न्युजिल्याण्डमा ज्वालामुखी बिस्फोटः ज्यान गुमाउनेको संख्या पाँच पुग्यो, ८ जना बेपत्ता

न्युजिल्याण्डमा ज्वालामुखी बिस्फोट हुँदा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । अरु ८ जना हराइरहेका छन्।
न्युजिल्याण्डको ह्वाइट आइल्याण्डमा रहेको ज्वालामुखी सोमबार बिस्फोट भएको हो । बिस्फोटको केही अघि पर्यटकहरु सो क्षेत्रमा गएका थिए । ज्यान गुमाउनेहरु सो क्षेत्रको भ्रमणमा गएका पर्यटक नै रहेको स्थानीय अधिकारीले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
३४ जनाको सो क्षेत्रबाट सकुशल उद्धार गरिएको छ । ३१ जना अहिले पनि अस्पतालमा छन्, उनीहरुको उपचार जारी रहेको जनाइएको छ ।
ज्यान गुमाएका पाँच मध्ये तीनजना अस्ट्रेलियन रहेको हुन सक्ने भन्दै अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले चिन्ता व्यक्त गरेका छन् ।
बेपत्ता तथा घाइते भएकाहरुमा अधिकांश अमेरिका, चीन, मलेसिया तथा न्युजिल्याण्डका नागरिक छन् ।
न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले मंगलबार पत्रकार सम्मेलन गरी घटनाप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरेकी छन् ।
बेपत्ताहरुको खोजी जारी रहेको छ । तर उनीहरुलाई जीवित उद्धार गर्न सकिने सम्भावना कम हुँदै गएको बताइएको छ।
व्हाकारी समेत भनिने ह्वाइट आइल्याण्ड नर्थ आइल्याण्डको तटीय क्षेत्रमा पर्छ । यो न्युजिल्याण्डको सक्रिय ज्वालामुखी मध्ये एक हो।