गुरु पद्मसम्भवले हिँडेको बाटो

बारबारा फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराई। तस्बिर: देशसञ्चार

काठमाडौँ-  राजधानीमा आइतबार गुरु पद्मसम्भवले नेपाल यात्राका क्रममा हिँडेको बाटोबारे प्रख्यात संस्कृतिविद् डा. रमेश ढुंगेलले चर्चा गरेका छन्।

पर्यटन वर्ष २०२० नजिकिँदै गर्दा आध्यात्मिक तथा धार्मिक पर्यटनसमेत प्रबर्द्धन हुने गरी बारबारा फाउन्डेसनले गुरु पद्मसम्भवको यात्राबारे कार्यक्रम आयोजना गरेको हो।

संस्कृति र अध्यात्मको केन्द्रका रुपमा परिचित काठमाडौँ उपत्यका र वरिपरिका भुभागहरुमा पद्मसम्भवका पाइला परेका थिए भनी संस्कृतिविद् डा. ढुंगेलले प्रस्तुति गरेका थिए। कसरी मञ्जुश्री र पद्मसम्भवजस्ता प्राचीन यायावरहरुले नेपाल खाल्डोलाई आफ्नो कर्मभूमि बनाएका थिए भनी डा. ढुंगेलले प्रस्ट पारेका थिए। उनी सांस्कृतिक तथा बुद्धिस्ट अध्ययनका प्रोफेसर हुन्।

प्रमुख अतिथि पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा गुरु पद्मसम्भवको महत्वपूर्ण यात्राबारे जानकारी गराएकामा संस्कृतिविद् ढुंगेललाई धन्यवाद दिँदै नेपालले एक दशकलाई नै पर्यटन अभियानका रुपमा सञ्चालन गर्नुपर्ने बताए। नेपाल मण्डलदेखि वालुङ उपत्यकासम्मको गुरु पद्मसम्भवको रुटलाई आधुनिक पदमार्गसँग जोडेर प्रबर्द्धन गर्नुपर्ने आवश्यकता मन्त्री भट्टराईले औँल्याएका थिए।

कार्यक्रममको सहजीकरण पूर्व पर्यटनमन्त्री याङकिला शेर्पाले गरेकी थिइन्। इतिहासकार डा. त्रिरत्न मानन्धरले डा. ढुंगेलको प्रस्तुतिमाथि टिप्पणी गरेका थिए। नेपालमा लामो समय बसोबास गरेकी अमेरिकी बारबारा एडम्सको स्मृतिमा स्थापना भएको बारबारा फाउन्डेसनले कार्यक्रम आयोजना गरेको हो।

 

मंसिर २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्