‘मृत्यु हो या हत्या, प्रहरी अनुसन्धान जारी छ’

मोरङ-विराटनगरमा रहस्यमय ढंगमा ७४ वर्षीय एक वृद्धाको मृत्यु भएको छ।

पुराना पत्रकारका जयप्रसाद दाहालको शव विराटनगर-२ शनिहाटस्थित आफ्नै घरको कोठामा जलेको अवस्थामा आइतबार फेला परेको प्रहरीले जनाएको छ।

दाहालको शव दुइतल्ले घरको पहिलो तल्लाको कोठामा घाँटीमा धारिलो हतियार प्रयोग गरि शव जलाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ।

मोरङ्गका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीका अनुसार, विहान शव बरामद हुने क्रममा खाना पकाउने ग्याँस लिक भएर मृत्यु भएको अनुमान गरिएको थियो। तर अनुसन्धान गर्दै जादाँ घटनाले अर्को मोड लिएको उनले बताए।

यद्धपी, प्रहरीले दाहालको हत्या नै भएको भनि किटान गरिनसकेको अवस्था रहेको छ। प्रहरी उपरिक्षक अधिकारीले भने, घटनास्थलमा रगतको टाटासहितको चक्कु, घाँटीमा चोट भेटिएपछि घटनाको अनुसन्धान प्रहरीले गरेको थियो।

प्रहरीका अनुसार, दाहाल काठमाडौस्थित ज्ञानेश्वरमा परिवारका साथ र विराटनगर शनिहाटमा भएको घरमा बस्दै आएको थिए। प्रहरी उपरीक्षक अधिकारीले भने, ‘विराटनगरको घर र कटहरी गाँउपालिकामा रहेको खेती बिक्रीका लागि भनेर दाहाल शनिबार दिउँसो विराटनगर आएको खुलेको छ।’

घटनाबारे नजिकबाट अनुसन्धान गर्ने क्रममा प्रहरीले दाहालको पेटदेखि तलको सबै भाग जलेको, आन्द्रा बाहिर निस्किएको र सुतेको खाटबाट भूँइमा खसेको अवस्थामा शव फेला पारेको थियो।

घटनाका बारेमा प्रहरी प्रारम्भिक अनुसन्धानमै रहेकोले अझै अन्य धेरै कुरा खुल्न बाँकी रहेको अधिकारीले जानकारी दिए। सोही क्रममा घटनाको अनुसन्धानका लागि प्रहरीले सुनसरीको धरानबाट तालिमप्राप्त कुकुरपनि झिकाएको छ।

घटनास्थलमा एउटा कोशी ग्यासको सिलिन्डर र दाहालले प्रयोग गर्ने मोबाइल डढेको अवस्थामा भेटिएको छ। दाहालको शव भेटिएको अगाडिको कोठामा भान्छा कोठा छ।

भान्छा कोठा छेउमै हुँदाहुँदै दाहाल सुतेको कोठामा ग्याँसको सिलिण्डर कसरी पुग्यो भन्ने लगायत सबै कोणबाट अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रहरी उपरिक्षक अधिकारी भन्छन्, कोठामा सुतेका दाहालको ओछ्यान नजिकै ग्यासको सिलिण्डर हुनु र पाइप मात्र जलेको अवस्थामा भेटिनुले पनि घटना शंकास्पद देखिएको छ । शव पोस्टमार्टमका लागि आइतबार साँझ विराटनगरकै कोसी अस्पतालमा लगिएको छ।

२००२ सालमा जन्मिएका दाहालका श्रीमती सावित्रा र दुई छोरा छन्। उनी लामो समय पत्रकारितामा सक्रिय पुराना पत्रकार रहेको जानकारी अर्का पुराना पत्रकार रामरिझन यादवले बताए।

सम्पादक समाजका कोषाध्यक्ष दाहाल २०२५ सालदेखि विराटनगरलाई कार्यथलो बनाएर पत्रकारितामा सक्रिय बनेको यादवको भनाइ छ।

तत्कालिन मातृभूमि साप्ताहिकका पत्रकार डम्बर थापालाई समाचार लेखेको आरोपमा राजकाज मुद्दा लागेपछि थापा, जीवेश्वर लाखे र मृतक दाहालसहितको समूहले ‘विराटनगर प्रेस क्लब’ समेत गठन गरेका थिए।

मंसिर २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू