पुलको कथा

‘नदी तर्न न भैँसीको पुच्छर समात्नु पर्छ, न डुंगा खोज्नुपर्छ’

‘नदी तर्न न भैँसीको पुच्छर समात्नु पर्छ, न डुंगा खोज्नुपर्छ’

दाङ – लमही नगरपालिका वडा नं. ६ मध्यनगर निवासी ज्यूपुरण चौधरी ५८ वर्षको भए । उनको काम हो भैँसी चराउने । सानै उमेरदेखि उनी भैँसी चराउन राप्ती नदी वारीपारी गर्दै आएका हुन् ।

भैँसीको पुच्छर समातेर उनले कैयौँ पटक नदीमा आएको भल छिचोलेका छन् । यही नदीमा उनले डुंगा र पटेला समेत चलाए । तर, चार महिना अघि भदौबाट मध्यनगर घाटमा झोलुङ्गे पुल सञ्चालनमा आयो । त्यसपछि

ज्यूपुरणलाई राप्तीको पानी टेक्न परेको छैन । ‘पुल बनेर धेरै सुविस्ता भयो । भैँसी नदीबाट आउँछन् म पुलबाट ।’ उनले भने, ‘पटेला पनि चढ्नु परेन । भैँसीको पुच्छर समातेर नदी तर्नु पनि परेन ।’

पलटराम चौधरी राजपुर गाउँपालिका वड नम्बर १ मटेरीया निवासी हुन् । उनको गाउँमा पसल छ । सधैँ पसलको लागि सामान किन्न लमही बजार पुग्छन् । यो भन्दा अघि उनी दुई घण्टाको घुमाउरो बाटो हुँदै बजार पुग्थे । तर, अहिले २५ मिनेटमा बजार पुग्छन् । सामान किन्छन् र फर्किन्छन् ।

‘पुलले त धेरै सजिलो बनायो । न डुंगा चढ्नुपर्ने न नदी तर्नुपर्ने । झोलुङ्गे पुल भएपछि सजिलो भयो ।’ उनले भने, ‘डुंगाबाट नदि तर्दा धेरै पटक मुटु हल्लिएको छ । तर, अब न मुटु हल्लिन्छ । न कुनै जोखिम ।’

पुलले गाउँका मानिसलाई बजार घर आगन जस्तै भएको महशुस किसानले गरेका छन् । वर्षाको समयमा नदी पारीका गाउँ नाकाबन्दी जस्तै हुन्थ्यो । राप्तीमा भल बढ्दा गाउँका खोलामा समेत भल बढ्थ्यो । जसले गर्दा नाकाबन्दी जस्तै हुन्थ्यो । ‘भल आएको बेला न कोही जान सक्थे । न कोही आउन सक्थे ।’ चौधरीले भने ‘राती दिउँसो जतिबेला आउन जान पनि सकिने भयो ।’

यो पुलबाट किसानले उत्पादन गरेका तरकारी, दूध सजिलोसँग बजार पुर्‍याउन सकिएको छ । जगतराम यादव सधैँ यहि पुलबाट दूध बेच्न लमही पुग्छन् । पुल नहुँदा गढवा बजार हुँदै लमही जानुपर्ने बाध्यता थियो । तर, अहिले थोरै समय लाग्छ बजार दूध पुर्‍याउन । लमही नगरपालिका वडा नम्बर ६ मध्यनगरबाट गढवा गाउँपालिका वडा नम्बर ७ जोड्नेगरी झोलुङ्गे पुल बनेको हो ।

पुल बन्यो पर्यटकीय गन्तव्य

लमही नगरपालिका वडा नम्बर ६ मध्यनगरमा बनेको झोलुङ्गे पुलले आन्तरिक पर्यटनमा वृद्धि गरेको छ ।

दैनिकजसो एक सय भन्दा बढी पर्यटक पुल अवलोकन गर्न आउने गरेको स्थानीय युवा अनुप चौधरीले बताए। शनिबार र बिदाको दिन मानिसहरूले भिड लाग्ने गर्छ ।

मंसिर २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्