काठमाडौँ – तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत अहिले त्रिपूरेश्वर स्थित दशरथरंगशालमा पुरुष तर्फको फुटबलको फाइनल खेल भइरहेको छ ।

हालै नयाँ जीवन पाएको दशरथ रंगशालमा मंगलबार भव्य खेल जारी छ । भुटानसँगको खेलमा नेपाल १–१ बराबरीमा छ । नेपालका लागि १७ औँ मिनेटमा अभिशेक रिजालले गोल गरेका हुन् । भुटानका लागि ३७ औँ मिनेटमा चेन्चो ग्ल्याजेनले गोल गरेका हुन् ।

साग फुटबलको पुरुष तर्फको फाइनल अर्थात स्वर्ण पदकका लागि मंगलबार आयोजक नेपालले भुटानसँग प्रतिस्पर्धा गरिरहेको हो ।

सन् १९९३ मा नेपालले साग फुटबलमा पहिलो पटक स्वर्ण पदक जितेको थियो । त्यो बेला टिमका खेलाडी रहेका बालगोपाल महर्जन अहिले प्रशिक्षकको भूमिकामा छन् ।

साग फुटबलको फाइनलमा भुटान विरुद्ध पहिलो गोल गरेका नेपालका अभिशेक रिजाल । तस्बिर सुलभ श्रेष्ठ/देश सञ्चार

पछिल्लो पटक सन् २०१६ को सागमा नेपालले भारतलाई पराजित गरेर स्वर्ण जितेको थियो । यो सागमा भने भारत सहभागी भएन । अहिलेसम्म नेपाल पाँच पटक फाइनलमा पुगेको छ ।

भुटान भने सागको इतिहासमा पहिलो पटक फाइनलमा आएको हो । भुटानको फुटबल पछिल्ला वर्षहरुमा लगातार सुधार हुँदै गएको छ । समूह चरणमा नेपालसँग मात्रै पराजित भएको हो भुटान ।

जारी सागमा नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई नेपालले ४–० ले पराजित गरेको थियो । दोस्रो खेलमा श्रीलंकासँग १–१ को बराबरी खेलेको नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई २–१ ले हराएको थियो ।

समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशलाई १–० ले पराजित गरेर फाइनलमा स्थान बनाएको हो । नेपाल लगातार दोस्रो पटक साग फुटबलको फाइनलमा पुगेको हो ।

भुटानले जारी सागको आफ्नो पहिलो खेलमा बंगलादेशलाई १–० पराजित गरेको थियो । दोस्रोमा नेपालसँग पराजित भए पनि तेस्रोमा माल्दिभ्सलाई २–१ र अन्तिम खेलमा श्रीलंकालाई ३–१ ले पराजित गर्न सफल भएको हो भुटान ।

चोटका कारण खेल्न नसकेपछि मैदानबाट बाहिरिँदै सागमा नेपाली फुटबल टिमका कप्तान सुजल श्रेष्ठ । तस्बिर : बर्षा शाह/देश सञ्चार

साग फुटबलमा फाइनल खेलिरहेको भुटानी टिम । तस्बिर : बर्षा शाह/देश सञ्चार