३८ वर्ष १४० दिन र ५३३ औँ खेलमा पहिलो ह्याट्रिक

३८ वर्ष १४० दिनको उमेरमा स्पेनिस ला लिगामा आफ्नो खेल जीवनको पहिलो ह्याट्रिक गरेका छन् । ती खेलाडी हुन्, रियल बेटिसका कप्तान ख्वाकिन अर्थात सान्चेज रोड्रिग्वेज ।

उनले ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा रियल बेटिसले एथ्लेटिको बिल्बाओलाई ३–२ ले पराजित गर्ने क्रममा ह्याट्रिक गरेका हुन्, त्यो पनि सुरुको २० मिनेट भित्रै । ख्वाकिनले ला लिगामा ५३३ खेल खेलेका छन् ।

घरेलु मैदानमा भएको खेलमा दोस्रो मिनेटमा नै पहिलो गोल गरेका उनले ११ औँ मिनेटमा दोस्रो गोल गरे । उनले २० औँ मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । उनी ला लिगाको इतिहासमा सबैभन्दा बढी उमेरमा ह्याट्रिक गर्ने खेलाडी बनाएको छ ।

एथ्लेटिको बिल्बाओका लागि ४४ औँ मिनेटमा पाएको पेनाल्टीमा इनाकी विलियम्स र ७५ औँ मिनेटमा युरी बेर्चिचे इजेताले गोल गरेका हुन् ।

ला लिगा अन्तर्गत आइतबार राति भएका अरु खेलमा गेटाफेले एइबरलाई १–० तथा लेगानेसले सेल्टा डी भिगोलाई ३–२ ले पराजित गरेको छ । यस्तै रियल सोसिडाड र रियल भालाडोलिडले गोलरहित तथा ओसासुना र सेभिल्लाले १–१ को बराबरी खेलेका छन् ।

मंसिर २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्