अमेरिकी नेभीको बेसक्याम्पमा भएको आक्रमण अनुमानित आतंकवाद–एफबिआई

अमेरिकाको फ्लोरिडा स्थित अमेरिकी नेभीको बेसक्याम्पमा भएको अन्धाधुन्ध गोली प्रहार घटनालाई अनुमानित आतंककारी आक्रमणका रुपमा लिएर अनुसन्धान भइरहेको संघीय अनुसन्धान ब्युरो (एफबिआई) ले जनाएको छ ।

फ्लोरिडाको पेनसाकोलामा रहेको अमेरिकी नेभीको बेसक्याम्पमा गएको शुक्रबार त्यहाँ तालिमरत एक साउदी अरेबियाका सैनिकले अन्धाधुन्ध गोली प्रहार गर्दा तीनजनाको मृत्यु भएको थियो ।

गोली प्रहार गर्ने व्यक्तिको नाम मोहम्मद सईद अलशम्रानी हो र उनी साउदी सैनिकका सदस्य थिए । उनी पेनसाकोला बेसक्याम्पमा तालिमरत रहेका थिए । आक्रमण लगत्तै जवाफी कारवाहीमा उनको गोली लागेर मृत्यु भएको थियो ।

उनले आक्रमणको केही दिनअघि बेलुकाको खानाको समयमा सार्वजनिक स्थलमा अन्धाधुन्ध गोली प्रहारको घटनाको भिडियो हेरेको अनुसन्धानको क्रममा अधिकारीहरुले बताएका थिए ।

एफबिआईले सो घटनालाई आफूले अनुमानित आतंककारी आक्रमणका रुपमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

आक्रमणको घटनापछि त्यहाँ तालिम लिइरहेका अरु साउदी सैनिकहरुलाई गम्भीर सोधपुछ गरिएको छ ।

२१ वर्षका आक्रमणकारी अलशम्रानीले कानूनी रुपमा नै हतियार ल्याएको र उनले आक्रमणका लागि ९ एमएम ह्याण्डगन प्रयोग गरेको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन् ।

यसअघि गएको बुधबार हुवाईमा रहेको पर्ल हार्बोर सैन्य बेसक्याम्पमा अमेरिकी जलसैनिकले अन्धाधुन्ध गोली प्रहार गरी दुई कामदारको हत्या गरेका थिए ।

मंसिर २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्