बालिका

कोहलपुर अझै तनावग्रस्त (फोटो फिचर)

आइतबार ट्रकले १२ वर्षीया प्रकृति चन्दलाई ठक्कर दिएपछि तनावग्रस्त भएको कोहलपुर सडकमा सोमबार पनि प्रदर्शन गर्दै स्थानीय युवाहरु। उनीहरुले प्रशासनको निषेधाज्ञा अवज्ञा गरेका छन् भने त्यहाका बजार पसल बन्द रहेको छ। तस्बिर- कुमार श्रेष्ठ/देश सञ्‍चार

नेपालगञ्‍ज- आइतबार ट्रकले १२ वर्षीया प्रकृति चन्दलाई ठक्कर दिएपछि आक्रोशित युवाहरु निषेधित क्षेत्रमा हिड्न थालेपछि स्थिति तनावग्रस्त देखिएको छ।

बाँकेको पिपरीमा सर्वदलीय बैठक बसिरहेको छ। हाइस्कूलदेखि कोहलपुर बजारसम्म किशोरहरुको एउटा समूह नाराबाजी गर्दै कहिले यता त कहिले उता गरिरहेका छन्। मोटरसाइकलसम्म आउदा ‘ठोक–ठोक’ भन्न छोडेका छैनन्। बाटोभरी प्रहरी तैनाथ छन्।

स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको पालना भएको छैन। आइतबारको घटनाले सोमबार पनि कोहलपुरको माहौल शान्तमय हुन सकेको छैन । आक्रोशित भीडमा देखिएका किशोरहरुको समूहले सडक कब्जा गर्दा सर्वसाधारण ‘साइड’ लागेका छन् । बजार बन्द रहेको छ । आफ्ना पसल अगाडि उभिएकाहरु रमिते बनेका छन् ।

प्रहरीले ज्यादती गरेको भन्दै सडकमा आक्रोश पोखेर ‘मुर्दावाद’ भनिरहदा प्रहरीले आफूहरुले संयमता अपनाउदा मानवीय क्षति हुन नसकेको दावी गरिरहेको छ।
त्रिभुवन स्कूल अगाडि ना २ ख ९४५९ नम्बरको ट्रकले १२ वर्षीया बालिका प्रकृति चन्दलाई ठक्कर दिएपछि शुरु भएको आन्दोलन एकाएक भड्किएपछि कोहलपुर अशान्त बनेको हो।

सहपाठीलाई ट्रकले कुल्चिएर घाइते बनाएपछि आक्रोश पोखेका विद्यार्थीमाथि प्रहरीले ‘बल प्रयोग’ गरेकाले घटनाले उग्ररुप लिएको कोहलपुरका सबैजसोको भनाई छ। त्रिभुवन स्कूलका शिक्षक अजय बास्तोलाले घुमुवा प्रहरी स्कूलभित्र छिरेर विद्यार्थी तानेपछि विवाद बढेको बताए।

‘विद्यार्थीलाई तान्ने प्रहरीलाई सबैले घेरिसकेका थिए । उसलाई शिक्षकले बचाएर बाहिर निकाले, बाहिर गएपछि जसले बचाएको थियो । उही शिक्षकलाई समातेर प्रहरीले लग्यो, शिक्षक बास्तोलाले भने, त्यसपछि विद्यार्थी भड्किए । प्रहरीले पनि गेटमै आएर लाठीचार्ज गर्‍यो ।’

गम्भीर घाइते ११ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ । कोहलपुर मेडिकल कलेजमा २४ जना घाइते उपचारका लागि पुगेका थिए । अहिले अस्पतालमा कोही छैनन् । ‘विहानसम्म एकजना थिए । ऊ पनि गइसक्यो, डा. प्रकाश भारती भने, आधा दर्जनजति गोली लागेका थिए।’

कोहलपुरलाई शान्त बनाउने प्रयास जारी रहेको छ । सर्वदलीय बैठकले केही निष्कर्ष निकाल्छ कि भन्ने आशा गरिएको छ। एकाएक रणभूमि बनेको कोहलपुरको बस्तुस्थिति बुझ्न ५ नम्बर प्रदेशका प्रहरी प्रमुख डीआइजी सुरेशविक्रम शाह आएका छन्। विद्यार्थीबाट शुरु भएको आन्दोलन ‘राजनीतिक’ रंगतिर मोडिएको स्थानीयहरु बताउँछन्।

मंसिर २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू