किन रोकियो वाणिज्य बैंकमा ६ सय कर्मचारीको रिजल्ट?

काठमाडौँ – परीक्षा दिएको ६ महिना बिसिक्दासमेत राष्ट्रिय वाणिज्य बैंकको विभिन्न तहका लागि लिइएको परीक्षाको नजिता सार्वजनिक नहुँदा आवेदकहरु निराश बनेका छन्।

गएको चैतमा आवेदन खुला गरेर असारमा ६ सय भन्दा बढी पदका लागि परीक्षा लिए पनि लोकसेवा आयोगले अझै पनि नजिता सार्वजनिक नगर्दा आवेदकहरु निराश बनेका हुन्।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघका तर्फबाट सर्वोच्च अदालतमा परेको रिट र जारी भएको अन्तरिम आदेशका कारण नजिता सार्वजनिक हुन नसकेको हो।

लोकसेवा आयोगले वाणिज्य बैंकमा कार्यरत कर्मचारीलाई खुल्ला सरह उमेर हद र शैक्षिक योग्यता लागू गरेपछि आवेदनका विरुद्ध कर्मचारी संघका अध्यक्ष हेमराज सुवेदीको नेतृत्वमा सार्वेच्चमा मुद्दा दायर भएको थियो।

निजामति तथा अन्य सरकारी सेवामा कार्यरत कर्मचारीलाई माथिल्लो पदमा प्रतिस्पर्धा गर्न उमेर हद नलाग्ने भए पनि चैतमा आह्वान गरिएको विज्ञापनमा खुला सरह नै पुरुषलाई ३५ र महिलालाई ४० वर्ष कायम गरिएको थियो।

त्यस्तै माथिल्लो पदमा बढुवाका लागि साढे दुई वर्ष काम गरेको भए पुग्ने प्रावधानलाई चार वर्ष बनाइएको थियो। आयोगको उक्त निर्णय विरुद्ध आफूहरुले सर्वोच्चमा दिएको रिट निवेदनको सुनुवाइ सर्दै आएको सुवेदीले जानकारी दिए।

सर्वोच्चले रिट निवेदनमाथि सुनुवाइ गदै मुद्दाको टुंगो नलाग्दासम्म नतिजा सार्वजनिक नगर्न दिएको आदेशका कारण नजिता प्रकाश गर्न नसकिएको लोकसेवा आयोगको भनाइ छ। रिटको अन्तिम सुनुवाइका लागि बुधबार पेशी तोकिएको छ।

उता कर्मचारी संघका प्रतिनिधिहरु भने मुद्दाको विषय नै नबनाइएको चौथो तहको समेत नतिजा रोकेर आफूहरुमाथि दोषारोपण गरिएको बताउँछन्।

नजिता सार्वजनिक भएर नयाँ कर्मचारी भर्ना हुन नसक्दा बैंकको सेवासमेत प्रभावित हुन थालेको छ।

मंसिर २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्