‘प्रधानमन्त्रीको स्वास्थ्य समाचार ‘कभरेज’मा संवेदनशीलता अपनाऔँ’

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको स्वास्थ्य समाचार ‘कभरेज’मा सञ्चारमाध्यमले विशेष संवेदनशीलता अपनाउनु पर्ने बताएका छन्।

एपेन्डिसाइटिसको उपचारका लागि पछिल्लो समय यही मंसिर १० देखि १९ गतेसम्म महागराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओली भर्ना भएका बेला आएका कतिपय समाचाहरुप्रति असन्तुष्टि जनाउँदै थापाले त्यस्तो सुझाव दिएका हुन्।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको आफ्नो कक्षमा पत्रकारहरुसँग छलफलका क्रममा थापाले प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर केही सञ्चारमाध्यमले अतिरञ्चितपूर्ण समाचार बनाएको र त्यसो नगर्न आग्रह गरेका छन्।

उनले भने, ‘स्रोतको हवाला दिएर प्रधानमन्त्रीको स्वास्थ्य सम्बन्धी समाचार बनाउँदा जनता भ्रमित हुने अवस्था आयो। वास्तविक र आधिकारिक सूचनाका आधारमा समाचार बनाउँदा जनता सुसूचित हुने अवसर प्राप्त हुन्छ। त्यसतर्फ पत्रकार साथीहरुले ध्यान दिनुहोस् भन्ने मेरो सुझाव छ।’

थापाले प्रधानमन्त्री ओलीले अहिले स्वास्थ्य लाभ गरिरहेको र अत्यावश्यक कामका लागि मात्रै समय दिएको बताउँदै करिब एक महिनासम्म प्रधानमन्त्रीको दोस्रो मिर्गौला प्रत्यारोपण सम्भव नभएको प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या सिंहलाई उद्धृत गर्दै जानकारी गराएका थिए।

उनले भने, ‘अहिलेलाई प्रधानमन्त्रीको प्राथमिकता आराम र अत्यावश्यक काम हो। नियमित डायलासिस नै उहाँको अहिले निर्णय हो र त्यस अनुसार काम हुन्छ। दोस्रो पटक मिर्गौला प्रत्यारोपणबारे अहिले कुनै निर्णय भएको छैन र तत्कालै अमेरिका वा अन्य मुलुक उपचारका लागि जाने भन्नेबारे निधो भएको छैन।’

१२ वर्षअघि प्रत्यारोपित मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि प्रधानमन्त्री ओलीले अघिल्लो महिना कात्तिक १३ गतेदेखि नियमितरुपमा डायलासिस गर्दै आएका छन्।

त्यो बीचमा एपेन्डिसाइटिस भएपछि त्यसको उपचारका लागि ओली अस्पताल भर्ना भएका थिए।

मंसिर २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू