१३ औँ सागकाे समापन सुरु, ५१ स्वर्ण जित्दै नेपाल दाेस्राे

तस्बिर: बर्षा शाह।

काठमाडौँ– १० दिनअघि सुरु भएको दक्षिण एसियाली खेलकुद (साग) मंगलबार सकिएकाे छ।

मंसिर १५ गते औपचारिक उद्घाटन भएको सागको समापन समारोह त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएकाे छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा १३ औँ सागको समारोह भइरहेकाे छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी थिइन्। अस्वस्थताका कारण सागको उद्घाटनमा सहभागि हुन नसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले एक भिडियो सन्देशमार्फत सागको समापन समारोहमा सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ।

तस्बिर: बर्षा शाह।

मंगलबारै सम्पन्न भएको सागको पुरुषतर्फको फुटबलकाे फाइनल खेल सकिएसँगै सागको समापन समाराेह सुरु भएकाे हाे।

सागको पुरुष फुटबलमा भुटानलाई २–१ गोलले पराजित गर्दै नेपालले स्वर्णपदक हात पारेको छ भने भुटानले रजत पदक जितेको छ।

१३ औँ सागमा उत्कृत्ट प्रदर्शन गर्दै नेपालले ५१ वटा स्वर्णपदक जित्न सफल भयाे। नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित कुल २ सय ६ पदक जित्याे। नेपाली पाैडीबाज गाैरिका सिंहले एकै सागमा कीर्तिमानी  ४ स्वर्ण जित्दै सनसनी मच्चाइन्। नेपाल प्रतियोगितामा दोस्रो भयो।

१३ औँ सागसम्म आइपुग्दा नेपालको यो हालसम्मकै उत्कृष्ट प्रदर्शन हो। नेपालमै आयोजना भएको आठौँ सागमा नेपालले सर्वाधिक ३१ स्वर्ण जितेको थियो।

प्रतियोगितामा १७४ स्वर्ण, ९३ रजत र ४५ कास्यसहित कुल ३ सय १२ पदक जितकाे भारत पहिलो भयो।

यस्तै ४० स्वर्ण, ८३ रजत र १२८ कास्यसहित २ सय ५१ पदक जितेको श्रीलंका तेस्रो, ३१ स्वर्ण, ४१ रजत र ५९ कास्यसहित कुल १३१ पदक जितेको पाकिस्तान चौथो, १९ स्वर्ण, ३२ रजत र ८७ कास्यसहित कुल १३८ पदक जितेको बंगलादेश पाँचौँ भएको छ।

यसैगरी १ स्वर्ण र ४ कास्यसहित कुल ५ पदक जितेको माल्दिभ्स छैटौँ र ७ रजत र १३ कास्यसहित कुल २० स्वर्ण जितेको भुटान सातौँ स्थानमा रह्यो।

मंसिर २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्