ट्रकको ठक्करले बालिका घाइते भएपछि कोहलपुरमा आन्दोलन

नेपालगञ्ज – ट्रकले स्कूले बालिकालाई ठक्कर दिएपछि बाँकेको कोहलपुर तनावग्रस्त भएको छ।

ना २ ख ९४५९ नम्बरको ट्रकले भे ६ प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा १२ वर्षकी प्रकृति चन्द गम्भीर घाइते भएकी हुन् ।

कोहलपुरको त्रिभूवन उच्च मावि नजिकै दुर्घटना भएको थियो । दुर्घटनालगत्तै आक्रोशित विद्यार्थीले ट्रकलाई तोडफोड गर्नुका साथै जलाइदिएका छन् ।

आक्रोशित विद्यार्थीले नेपालगञ्ज–कोहलपुर रुटमा चलेका दर्जन गाडीमा तोडफोड गरिदिएका छन् । प्रहरीले भीडलाई नियन्त्रण गर्न लाठी चार्ज गरेको छ । विद्यार्थीले ढुंगा हानेका छन् । त्रिभूवन मावि अगाडि भएको झडप सर्दै सर्दै कोहलपुर बजारमा पुगेको छ ।

विद्यार्थीलाई प्रहरीले लाठी चार्ज गरेपछि आक्रोशित स्थानीय बासिन्दा र अभिभावक पनि भीडमा मिसिएका छन् । प्रहरीले भीडलाई हटाउन हवाई फायर गरेको छ । ठूलो भीडले प्रहरीलाई लखेट्दै इलाका प्रहरी कार्यालय अगाडि पुर्‍याएका छन् । झडपमा केही प्रहरी र विद्यार्थी घाइते भएका छन् ।

आक्रोशित विद्यार्थीले सडक ठप्प पारिदिएका छन् भने कोहलपुर बजार बन्द भएको छ । प्रहरीले थप टोली मगाएर भीडलाई नियन्त्रण गर्ने प्रयास गरेको छ ।

मंसिर २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्