बिच भलिबलमा महिलातर्फ नेपाललाई कास्य

पोखरा – १३ औँ दक्षिण एसियाली (साग) अन्तर्गत बिच भलिबलमा महिलातर्फ नेपालले कास्य पदक जितेको छ।

पोखरामा आइतबार विनिता बुढाथोकी र नेबिका चौधरीको जोडीले नेपालकै कोपिला उप्रेती र मनीषा चौधरीको जोडीलाई सेमिफाइनलमा २१–१२, १९–२१ र १६–१४ को सेटमा पराजित गरेको हो।

नेपालको दुवै टिम समूह उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेका थिए। श्रीलंकाका दुवै टिम समूह विजेता बन्दै फाइनल प्रवेश गरेका थिए। पुरूषतर्फ नेपालको दुवै टिम लिग चरणबाट बाहिरिए।

श्रीलंकाको महिला र पुरुष दुबैतर्फ २/२ टिम फाइनल पुग्दै स्वर्ण र रजत जित्न सफल भए।

पुरुषतर्फ श्रीलंकाको प्रदीप आसंका र असेन कुमाराको जोडीले इन्डिका टिरोन र जायन सनुजाको जोडीलाई २४–२२ र २१–१३ को सेटमा हराउँदै स्वर्ण जित्यो।

महिलातर्फ श्रीलंकाकै दीपिका जेडेरा र मधुशानी वीरासिंगेको जोडीले लक्षिनी थारुका र दिनेशा प्रसादनीको जोडीलाई १९–२१, २१–१५ र १५–८ को सेटमा हराएर स्वर्ण जित्न सफल भयो।

पुरुषतर्फ पाकिस्तानले कास्य जित्यो। पाकिस्तानका मोहम्मद रज्जाक र वसीन मोहम्मदको जोडीले पाकिस्तानकै जस्नव खान र अफाख खानको जोडीलाई २१–१५ र २१–१४ को सेटमा हराएर कास्य जित्न सफल भयो।

बिच भलिबलमा महिलातर्फ नेपाल, श्रीलंका र माल्दिभ्स सहभागी थिए। पुरूषतर्फ नेपालसहित श्रीलंका, पाकिस्तान, बंगलादेश र माल्दिभ्स सहभागी थिए। सागमा पहिलोपल्ट बिच भलिबल समावेश गरिएको हो।

मंसिर २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्