नेपाली नागरिकता लिन खाेज्ने भारतीय युवा र उनका नेपाली ससुरा पक्राउ

सांकेतिक तस्बिर

जनकपुरधाम– ज्वाइँलाई छोरा बनाएर नागरिकता दिलाउन खोज्ने नेपाली ससुरा र उनका भारतीय ज्वाइँ पक्राउ परेका छन्।

मंगलबार झुठो विवरण पेश गरेर नागरिकता बनाउन खोज्दा दुवैजनालाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नंं २ घर भएका ससुरा जितनारायण यादव र उनका ज्वाइँ भारत बिहार राज्यको मुजफ्फरपुर जिल्लाको शंकरपुरग्राम पञ्चायत घर भएका सुनिलकुमार यादव रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिएका छन्।

ससुरा जितनारायण यादवले धनुषाधाम नगरपालिकाको वडा नंं २ का वडाध्यक्ष तथा सचिवहरुको सिफारीसमा नक्कली जन्मदर्ता  तथा नागरिकताको सिफारिस बनाएकाे दुवै जनाले प्रमुख जिल्ला अधिकारी समक्ष बयान दिएका छन्।

दुवैजनालाई सनाखत गर्ने गराउने क्रममा पक्राउ परेको प्रमुख जिल्ला अधिकारी कणेलले बताए।

जिल्ला प्रशासन कार्यालय धनुषाले दुवैजनालाई पक्राउ गरेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको छ।

नेपालको नागरिकता ऐन २०६३ अनुसार निजहरुमाथि मुद्दा चलाउने प्रहरीले जनाएको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी कणेलले सिफारिस गर्ने वडाध्यक्ष र सचिव पनि अब अनुसन्धानको घेरामा रहेको बताए।

मंसिर २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू