संसद बैठकअघि नै उपसभामुखको राजीनामा, को-को हुँदैछ नयाँ सभामुख र उपसभामुख?

काठमाडौँ – सत्तारुढ दल नेकपाले संसद अधिवेशन सुरु हुनुभन्दा अघि नै उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने भएको छ।

संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख एउटै दलबाट हुन नहुने व्यवस्थाका कारण नेकपाले सभामुख पद लिएर उपसभामुख अर्को दललाई दिने योजनाअनुसार अधिवेशन अघि नै तुम्बाहाम्फेकाे राजीनामा गराउने तयारी गरेको हो।

नेकपा संसदीय दलका उपनेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले उपसभामुखको राजीनामा दिएर जेष्ठ सदस्यले संसदको पहिलो बैठकको अध्यक्ष गर्ने बताए।

उनले भने, ‘नेकपाले सभामुख पद गुमाउने कुरै हुँदैन।  त्यस्तो अवस्थामा उपसभामुखले राजीनामा दिनुहुन्छ र जेष्ठ सदस्यले बैठकको अध्यक्षता गरेर सभामुख चयनको प्रक्रिया अघि बढ्छ।’

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुस ४ गते दिउँसो ४ बजेका अधिवेशन आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ।

प्रतिनिधिसभा नियमावलीमा संसद बैठकको सुरु र अन्त्य सभामुखले गर्ने प्रष्ट व्यवस्था भएको अवस्थामा उपसभामुखले त्यो अधिकार प्रयोग गर्ने किन नगर्ने भन्ने विषयमा छलफल भइरहेको बेला नेकपाले त्यसअघि नै राजीनामा गराएर जेष्ठ सदस्यमार्फत बैठक चलाउने तयारी गरेको हो।

तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालकै एक महिला कर्मचारीलाई जबरजस्ती करणी प्रयास गरेको अभियोग लागेपछि असोज १४ गते राजीनामा दिएका थिए। उक्त अभियोगमा उनी जिल्ला अदालतको आदेशअुनसार डिल्लीबजार कारागारमा पुर्पक्ष थुनामा रहेका छन्।

के भन्छिन् उपसभामुख तुम्बाहाम्फे?

उपसभामुख तुम्बाहाम्फेले भने आफूलाई सभामुख बनाउने सुनिश्चित भए जुनसुकै बेला राजीनामा दिन तयार रहेको बताउँछन्। मंगलबार आफ्नै कार्यकक्षमा केही पत्रकारहरुसँग कुरा गर्दै तुम्बाहाम्फेले सभामुख पदमा आफ्नो दाबेदारी रहेको बताउँदै राजीनामा ठूलो विषय नरहेको बताइन्।

उनले भनिन्, ‘सभामुख पदमा मेरो दाबी कायमै छ। त्यसअघि सल्लाहमा राजीनामा दिन पनि सकिन्छ। अन्यथा बैठकको अध्यक्षता कार्य व्यवस्था परामर्श समितिको सल्लाहमा म नै गर्छु।’ उनले पहिलो दिन पुस ४ गतेको बैठक सकेर राजीनामा दिन सकिने विकल्प पनि रहेको उल्लेख गरिन्।

तुम्बाहाम्फेले सभामुखले गरेको गल्तीको परिणाम आफूले पद गुमाएर व्यहोर्नु नहुने बताउँदै आएकी छिन्। ‘म कुनै पनि हिसाबले सभामुखको जिम्मेवारी पूरा गर्न सक्छु। मलाई अहिलेसम्म सामाजिक सञ्जालमा समेत जिम्मेवारी पूरा गर्न सक्दिन भनेर कसैले भनेको छैन। सबैले मेरो क्षमता रहेकोमा विश्वास गरेका छन्,’ तुम्बाहाम्फेले भनिन्।

नयाँ सभामुख र उपसभामुखमा को को?

सभामुख पद नेकपाले नै राख्ने निश्चित भए पनि  अहिलेसम्म व्यक्ति टुंगो लाग्न सकेको छैन। नेकपा बन्नुअघि तत्कालीन माओवादीले सभामुख पाएकाले अहिले पनि त्यही खेमाबाट हुनुपर्ने जोड पूर्वमाओवादी पक्षधरको छ।

त्यसका लागि नेकपाका प्रमुख सचेतक समेत रहेका देव गुरुङ, नेता अग्नि सापकोटालगायको नाम अघि सारिएको छ। तर पूर्वएमाले खेमा भने पार्टी एकता भइसकेको अवस्थामा अहिले पनि दुई पार्टी जस्तो भागबण्डा गर्न नहुने तर्क गरिरहेको छ।

पूर्वएमाले खेमाले सभामुख पद पाएको खण्डमा पूर्वसभामुख एवं संविधानसभाका अध्यक्ष सुवाचन्द्र नेम्वाङले अवसर पाउने निश्चित जस्तै रहेको नेकपा नेताहरु बताउँछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेम्वाङलाई जिम्मेवारी दिने मुडमा रहेको बालुवाटार स्रोत बताउँछ। नेकपाले सभामुख लिएपछि उपसभामुख राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई बनाउने सम्भावना रहेको नेकपा नेताहरु बताउँछन्।

सांसद दुर्गा पौडेल ।

प्रतिनिधिसभा चुनावमा नेकपासँगको तालमेलमै पौडेलले प्युठान १ बाट चुनाव जितेकी थिइन्। प्रतिनिधिसभामा स्वतन्त्र हैसियतमा रहेका पौडेललाई उपसभामुख बनाउँदा सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनु पर्ने संवैधानिक व्यवस्था सम्बोधन हुने र आफू अनुकुल व्यक्तिको हातमै महत्वपूर्ण पद रहने नेकपाको बुझाइ छ।

नेकपाका एक सांसद भन्छन्, ‘दिन त प्रतिपक्षी कांग्रेसलाई नै उपसभामुख दिनुपर्ने हो। तर त्यस्तो अवस्था देखिँदैन। संभवत दुर्गा पौडेललाई नै उपसभामुख बनाउँछन्।’

सत्तासाझेदार अर्को दल समाजवादी पार्टीलाई उपसभामुख दिने संभावना कम रहेको स्रोतको भनाइ छ। समाजवादी सरकारमै रहने निश्चित नभएको अवस्थामा उसलाई उपसभामुख नदिइने नेकपाका नेताहरु बताउँछन्।

राजपा नेपालले भने आफूहरु अहिले नेकपासँग कुनै पनि पदमा लेनदेन नगर्ने पक्षमा रहेको छ। सांसद एवं राजपाका नेता लक्ष्मणलाल कर्ण भन्छन्, ‘जनताले हामीले संसदमा दिएको हौसियतअनुसार कुनै पनि पद माग्ने वा लिने अवस्थामा छैनौं। तर पनि नेकपासँग छलफल हुन सक्छ।’

को छन् जेष्ठ सदस्य?

पुस ४ गते अघि नै उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिएको अवस्थामा प्रतिनिधिसभामा जेष्ठ सदस्यको खोजी हुनेछ। नागरिकताअनुसार प्रतिनिधिसभाको जेष्ठ सदस्य राजपाका महेन्द्रराय यादव हुन्।

तर, उनको नागरिकतामा उल्लेख भएको जन्ममिति गलत भएको पाइएपछि २१ महिना अघि ७५ वर्षे महन्थ ठाकुरले जेष्ठ सदस्यको हैसियतमा प्रतिनिसभाका सदस्यहरुलाई शपथ गराएका थिए।

यसपटक पनि जेष्ठ सदस्यका रुपमा उनैले सभामुखको चयन गर्ने प्रक्रियाको अध्यक्षता गर्नेछन्।

मंसिर २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू