नेपाल लिटरेचर फेस्टिबलको आठौँ सँस्करण शुक्रबारदेखि, दक्षिण एसियाली साहित्यकै सर्वोत्कृष्ट पुरस्कार दिइने

पोखरा– आठौँ साहित्य महोत्सवमा दक्षिण एसियाली साहित्यकै सर्वोत्कृष्ट एवम् गरिमामय डिएससी पुरस्कार प्रदान गरिने भएको छ। २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) राशिबराबरको उक्त पुरस्कार दक्षिण एसियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले विगत आठ वर्षदेखि प्रदान गर्दै आएको हो।

नेपाल साहित्य महोत्सवसँगको सहकार्यलाई लिएर डिएससी दक्षिण एसियाली साहित्यिक पुरस्कारकी सहसंस्थापक सुरिना नरुला भन्छिन्, ‘हामी आइएमई नेपाल साहित्य महोत्सवसँग सहकार्य गर्न पाउँदा उत्साहित छौँ । सुन्दर शहर पोखरामा सम्पन्न हुने यस साहित्य महोत्सवमा यसपटक डिएससी पुरस्कारको विजेता घोषणा गर्दै छौँ । पुरस्कार र महोत्सव दुवैले दक्षिण एसियाली साहित्यलाई प्रर्वद्धन गर्ने हुँदा यो सहकार्यले हामी दुवैलाई फाइदा हुने विश्वास लिएका छौँ ।’

गएको आठ वर्षदेखि दक्षिण एसियाली लेखनलाई निरन्तर प्रवद्र्धन गर्दै आएको डिएससी पुरस्कार प्रत्येक वर्ष फरकफरक दक्षिण एसियाली देशहरूमा वितरण हुने रोलक्रमअनुसार यस वर्ष नेपाल साहित्य महोत्सवमा घोषणा गर्न लागिएको हो ।

पुरस्कारको लागि छनौट भएका पुस्तकका नामहरु यसप्रकार रहेका छन्,
– अमिताभ बागची को ‘हाफ द नाइट इज गन’
– जामिल जान कोचाईको ‘नाइट्स इन लोगर’
– सादिया अब्बासको ‘द इम्टी रुम’
– माधुरी विजयको ‘द फार फिल्ड’
– राज कमाल झाको ‘द सिटी एण्ड द सी’
– अरुनभा सिन्हाले ट्रान्सलेट गरेको पुस्तक ‘देर इज गन पाउडर इन द इयर’

आइएमई नेपाल साहित्य महोत्सवको आठौँ संस्करणबारे जानकारी दिन मंगलबार आयोजक संस्था बुकवर्म फाउन्डेसन र र्‍यान्डम रिडर्स सोसाइटीले पोखरामा संयुक्त पत्रकार सम्मेलन आयोजना गरेको थियो। महोत्सव मङ्सिर २७ देखि ३० गतेसम्म पोखराको लेकसाइडस्थित बाराहीघाटमा आयोजना हुँदै छ।

महोत्सवमा अघिल्ला संस्करणझैं यस वर्ष पनि देशविदेशका ११० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार, सम्पादक, सेलिब्रेटी एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति रहनेछ। ३५ भन्दा बढी सेसन र थप रोचक सामग्री समावेश महोत्सवमा दैनिक हजारौं साहित्यानुरागी भेला हुनेछन्।

आइएमई नेपाल साहित्य महोत्सवका निर्देशक अजित बरालका अनुसार, ‘सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट सुरु भएको साहित्य महोत्सव हाल आठौँ संस्करणसम्म आइपुग्दा नेपाल ट्रस्टको विशाल प्राङ्गण पोखराको बाराहीघाटमा भव्यताकासाथ सम्पन्न भएको परिदृश्यले हामीलाई उत्साह दिएको छ । यस्ता महोत्सवमा हुने सामाजिक बहसले सर्जक र पदासीन व्यक्तित्वलाई जवाफदेही बनाउन सघाउँछ । यसले समाजलाई मार्गदर्शन गर्नुका साथै लोकतन्त्रलाई शक्तिशाली बनाउन मद्दत पुर्‍याउँछ । प्रत्येक वर्ष साहित्य महोत्सव आयोजना गर्न पाउँदा हामी हर्षित छौं ।’ महोत्सव दक्षिण एसियाकै एउटा समावेशी मञ्चका बन्दै गएकोमा आफूहरु गौरवान्वित भएको उनले बताए।

नागरिक अगुवा देवेन्द्रराज पाण्डे।

महोत्सवमा यस वर्ष युवा र नवोदित, नसुनिएका र मुलधारमा नआएकाहरुको आवाज समेट्न खोजिएको महोत्सवका संयोजकहरु मध्ये एक शिवानी सिंह थारुले बताइन् । महोत्सव ‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको थियो। महोत्सवको उद्घाटन सत्रमा पूर्वअर्थमन्त्री एवं नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेको विद्वत्प्रवचन रहनेछ।

 

मंसिर २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू