विराटनगरको सहिद मैदानमा फ्लड लाईट जडान गरिँदै

विराटनगर– विराटनगरस्थित शहिद मैदानमा रात्रीकालिन खेलकुदका लागि फ्लड लाईटको व्यवस्था गरिने भएकाे छ।

प्रदेश एकको सामाजिक विकास मन्त्रालयको पहलमा सुरु भएको उक्त कार्यको डीपीआर सम्पन्न भइसकेको विराटनगरस्थित निर्माण कम्पनी कार्की बन्धु अमर जेभी कन्स्ट्रक्सनका प्रमुख गणेश कार्कीले जानकारी दिए।

कार्कीका अनुसार, फ्लट लाईटका लागि सहिद मैदानको माटो परिक्षण भइसकेको छ। त्यसैगरि, तेश्रो मुलुकबाट बत्तीसंगै आवश्यक सामाग्री खरिदका प्रक्रियाहरु समेत भइसकेको उनले बताए।

४ करोड २९ लाख रुपैयाँको बजेटमा निर्माण हुने फ्लड लाईटका लागि असोज १ गते निर्माण कम्पनी र सामाजिक विकास मन्त्रालयबीच सहमति भएको हो। सम्झौता अनुसार २ सय १० दिनभित्र मैदानको चारकुनामा मास्टसहित लाईट जडान हुनुपर्नेछ।

निर्माण कम्पनीका प्रमुख कार्कीले भने, ‘समयमा काम सुरु गर्न सकिएको खण्डमा निर्धारित समयभित्रै फ्लड लाइट जडान हुनेछ।’

लाईटका लागि डिपिआरदेखि नक्सा, निर्माण अनुमान भइसकेको बताएका निर्माणकर्मी कार्कीले भने, ‘आफ्नोतर्फको पहिलो चरणको रिपोर्टको काम सकिएको छ। अब राष्ट्रिय खेलकुद परिषदबाट लाईट कति गहिरो राख्ने, फाउन्डेसन कस्तो बनाउने भन्ने कुराको निर्णय हुन बाँकी रहेको छ।’

यसअघि माटो परिक्षणका लागि करिब २८ दिनको समय लागेको बताएका कार्कीले लाईट स्थापनाको क्रममा उत्तरपूर्वतर्फको प्याराफिट केही भत्किन सक्ने जानकारी दिए।

यसक्रममा राष्ट्रिय खेलकुदका प्राविधिक विज्ञहरुसँग सरोकारवालाको २५ गते बुधबार छलफल हुने र त्यसपछि कामले तीव्रता पाउने कार्कीको भनाइ छ।

३२ देखि ३५ मिटरसम्मको उचाईको हुने प्रत्येक फ्लड लाइट फ्रेममा १ हजार वाटको २४ वटा बत्ती जडान हुनेछ।

निर्धारित समयभित्र फ्लड लाईटको काम सम्पन्न भए चैत्र पहिलो साताबाट हुने विराट गोल्डकपका खेलहरु रातीको समयमा हुनेछन्।

मंसिर २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्