लुम्बिनीमा शान्ति र बुद्धमा आधारित चित्रकला प्रदर्शनी शुरु

तस्वीर सौजन्य: चन्द्र पाठक/लुम्बिनी विकास कोष

बुटवल–बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति र बुद्धमा आधारित चित्रकला प्रदर्शनी शुरु भएको छ।

लुम्बिनी पिस फाउण्डेशनको आयोजनामा शुरु भएको प्रदर्शनीको अभिनेत्री मनिषा कोइरालाले उद्घाटन गरिन्।

प्रदर्शनीमा शान्ति र बुद्धमा आधारित रहेर नेपाली र जापानी कलाकारले तयार पारेका ४० वटा चित्रकला रहेको लुम्बिनी पिस फाउण्डेशनका महासचिव विनोद विष्टले जानकारी दिए।

यसअघि अभिनेत्री मनिषा कोइराला पनि लुम्बिनी भ्रमण गरेकी छिन्। सोमबार लुम्बिनी आएकी कोइरालालाई लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले स्वागत गर्दै लुम्बिनीको बारेमा जानकारी गराएका थिए।

समझदारी र शान्तिबारे सम्मेलन


पिस फाउण्डेशनकै आयोजनामा यही मंसिर २५ गते देखि अन्तरराष्ट्रिय समझदारी र शान्ति सम्मेलन शुरु हुँदैछ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्ने कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेपाल, भारत, मलेसिया, कम्बोडियाका प्राध्यापकहरु सहभागी हुनेछन्।

दुईदिनसम्म चल्ने सम्मेलनमा बौद्ध, हिन्दू, इस्लाम, इसाइ धर्मबारे विभिन्न प्रस्तुतिहरु रहने महासचिव विष्टले बताए।

मंसिर २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्