दक्षिण एसियाली खेलकुद सकियाे, १४ औँ साग पाकिस्तानमा

तस्बिर: बर्षा शाह।

काठमाडौँ– १० दिनअघि सुरु भएको दक्षिण एसियाली खेलकुद (साग) मंगलबार सकिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर १५ गते औपचारिक रुपमा उद्घाटन गरेको साग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एक विशेष समापन समारोहकाबीच सकिएको हो।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा सागको समापन भएको हो।

अस्वस्थताका कारण सागको उद्घाटनमा सहभागि हुन नसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले समापन समारोहमा एक भिडियोमार्फत सम्बोधन गरेका थिए।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले दक्षिण एसियाली देश र जनताका बीच एकता र मित्रता अभवृद्धि गर्ने अपेक्षासहितको तेह्रौं साग सफलतापूर्वक सम्पन्न भएकोमा सबैलाई बधाई तथा धन्यवाद दिए।

यस्तै प्रधानमन्त्री ओलीले सागमा सहभागि खेलाडीहरुलाई बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा निम्तासमेत गरेका छन्।

सागको समापनमा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश शिलवालले प्रधानमन्त्रीले खेलाडीहरुका लागि बुधबार आकर्षक प्रोत्साहन प्याकेजको घोषणा गर्ने जानकारी दिएका थिए।

सहभागी देशका खेलाडीहरु आ–आफ्नो देशको झण्डा बोकेर मार्चपासमा सहभागि भएका थिए।

मार्चपासमा नेपालको तर्फबाट नेपाली पौडीबाज गौरिका सिंहले नेपालको झण्डा बोकिन्। उद्घाटन समारोहमा ओलम्पियन कमल अधिकारीले नेपालको झण्डा बोकेका थिए।

एकै सागमा ४ स्वर्णपदक जितेसँगै गौरिकाको चर्चा चुलिएको छ। उनी २०० मिटर फ्रिस्टाइल, २०० मिटर व्याकस्ट्रोक, ४०० मिटर फ्रिस्टाइल र १०० मिटर फ्रिस्टाइलमा गरी चार स्वर्ण जित्न सफल भएकी थिइन्।

एकै सागमा ४ स्वर्ण जित्ने गौरिका एकमात्र नेपाली खेलाडी हुन्। उनले तेक्वान्दो खेलाडी दीपक विष्टले सागमा जितेको ४ स्वर्णको कीर्तिमानसमेत बराबरी गरेकी छन्। विष्टले लगातार ४ सागमा तेक्वान्दोमा स्वर्ण जितेर कीर्तिमान बनाएका थिए।

१३ औँ सागमा उत्कृत्ट प्रदर्शन गर्दै नेपालले ५१ वटा स्वर्णपदक जित्न सफल भयो। नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित कुल २ सय ६ पदक जित्यो। नेपाली पौडीबाज गौरिका सिंहले एकै सागमा कीर्तिमानी ४ स्वर्ण जित्दै सनसनी मच्चाइन्। नेपाल प्रतियोगितामा दोस्रो भयो।

१३ औँ सागसम्म आइपुग्दा नेपालको यो हालसम्मकै उत्कृष्ट प्रदर्शन हो। नेपालमै आयोजना भएको आठौँ सागमा नेपालले सर्वाधिक ३१ स्वर्ण जितेको थियो।

प्रतियोगितामा १७४ स्वर्ण, ९३ रजत र ४५ कास्यसहित कुल ३ सय १२ पदक जितको भारत पहिलो भयो।

यस्तै ४० स्वर्ण, ८३ रजत र १२८ कास्यसहित २ सय ५१ पदक जितेको श्रीलंका तेस्रो, ३१ स्वर्ण, ४१ रजत र ५९ कास्यसहित कुल १३१ पदक जितेको पाकिस्तान चौथो, १९ स्वर्ण, ३२ रजत र ८७ कास्यसहित कुल १३८ पदक जितेको बंगलादेश पाँचौँ भएको छ।

यसैगरी १ स्वर्ण र ४ कास्यसहित कुल ५ पदक जितेको माल्दिभ्स छैटौँ र ७ रजत र १३ कास्यसहित कुल २० स्वर्ण जितेको भुटान सातौँ स्थानमा रह्यो।

१४ औँ दक्षिण एसियाली खेलकुद पाकिस्तानमा हुनेछ।

मंसिर २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्