आर्चरीमा बंगलादेशको कब्जा, १० स्वर्णमाथि एकलौटी वर्चस्व

पोखरा-१३औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत पोखरामा सोमबार सम्पन्न भएको आर्चरी खेलमा बंगलादेशले १० वटै स्वर्ण पदक हात पार्न सफल भएको छ।

पोखरा रंगशालाको आर्चरी खेल मैदानमा भएको प्रतिस्पर्धामा बंगलादेशले एकल तथा टिमतर्फको इभेण्टमा सबै स्वर्ण पदक हात पार्न सफल भएको हो।

सोमबार भएको रिकर्भ महिला तथा पुरुषतर्फ बंगलादेशले स्वर्ण पदक हात पार्न सफल भयो। कम्पाउण्डतर्फको महिला तथा पुरुषतर्फ पनि स्वर्ण पदक हात पार्न सफल भयो।

सोमबारको खेलमा रिकर्भ पुरुषतर्फको खेलमा बंगलादेशका विश्व र्याङकीङ १०औ भित्र पर्ने उत्कृष्ट खेलाडी एमआर सानाले भुटानका छिरिङ केन्लीलाई पराजित गर्दै स्वर्ण हात पारे।

सोही इभेण्टको महिलातर्फ बंगलादेशकी १४ बर्षकी उदयमान खेलाडी आतुन एमएसटी इटिवाईले भुटानकी डिमा सोनामलाई पराजित गर्दै स्वर्ण पदक हात पारेकी हुन्।

रिकर्भ एकल पुरुषतर्फ श्रीलंकाले कास्य पदक हात पार्न सफल भयो। श्रीलंकाका डिई शिल्भा एमएसले भुटानका स्लामा मोहमदलाई पराजित गर्दै कास्य पदक जित्दा सोहि इभेण्टको महिलातर्फ बंगलादेशकी मोनिरा मोहानाजले भुटानकी कर्मालाई पराजित गर्दै कास्य पदक जितेकी हुन्। कर्मा ओलम्पिकमा छनोट भएकी खेलाडी हुन्।

त्यसैगरी कम्पाउण्ड एकल पुरुषतर्फ बंगलादेशका राना एमडी सोहीलले दोर्जे तेण्डीङलाई पराजित गर्दै स्वर्ण पदक हात पार्न सफल भए। कास्य पदकको लागि भएको खेलमा बंगलादेशका दास असिम कुमारले श्रीलंकाका वासान्त कुमारलाई पराजित गरी कास्य पदक जितेका हुन्। सोही इभेण्टको महिलातर्फ बंगलादेशकी विश्वास सुमाले श्रीलंकाकी करुणारेन्टी अनुराधालाई पराजित गर्दै स्वर्ण पदक जितेकी छन्।

श्रीलंकाले यस विधामा कास्य पदक हात पार्‍यो। श्रीलंकाकी दमयन्तीले बंगलादशेकी बनिक सुस्मितालाई पराजित गर्दै कास्य पदक हाँसिल गरिन्।
आइतबार ६ वटा स्वर्ण पदकको छिनोफानो लाग्दा ६ वटा स्वर्ण पदकमाथि बंगलादेशले एक्लौटी ढंगले वर्चस्व जमाउन सफल भएको थियो।

बंगलादेशले कम्पाउण्ड महिला तथा पुरुष, रिकर्भ महिला तथा पुरुष र रिकर्भ मिक्स तर्फ स्वर्ण पदक हात पार्न सफल भएको हो। बंगलादशेका प्रमुख प्रशिक्षक मार्टिनले सागको लागि ६ महिना देखि बन्द प्रशिक्षणमा गरेको मेहनतले उत्कृष्ट नतिजा आएको बताए।

१२ औं सागमा कास्य पदक मात्र हात पार्न सफल भएको नेपालले घरेलु मैदानमा भने रजत पदकसम्म हात पार्न सफल भयो। सागमा सहभागि राष्ट्रमध्ये प्रमुख दाबेदारको रुपमा भारतलाई मानिए पनि यस पटक भारत सहभागि नहुदा अधिकांश पदक बंगलादेशले हात पार्न सफल भयो। नेपालले आर्चरीको खेल सामाग्री समयमै उपलब्ध हुन नसक्दा सोचे अनुरुप स्वर्ण पदक ल्याउन नसकिएको आर्चरी प्रशिक्षक वसन्त थकालीले बताए।

नेपालले एक रजत, २ कास्य सहित तीन पदक प्राप्त गर्न सफल भएको छ। नेपालले कम्पाउण्ड (५० मिटर) मिक्स तर्फ रजत पदक प्राप्त गरेको हो। नेपाल सहित ४ देश सहभागी खेलमा अन्तिम समयमा पाकिस्तानले आन्तरिक कारण देखाउँदै सहभागी भएन्।

मंसिर २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्