाहरुलाई अविभाकत्व दिएको भन्ने उहिल्यैको समाचार हो । त्यति अगाडि अविभावक बनेका वरिष्ठहरुले अहिलेसम्म सम्झेर र दैनिक सहयोग गरेर साध्य हुने कुरा पनि आएन अनि यसै कारणले यसले निरन्तरता पाएन होला । ठिकै त हो नि । जसको पनि महत्व खास समयमा मात्रै हुने हो त्यो समय सकिएपछि कुरै खत्तम ।’ निकै अनुभव भए जस्तो गरेर अनिलले भन्यो । चिया पसलमा भएका सबैजना गललल्ल हाँसे ।

‘त्यो त वरिष्ठहरुको लागि ठिकै होला । अविभावक पाउनासाथ विद्यालयमा फलानाको छोरा र फलानाकी छोरी भनेर परिचय बनाएका विचरा विपन्न बालबालिकाहरुले अलि दिनमै अविभावकले वास्ता गर्न छाडेपछि उपहासको पात्र बन्न परेको भनेर समाचारमा उल्लेख गरेको रहेछ क्या । कुरो यत्ति हो । देशकै अविभावकहरुले अविभावक बनिदिँदा र मेरा छोराछोरी भनिदिँदा बालबालिकाहरुको उत्साह, उमङ्ग र जोश–जाँगर कति माथि पुग्ला अनि केही दिनमै राजनैतिक अविभावक गुमाए जस्तो हुँदा उनिहरुलाई कस्तो असर पर्ला भन्ने मात्रै हो । अरु केही होइन ।’ सुरेशले पत्रिकातिर हेर्दै भन्यो ।

‘तिमिहरुले यो विषयलाई किन यति ठूलो बनाएका र ताल न सुरको कुरालाई विवादको विषय बनाएका ? यो त कुनै छलफलको बिषय नै होइन नि । कुनै एउटा चाटुकारले यस्तो गरेमा वरिष्ठको साथसाथै पार्टीको समेत हितमा राम्रो सन्देश जान्छ, भविश्यमा सबैले उत्तम मान्छ, विपन्न बालबालिका प्रति सरकार, पार्टी र वरिष्ठहरु ज्यादै संवेदनशिल छ भन्ने ठान्छ, हेर्दा सानो काम जस्तो लागे पनि यसले विरोधीहरुको टाउको मजाले खान्छ र अर्को चुनावमा यसले केही भोट पनि तान्छ भनेर बरिष्टहरु खुशी भएको बेलामा सुझाव दियो होला । वरिष्ठहरुलाई विचार राम्रो र फाइदाजनक लागेर ठिक भन्नुभयो ल मिलाउनुहोस् र हामीलाई अविभावक हुने मौका दिलाउनुहोस् भने होलान् । चाटुकारले कार्यकर्ताहरुलाई योजना सुनाए । देशैभरि विपन्न बालबालिकाहरुको कुनै कमी नभएकोले कार्यकर्ताहरुले आप्mनो नजिकका बिपन्नहरुलाई तुरुन्तै तयार पारिहाले र फलानाको अविभावक फलानो बरिष्ट भनेर घोषणा गर्न वरिष्ठलाई हेलिकप्टरबाट झारिहाले । सिंगारिएको विद्यालयमा भव्य कार्यक्रमसहित घोषणा कार्यक्रम सुरु भयो । वरिष्ठहरुले आ–आफ्नो भागमा परेको बालक वा बालिकाको हात समातेर विश्वकप फुटबल प्रतियोगितामा खेलाडी मैदानमा छिरेजसरी विद्यालयमा भर्ना गर्न लगे । स्थानीय कार्यकर्ताहरुले फकाएर, सम्झाएर, धम्क्याएर, तर्साएर र रमिता हेर्न आफूखुशी जम्मा भएका भिडको तालीको गडगडाहट सुनेर वरिष्ठहरु ज्यादै हर्षित भए । सबैका मोबाइलहरु फोटो खिच्नमै व्यस्त भए । वरिष्ठहरुको साथमा नयाँ अविभावक पाएका बालबालिकाहरुलाइ राखेर हेडसरले फोटो खिचे । फोटो विद्यालयको मुख्य स्थानमा रहने भयो । भव्य जलपान भयो । कार्यक्रम सकियो, वरिष्ठहरु हेलिकप्टरमा फर्किए । भोलिपल्टको पत्रिकामा भयंकर हेडलाइन समाचार आयो र दुनियाले थाहा पायो । चाटुकारले बढाइ चढाइ गरेर कार्यक्रमको सफलताको बयान गर्यो । वरिष्ठहरु मख्ख परे र भविश्यमा अरु पनि यस्ता राम्रा कार्यक्रमहरु ल्याउन चाटुकारलाइ अनुरोध गरे । कसकसलाई के के भयो थाहा भएन । यसबाट सबैभन्दा बढी फाइदा चाहिँ त्यहि चाटुकारलाई भयो । भोलिपल्टैबाट बालबालिका आफ्नै स्थितीमा फर्किए र वरिष्ठहरु हामीले यति जनाको अविभावकत्व लियौँ अनि उनीहरुलाई यो यो सुविधा दियौँ भनेर चर्किए । कुरो यत्ति हो ।’ भनेर बिक्रमले अलि अलि सेलाइ सकेको आधा कप जति चिया एकैचोटी निल्यो ।

‘बिक्रमले भनेको ठिकै हो । आफैले जन्माएका बालबालीकाहरुको अविभावकत्व लिन र उनीहरुलाई त्यहि अनुसारको सुबिधा दिन समेत मानिसहरुलाइ गाह्रो परिरहेको अहिलेको परिस्थितिमा चिन्नु न जान्नुका एकदिने अविभावकहरुले सधैँ हेरविचार गर्छन् भन्ने सोच्नु नै मुर्खता हो । यो काम त घोषणा गरेर थपडी बजाउने र पत्रिकामा छपाएर वरिष्ठको नाम भजाउने गरेपछि सकिइहाल्यो नि । यो फेरि नयाँ चलन पनि होइन । उहिले राजा महाराजा महारानी लगायत अरु वरिष्ठहरुले पनि गर्दै आएको भनेर सबैले थाहा पाएको हो । अहिले पनि त्यहि नक्कल गरेको हुनाले यसलाइ नयाँ अक्कल झिकेको भनिराख्नै पर्दैन । माथि माथि पुग्दै गएपछि चाटुकारहरुले उचाले बमोजिम बरिष्टहरुले गतिविधि गर्ने हुन् । यस्ता विषयहरुमा पहिले र अहिलेमा केही फरक परेको अनि कसैले विल्कुलै नयाँ काम गरेको कसैलाइ पनि थाहा छैन ।’ दिवाकरले भन्यो ।

‘यसले भनेको पनि ठिकै हो । यो चलन त पहिले देखि नै चल्दै आएको र यसबाट धेरैथोरै फाइदा फल्दै आएको सहि हो । राणाहरुको जमानामा त माथिदेखि तलसम्मका राणाहरुले पनि अविभावकत्व लिएका र त्यस्तालाई विदेशमा पढ्न जाने सुविधा समेत दिएका थिए रे भन्ने पनि सुनिन्छ ।’ विक्रमले फेरि भन्यो ।

‘राणाहरुले अचेलको जस्तो अविभावकत्व नभएर जहाँ जहाँ पुग्यो त्यहिँ जसलाई मन लाग्यो त्यसलाइ जबरजस्ती अन्माउँदै र बच्चा जन्माउँदै अविभाकत्व लिन्थे रे । राणाहरुले मोजमस्ती र रमाइलो गर्दा जन्मेका कतिको त गिन्ती समेत नभएर समस्या परेपछि खुशी भएको बेलामा बिन्ती चढाएपछि–ल यसलाई यति दिनु, भन्ने हुकुम भएपछि केही नगद वा जग्गा जमिन दिएको र यसरी अविभावकत्व लिएको पनि सुनिन्छ । त्यस्ता अविभावकत्व अहिलेका वरिष्टहरुको पनि नहोला भन्न सकिन्न । शक्ति र धन भएपछि सबैको मन उस्तै त हो नि, भाइ हो ।’ अनिलको भनाइ थियो ।

‘यिनिहरुले जस्को अविभावकत्व लिए पनि र पत्र पत्रिका मार्फत जति बढाइ चढाइ गरेर समाचार दिएपनि देशलाई दिइरहेको अविभावकत्व हेर्दैमा यिनिहरुको अविभावक बन्ने क्षमता सबैको अगाडि छर्लङ्ग भइसकेको र जान पर्ने सन्देश गइसकेको छ । अब यस्ता नाटकबाट एकैछिन गफगाफ बाहेक अरु उपलब्धि भनेको त्यस्तै उस्तै हो केही समय हल्लाखल्ला चाहिँ हुन्छ ।’ अलि पर कुनामा बसेर अघिदेखि चुपचाप लागेर सबैकुरा सुनिरहेको जीवनले भन्यो ।

‘यो त यस्तै हो नि,सबैकुरा सधैँ गरेर साध्य नै लाग्दैन नि । उनीहरुले सुरु गरेर बाटो देखाउने र आफ्नाे नाम इतिहासमा लेखाउने हो नि । त्यसपछि अरुले पनि सुरु गर्न पर्यो । यसरी बढ्दै जाने हो नि । विपन्न बालबालीकाहरुको हितमा त्यति गर्नु पनि ठूलै कुरा हो जस्तो लाग्छ मलाई त । अनि…..’ चिया पसलेले अझ केही भन्न खोज्दै थियो बिक्रमले उछिनेर बोल्न थाल्यो ।

‘यस्ता एकदिने र एकछिने नौटङ्की अविभाकत्वले केही हुनेवाला छैन । यता विपन्न बालबालिकाहरुको शिक्षामा अविभावकत्व भनेर हल्ला पिटायो । उता आफूले फाइदा लिन सकिने र सबैतिरबाट संरक्षण दिन सकिनेहरुले पाइरहेको अविभावकत्व र खाइरहेको सुविधाको बारेमा पनि सबैलाई थाहा छ नि । त्यस्ताले चाहिँ यो सुविधा सधैँ पाइरहेकै छन् ।’ एक कप चियाको थप अर्डर गर्दै बिक्रमले भन्यो ।

‘कताको कुरा कता पुर्याउने तेरो नानी देखिको बानी अहिले पनि उस्तै छ । तैँले भन्न खोजेको के हो ?’ आफूलाई पनि थप एक कप चियाको अर्डर गर्दै अनिलले सोध्यो ।

‘अरु त के हुनु र ? यहि अविभावकत्वकै कुरा त हो नि । हाम्रा बरिष्टहरुले अत्यन्त ध्यान दिएर अविभावकत्व दिने भनेको कामै नगरी नाफा कमाउने ठेकेदारहरु, सबै भन्सार नाकाहरुमा आफ्नाे पकड जमाउने तस्करहरु,सिन्डिकेट र कालोबजारीमा रमाउने व्यापारीहरु, जुन वरिष्ठ शक्तिमा पुग्यो त्यसलाई हातमा नचाएर रमाउने मान्छेहरु आदिले निरन्तर रुपमा उनिहरुको अविभावकत्वको मजा लिइरहेका छन् । अरुले त देखावटी मात्रै हो ।’ बिक्रमले भन्यो ।

‘यो चाहिँ नयाँ कुरा ल्यायो है यसले । त्यस्ताले अविभावकत्व नपाएर तँ हामीले पाउँ छौँ त ? त्यसै हुन्छ त्यस्तो अविभावकत्व ? अरुले आश गर्दा नाश मात्रै हुन्छ । त्यसको लागि आमदानीको ठूलो हिस्सा वरिष्ठहरुको खातामा हालेपछि उनिहरु सितको नातामा सहोदर भइन्छ अनि पो असली अविभावकत्व पाइन्छ र सात पुस्तासम्म बसि बसि खाइन्छ त बाबै ।’ ठट्यौलो पारामा भनेर चिया पिउन थाल्यो अनिल ।

‘त्यो मात्रै होइन । चुनाव खर्च दिएर पछि त्यसको धेरै दोब्बर उठाउन लगानी गर्नेहरु, मिसावट कालो बजारी गरेर अकुत कमाउनेहरु,सुन सहितका अन्य तस्करीमा वर्षौँदेखि निरन्तर रुपमा लागिरहेकाहरु,अपराध र राजनीतिलाई सँगसँगै आरामसित चलाइरहेकाहरु, सरकारीदेखि सबैखाले जग्गाहरु बेचबिखन गर्न सक्ने भूमाफियाहरु, वरिष्ठहरुबाट जस्तो चाह्याे त्यस्तै निर्णय गराउन सक्ने र विद्यार्थीहरुबाट मनपरी रकम उठाएर पचाउन सक्ने मेडिकल माफियाहरु,ठेक्का ओगटेर वर्षौँसम्म काम नगरी वरिष्टहरुलाइ सित्तैमा दरबार जस्ता घर उपहार दिन सक्ने ठेकेदारहरु, चन्दाको नाममा भनेजति रकम दिन सक्ने र त्यस बापत मनपरी गर्न पाउने उद्योगपति र व्यापारीहरु, वरिष्ठहरुकै इशारामा नियम कानूनलाई धोती लगाई दिएर निर्णय गर्न सक्ने कर्मचारीहरु, आवश्यक परेको बेला सुरा सुन्दरीको व्यवस्था मिलाउन सक्ने सहयोगीहरु, विदेशतिर उपचार घुमफिर र अरु रमाइलो गराउने सहयोगीहरु, ठाउँ ठाउँबाट उठ्तीपुठ्ती गरेर बुझाउने सहयोगीहरु आदि आदि कति छन् कति वरिष्टहरुको असली अविभावकत्व पाउनेहरु । एकएक गरेर भन्दै र गन्दै जाने हो भने दिनभरिमा पनि सकिँदैन होला ।’ दिवाकरले भन्यो ।
‘यति धेरैलाई अविभावकत्व दिन र तिनिहरुबाट फाइदा लिन सक्ने वरिष्ठहरु आफ्नाे अविभावकत्वको लागि भने दिल्ली, बेइजिङ्ग, वासिङ्गटन, युरोपका विभिन्न शहरहरु र कहिले काहिँ कुनै सम्बन्ध नै नभए जस्तो देखिने देशहरुतिर पनि दौडेका देखिन्छन् । किन होला ?’ बिक्रमले अलि अलि हाँस्दै सोध्यो ।

‘सबैलाई थाहा छँदै छ नि । किन भन्नु अब ? यहाँ जसलाई जतिसुकै अविभावकत्व देखाउन खोजेपनि उनीहरुको असली अविभावक त्यतातिर भएपछि के गरुन् त विचराहरुले ? उताका आफ्ना अविभावकहरु रिझाउन नसकेर जाने अन्जानेमा कतै बिझाउन पुगियो भने यताको कुर्सीबाट खङ्गारिन समय नै लाग्दैन । यता देशको साथै अरुको अविभावक बन्न उताकालाई माइबाप भन्न र उताकाले पनि त्यहि औकातमा गन्न ज्यादै जरुरी छ । यतामात्रै ठूलो कुरा गरेर बस्यो भने त उताका अविभावकले एकैछिनमा धुलो चटाइदिने र आप्mनो औकात घटाइदिने अनि आफूले खाइपाइ आएको ठाउँमा अर्कैलाइ खटाइदिने हुनाले उसैलाइ असली अविभावक मान्न अनिवार्य नै छ ।’ अनिलले भन्यो । सबैजना मजैसित हाँसे।

‘ल अब यस्ता कुराको कुनै अर्थ छैन । माम खाएर आप्mनो काम गर्न जाने बेला भइसक्यो जाउँ अब । केही बाँकी भए भोली बिहान छँदै छ नि ।’ बिक्रमले भन्यो । अनिलले चियाको पैसा तिर्यो र सबैजना उठेर बाटो लागे ।

मंसिर २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्