कोहलपुर घटनामा सर्वदलीय निर्णय

कोहलपुर घटनामा: शान्ति कायम गर्ने, घाइतेको काठमाडौं लगेर उपचार गरिने

नेपालगञ्‍ज-दुर्घटनालाई लिएर बाँकेको कोहलपुर आइतबार दिनभरी रणभूमि बनेको छ। विद्यार्थीले शुरु गरेको आन्दोलनले उग्ररुप लिएपछि तोडफोड, आगजनी, गोली प्रहारदेखि निषेधित क्षेत्रसम्म घोषणा गरिएको छ।

ना २ ख ९४५९ नम्बरको ट्रकले भे ६ प २७४० नम्बरको स्कुटीबाट झरेर स्कूलतर्फ जादै गरेकी १२ वर्षीया प्रकृति चन्दलाई ठक्कर दिएपछि घटनाको शुरुवात भएको थियो। ट्रकले खुट्टा कुल्चिदिएपछि गम्भीर घाइते भएकी प्रकृतिलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ।

आफ्नै आँखा अगाडि ट्रकले साथीलाई ठक्कर दिएपछि विद्यार्थी आक्रोशित भएका थिए।विद्यार्थीले ट्रकलाई तोडफोड गर्दै आगो लगाइदिएका थिए। त्यसपछि प्रहरीले विद्यार्थीलाई भगाउन बल प्रयोग गरेको थियो।त्यसक्रममा प्रहरीले लाठी चार्ज गर्‍यो, स्कूल भित्र पसेर विद्यार्थीलाई लछारपछार गरेको थियो।

प्रहरीले बल प्रयोग गर्ने बित्तिकै ठूलो संख्यामा रहेका विद्यार्थीले उग्र बनेका थिए। विद्यार्थीले नेपालगञ्ज–कोहलपुर रुटको कोहलपुरस्थित त्रिभुवन स्कूल अगाडि बसेर एक दर्जन गाडीलाई तोडफोड गरेका थिए।

प्रहरीले विद्यार्थीलाई भगाउन हवाईफायर गर्‍यो। विद्यार्थीलाई प्रहरीले लछारपछार गरेको देखेपछि स्थानीय बासिन्दा पनि आक्रोशित हुँदै आन्दोलनमा मिसिएका थिए। त्यसपछि आन्दोलनकारीको संख्या एकाएक बढ्यो।

सानो संख्यामा रहेका प्रहरीलाई आन्दोलनकारीले ढुंगाले हान्दै कोहलपुर बजारमा रहेको इलाका प्रहरी कार्यालयसम्म लखेटेका थिए। आक्रोशित भीडले इलाका प्रहरी कार्यालय हाताभित्र रहेको क्यान्टिन तोडफोड गरेर जलाइदिए। प्रहरी कार्यालयमै आक्रमण हुन थालेपछि प्रहरीले हवाई फायरका साथै गोली नै चलायो।
प्रहरीको लाठीचार्ज, गोली प्रहार र विद्यार्थी हानेको ढुंगा लागेर ३० जना घाइते भएका छन्। कोहलपुर मेडिकल कलेजमा उपचारका लागि पुगेका १९ जना प्रदर्शनकारी, २ जना सशस्त्र र ९ जना नेपाल प्रहरी पुगेका थिए।

छात्रा प्रकृति चन्दलाई हेलिकोप्टरबाट काठमाडौं लगिसकिएको छ। गोली लागेका ४३ वर्षका श्रीकान्त शर्मा र १८ वर्षका नारायण खत्रीको अवस्था गम्भीर रहेको छ। उनीहरुलाई थप उपचारका लागि काठमाडौं लैजान अस्पतालले रिफर गरेको छ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले कोहलपुर आसपासमा निषेधित क्षेत्र घोषणा गरिएको बताए। ‘सर्वदलीय बैठकले पनि कफ्र्यु लगाउन उचित हुने सुझाव दिएको छ, सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने। स्थानीय प्रशासनले किरणनाला, नौबस्ता, पिपरी र चप्परगौडीसम्मको घेरालाई निषेधित क्षेत्र कायम गरेको छ।

कोहलपुरमै बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकले शान्ति सुरक्षा कायम राख्न पहल गर्ने, घाइतेको उचित उपचारका लागि काठमाडौं पठाउने, तोडफोड भएका साधनको क्षतिपूर्तिका लागि सरकारसँग पहल गर्ने निर्णय गरेको नेकपाका जिल्ला सचिव अशोक कोइरालाले जानकारी दिए।

कोहलपुरलाई शान्त बनाउन जिल्लाबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। बाँकेका एसपी बीरबहादुर वलीले झडपमा तीन दर्जन प्रहरी घाइते भएको बताए।

‘बालबालिकालाई अगाडि सारेर पछाडीबाट ढुंगा हान्ने काम भयो, एसपी वलीले भने, ट्रकमै चालकलाई राखेर आगो लगाउने प्रयास भएको थियो। हामीले समयमै पुगेर बचायौ।’ एसपी वलीले कति राउण्ड रबरको गोली चल्यो र हवाई फायर भयो पछि थाहा हुने बताए।

घाइते रहेकी बालिकाको बारेमा अनर्गल समाचारहरु आउदा विद्यार्थी अझ उत्तेजित भएका थिए।

मंसिर २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्