३५ करोड मुआब्जा बुझे तर, संरचना भत्केन

दाङ– सडकको दायाँ १५ मिटर र बायाँ १५ मिटर गरी कुल ३० मिटर क्षेत्रलाई लमही–कोइलावास हुलाकी सडकको क्षेत्र तोकिएको छ । सो सडक क्षेत्र अधिग्रहण गर्न नेपाल सरकारले झण्डै ७ सय कित्ताको जग्गाधनीलाई करिब ३५ करोड रकम मुआब्जा वितरण गरिसकेको छ । तर, लमही बजार क्षेत्रमा सडक फराकिलो बनाउनुको साटो खुम्च्याउने प्रयास भएको छ ।

जग्गाको मुआब्जा बुझीसकेकाहरुले घरको मुआब्जा माग गरेपछि पूर्वाधार हटाउन असजिलो भएको छ । तर, घरको मुआब्जाको लागि कुनै प्रकृया थालिएको छैन । करिब एक किलोमिटर बजार क्षेत्रमा सडक क्षेत्रभित्र पर्ने पूर्वाधार नहटाउदै कालोपत्रेको तयारी थालिएको छ । सडक निर्माण कम्पनीले पुरानो कालोपत्रे ओधारेर नयाँ पिचको थालनी गरिसक्दा समेत सडक क्षेत्रमा पर्ने पूर्वाधार हटाइएको छैन् ।

सडकको कालोपत्रको ७ मिटर चौडा हुने, पिच दखि नाली सम्म दायाँ–बायाँ २–२ मिटर चौडा ग्राभेल गरिने र त्यसपछि एक दशमलव एक मिटरको नाली बनाइने हुलाकी सडक आयोजना कार्यालय नेपालगञ्जका निमित्त प्रमुख रामसागर हरिजनले बताए। ‘सडक बन्ने क्षेत्र १७ दशमलव २ मिटरको हो । हाम्रो मापदण्ड अनुसार काम अघि बढेको छ’उनले भने–‘तर, सडकको जम्मा क्षेत्र भनेको ३० मिटरनै हो । खुल्ला भयो भने झनै राम्रो ।’ सडक क्षेत्र फराकिलो बनाउने जिम्मेवारी स्थानीय सरकारको रहेको उनले बताए । तर, हुलाकी सडकले समयमा स्थानीय सरकारसँग समन्वय नगर्दा समस्या परेको यस अघि भएको छलफलमा नगरप्रमुख कुलबहादुर केसीले बताएका थिए ।

गढवामा ३० मिटर क्षेत्र खुल्ला

लमही–कोइलावास हुलाकी सडक क्षेत्रमा पर्ने भातिक संरचना हटाएर गढवामा ३० मिटर क्षेत्र खुल्ला गराइएको छ । गढवा गाउँपालिका र वडा कार्यालयको सक्रियतामा व्यक्तिगत र सरकारी संरचना हटाउन थालिएको हो । अहिले बजार क्षेत्रमा सरकारी संरचना हटाएर सडक क्षेत्र खुल्ला गरिएको गढवा गाउँपालिकाका अध्यक्ष शहजराम यादवले जानकारी दिए ।‘सरकारी संरचना हटाएका छौं’अध्यक्ष यादवले भने–‘बाँकी संरचना हटाउने क्रममै छौं ।’

यता हुलाकी सडक समन्वय समितिका संयोजक भेषराज पाण्डेले हुलाकी सडक निर्माणमा कमिकमजोरीहरु देखिन थालेको भन्दै सबै गम्भीर बन्नुपर्ने बताए । उनले सडक निर्माण गर्दा बिजुलीका पोल नसार्नु, टेलीफोनका पोल नहटाउनु, खानेपानीको पाइपहरुको समयमा व्यवस्थापन हुन नसक्दा सडक निर्माणमा कमजोरी देखिएको बताएका हुन् ।

३३ किलोमिटरमा १९ किलोमिटर पिच

लमही देखि कोइलावास सम्मको ३३ किलोमिटर लामो सडकमा अहिले सम्म १९ किलोमिटर सडक कालोपत्रे भैसकेको छ । बाँकी १४ किलोमिटर सडक कालोपत्रेको तयारी भैरहेको कालिका कुमार जेभीका साईड म्यानेजर राजेन्द्र श्रेष्ठले जानकारी दिए । सडक निर्माण गर्न बाँकी ५ महिनाको म्याद छ । यो बिचमा बाँकी सबै काम पूरा गर्ने योजना रहेको उनले बताए ।‘पाँच महिना समय बाँकी छ । यो बिचमा सबै काम सक्छौं’उनले भने–‘काम धमाधम भैरहेको छ ।’

सेम्रहवाको मुआब्जा अझैं टुंगीएन

लमही नगरपालिका वडा नं. ४ समेह्रवा गाउँको मुआब्जाको विषय अझैं टुंगीएको छैन् । न्यायोचित मुआब्जा निर्धारणको माग राख्दै चरणबद्ध आन्दोलन गरेका यहाँका नागरिकहरुले राख्दै आएको माग पूरा भएको छैन । मुआब्जा नपाउदा यहाँ सडक कालोपत्रेको निर्माण कार्य एक वर्ष अघिबाटै रोकिएको छ । मुआब्जा रकम निर्धारण गर्न हुलाकी सडक आयोजना कार्यालयमा पहल भैरहेपनि अझैं त्यस बारेमा निर्णय भएको छैन् ।

मुआब्जा बाफत ३४ करोड ९१ लाख बाँडीयो

हुलाकी सडक निर्माण गर्दा प्राप्त ३५ करोड मध्य अहिले सम्म ३४ करोड ९१ लख ६४ हजार रकम मुआब्जा शीर्षकमा बाँडीएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । मुआब्जा बाफत ८ लाख ३६ हजार रकम वितरण गर्न बाँकी रहेको छ । करिब ७ सय कित्ताको जग्गाधनीले मुआब्जा बुझिसकेका छन् ।

मंसिर २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्