साग खेल्न आएका श्रीलंकाली खेलाडीलाई कसरी भयो डेंगी?

सांकेतिक तस्बिर

काठमाडौँ– नेपालमा भइरहेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) खेल्न आएका श्रीलंकाका ६ खेलाडीलाई डेंगी भएको छ।

डेंगी देखिएका उनीहरुको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ।

डेंगी देखिएका ६ जना मध्य १९ वर्षकी गायथ्री नानायक्कराको आइसियूमा उपचार भइरहेको छ भने एक जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ।

अन्य खेलाडीलाई अझै केही दिन अस्पतालमै राखिने आस्पतालका बोर्ड, मेम्बर सेक्रेटरी रजत श्रेष्ठले बताए।

श्रेष्ठले भने, ‘स्वास्थ्यमा समस्या देखिएपछि गायथ्रीलाई पोखराबाट हेलिकप्टरमा अस्पताल ल्याइएको थियो। उनलाई अव्जरभेसनका लागि आइसियूमा राखेका छौँ। उनको प्लेटलेट्स तलमाथि भइरहेको छ। तर अन्य ४ जनाको भने प्लेटलेट्समा कुनै किसिमको घटबढ देखिएको छैन। कुनै औषधिको प्रयोग गरिएको छैन।’

उनका अनुसार सामान्य व्यक्तिमा प्लेटलेट्स २ लाख ५० हजारसम्म हुनुपर्छ। तर उपचारपछि गायथ्रीको प्लेटलेट्स १ लाख २५ पुगेको छ।

उनी महिला फुटबल प्रतिस्पर्धाका लागि पोखरामा थिइन्।  गायथ्रीको प्लेटलेट्स कम भए पनि उनलाई पिआरपी नचढाउन श्रीलंकाका डाक्टरले उनको उपचारमा संलग्न चिकित्कलाई सुझाव दिएको उनले बताए।

उनल भने,‘हामीलाई श्रीलंकाका डाक्टरले सजेस्ट गर्नुभयो। उताको ट्रिटमेन्ट स्टाइल फरक भएको उहाँले बताउनुभयो। हामीले पिआरपी चढाउने योजना बनाएका थियौँ। अहिले पनि पिआरपी तयारी अवस्थामा राखेका छौँ। अहिलेसम्म चाहिएको छैन। प्लेटलेट्स बिस्तारै माथि आइरहेका कारण मलाई जहाँसम्म लाग्छ, पिआरपी चढाउनु पर्दैन।’

बिरामी निको हुनका लागि बिरामीको प्रतिरोधात्मक क्षमतामा भर पर्ने उनले बताए। उनले भने, ‘बिरामीको शरीरले कति कोअपरेट गर्छ भन्ने कुरामा भर पर्छ। कोही १०० डिग्री ज्वरो आउँदा पनि मज्जाले घुमिरहेका हुन्छन् भने कोही १०० डिग्रीमा सुतिरहेका हुन्छन्।’ तर बिरामी खेलाडीलाई आरामको जरुरत पर्ने उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

चिकित्सकका अनुसार खेलाडीलाई डिस्चार्ज गरिए पनि उनीहरु अहिल्यै खेल्न सक्ने अवस्थामा छैनन्। उनीहरु अझै कमजोर छन्। आरामको आवश्यक्ता पर्छ। उनीहरुले खाने कुरामा ध्यान दिनु जरुरी हुन्छ।

श्रेष्ठका अनुसार खेलाडीहरुमा डेंगीको संक्रमण श्रीलंकामै भएको थियो। श्रीलंकन डाक्टर पार्कले रिभ्यू गर्नुका साथै डेंगी विशेषज्ञसँगको कुराकानी पछि डेंगी उतैबाट आएको पुष्टि भएको उनले बताए।

खेलाडीहरुको उपचारमा डा. खगेन्द्र श्रेष्ठ र डा. प्रकाशराज पाण्डे संलग्न रहेको अस्पतालले जनाएको छ।

मंसिर २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्