अब समाजवाद हैन, वैज्ञानिक समाजवाद

तात्कालिक लक्ष्य परिवर्तन गर्ने निर्णयमा नेकपा

फाइल तस्बिर

काठमाडौँ- पार्टी एकताका बेला विवादित बनेको तर एकताका लागि भए पनि सम्झौता गरी नेकपाले आफ्नो अन्तरिम विधानमा समावेश गरी अघि बढे पनि अन्ततः ऊ लक्ष्य परिवर्तन गर्ने निचोडमा पुगेको छ।

झन्डै एक वर्ष अघिको स्थायी कमिटी बैठकमा पनि यसबारे कुरा उठेको थियो । केही समयअघि राजनीतिक प्रतिवेदनमा न्यूनतम लक्ष्य जनताको जनवाद राखेपछि नेकपाले सोही अनुसार विधान परिमार्जन गर्न लागेको हो।

सोमबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय सचिवालय बैठकले त्यस्तो निर्णय गरेको हो।

निर्णय अनुसार पार्टीको न्यूनतम कार्यदिशा जनताको जनवाद हुँदै वैज्ञानिक समाजवाद स्थापना गर्ने र साम्यवादको दिशातिर अघि बढ्ने गरी विधान संशोधन गर्न लागिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाइ छ।

पार्टीको बैज्ञानिक समाजवाद तात्कालिक लक्ष्य र दीर्घकालिन लक्ष्य साम्यवाद बनाइएको श्रेष्ठले बताए।

पार्टीको साविक विधानमा पार्टीको राजनीतिक तत्कालीन कार्यदिशा सामाजिक न्याय एवम् लोकतान्त्रिक मूल्य सहितको समाजवादको आधार निर्माण पार्टीको तात्कालीक लक्ष्य तय गरिएको उल्लेख छ।

नेकपाको अन्तरिम विधानले केन्द्रीय कमिटीलाई मात्रै विधान संशोधन र परिमार्जन गर्ने अधिकार दिएको छ।

विप्लव समूह लगायतले पनि वैज्ञानिक समाजवादको कुरा उठाउँदै आएका छन्।

गत वर्ष मंसिर २९ गतेको १३ दिने स्थायी कमिटी बैठकले पनि विधान संशोधनको प्रस्ताव अघि बढाएको थियो।

यसैबीच नेकपाले अध्यक्ष एव प्रधानमन्त्री केपी ओलीको आश्वासन कार्यान्वयन गर्न अन्तत: नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउन विधान संशोधन गर्ने भएको छ।

त्यसका लागी आगामी मसिर २९ गते स्थायी कमिटी बैठक बोलाउने र त्यसबाट विधान संशोधन गरी नेता गौतमलाई उपाध्यक्ष बनाउने भएको हो।

सचिवालय बैठकले हालै सम्पन्न उपनिर्वाचनको समीक्षात्मक प्रतिवेदन अनिवार्य पठाउन ५ दिन थप्ने निर्णय गरेको छ।

यही मसिर १८ गते बुधबार बसेको सचिवालयको बैठकले उपनिर्वाचन भएका स्थानका कमिटीलाई तीन दिनभित्र समीक्षात्मक प्रतिवेदन केन्द्रमा पठाउन निर्देशन दिएको थियो।

केहीले निर्धारित समयमा प्रतिवेदन नपठाएपछि पुन समीक्षात्मक रिपोर्ट पठाउने समय पाँच दिन थप गरिएको हो।

त्यस्तै बैठकमा केन्द्रीय सङ्गठन विभागले सङ्गठन सञ्चालन सम्बन्धी कार्ययोजना पेश गरेको प्रवक्ता श्रेष्ठले बताए।

उनका अनुसार सङ्गठन विभाग प्रमुखका तर्फबाट वामदेव गौतमले कार्ययोजना पेश गरेका हुन्।

कार्ययोजनामा सङ्गठन सञ्चालन सम्बन्धी विशेष योजना रहेको श्रेष्ठको भनाइ छ। यता बैठकले अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषदमा सदस्य नियुक्ति सम्बन्धी कार्ययोजना पेश गर्न महासचिव विष्णु पौडेललाई सात दिनको समय समेत दिएको छ।

यस्तै झन्डै एक वर्षपछि आगामी मंसिर २९ र ३० गते बैठक बोलाएको हो। पार्टीको अन्तरिम विधानमा ३ महिनामा स्थायी कमिटीको बैठक बोलाउनु पर्ने प्रावधान छ।

कर्णाली प्रदेशको सचिवबाट राजीनामा दिएका मायाप्रसाद शर्माले दिएको राजिनामा अस्विकार गरिएको छ। सचिवालयको आगामी बैठक २७ गते बस्ने भएको छ।

मंसिर २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू