यो गोल्डमेडल देशको नाम राख्नुपर्छ भनिरहने मेरी आमालाई

काठमाडौँ- उनले सबथोक बिर्सिइन्। खासगरि आफ्नो उमेर अनि यौवन। आफुसँगै हुर्केकाहरु घरजम गरिसकेका छन्, परिवार बसालिसकेका छन्।

धेरैको जिन्दगी सुखमय देखेकी छिन्। तर उनी खेलभन्दा बाहिर जान सकिनन्। यसैमा रमाइन् अनि यसैमा आफ्नो खुसी देखिन्। खेलसँगको लगावले उनको ध्यान अन्त जान दिएन। हुनपनि बक्सिङमा लागेर उनले देशभित्र सम्भव सबै पाएकी थिइन्।

राष्ट्रिय च्याम्पियन बनिन्, आफु कार्यरत नेपाल आर्मीको जागिर पनि राम्रै भइरहेको थियो। तर खेलमा निरन्तरको समपर्णले विवाहलगायत जिवनका अन्य विविध पक्ष उनको प्राथमिकतामा परेको थिएन।

‘ धेरैले अब घरजम गर भन्थे। तर आमा मात्र हुनुहुन्थ्यो जसले नाम कमाउ, अरुको वास्ता नगर भन्नुहुन्थ्यो’, नेपाली महिला बक्सर मिनु गुरुङ भन्छिन्।

१३ औँ दक्षिण एसियाली खेलकुद-सागमा स्वर्ण जितेर उनै मिनुले नेपाली महिला बक्सिङमा इतिहास रचेकी छिन्। ‘ आज मेरी आमाले मेरो खेल हेर्नु भयो भएन थाहा छैन। तर म यहाँसम्म आइपुग्न उहाँको धेरै ठुलो योगदान छ। यो स्वर्ण पदक मेरी आमाप्रति समर्पित गर्न चाहन्छु’, दक्षिण एसियामा निकै सशक्त रहेको भारतकै खेलाडीलाई फाइनलमा पराजित गरेपछि २९ वर्षीया मिनुले भनिन्।

मिनुले स्वर्णपदक थापेपछि नेपाली राष्ट्रिय गान बजिरहँदा केही नेपाली बक्सिङ पदाधिकारी भाह्वविह्वल भएका थिए। नेपालले साग बक्सिङमा २० वर्षपछि स्वर्ण पदक जितेको थियो। साग महिला बक्सिङमा भने पहिलोपटक। मिनु १२ औँ सागकी कास्य पदक विजेता हुन्।

‘मैले कास्य जितिसकेको भएर अब त्यसलाई पनि जितेर स्वर्ण पदक हात पार्नु थियो। मलाई थाहा थियो- फाइनलमा मेरो भेट भारतीय खेलाडीसँग नै हुने छ। किनभने भारतबाहेक अन्य खेलाडी मेरो प्रतिस्पर्धी नै लागेको थिएन। त्यसका लागि म शारिरिक र मानसिक दुवैरुपमा तयार भएको थिएँ’, चितवनको रामघाटकी मिनुले भनिन्।

९ वर्षअघि उनले नेपाल आर्मीमा जागिर सुरु गरेकी हुन्। त्यसअघि स्थानीय कराँते खेलाडी थिइन्। दाई बक्सिङका खेलाडी थिए। आमाले पनि पहिला फुटबल खेलेकी रहिछन्। ‘ सायद आमालाई खेलको रस थियो। आफुले पुरा गर्न नसकेको सपना मबाट सम्भव हुने उहाँले देख्नु भएको हुन सक्छ’, मिनु भन्छिन्।

नेपाल आर्मीमा छिरेपछि उनलाई बक्सिङ खेल्न सुझाव आयो। ‘तिमी एग्रेसिभ छौ, कराँतेभन्दा बक्सिङ ठिक हुन्छ’ भनेपछि मिनुले ‘हुन्छ नि त’ भनिन्। कडा मिहेनत गरिन्। आफुमाथी उनको विश्वास थियो। ‘ भारतीय खेलाडी भन्ने वित्तिकै दिमागमा अर्कै आउँछ। तर सफलता प्राप्त गर्न आफुमाथी विश्वास गर्नुपर्ने रहेछ। गुरुहरुले मलाई सँधै सिकाएको यहि नै हो’, मिनु भन्छिन्।

मिनुको अबको लक्ष्य छ ओलम्पिक खेल्ने। यसअघि उनले एसियन गेम्समा नेपालको प्रतिनिधित्व गरिसकेकी छिन्। खेलकै प्रभावले आर्मीमा हवल्दार भइसकेकी मिनु भन्छिन्- महिला धेरै गर्न सक्छन्। देशको नाम फैलाउन सक्छन्।

 

 

मंसिर २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्