सहकारी पीडितको मानव अधिकार रक्षा कसले गर्ने ?

नेपालगञ्‍ज-एकथरीले होटलमा कार्यक्रम गरेर अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइरहेका छन्।

होटलमा पुगेका ‘बोल्न जान्ने र अधिकार बुझेका’हरुले लय मिलाउदै अधिकारको कुरा राख्दै छन्। अर्को वक्ताले भन्दा आफूले राम्रो बोल्ने प्रयास गर्दैछन्।

मंगलबार नेपालगञ्जमा अर्काथरीले पनि मानव अधिकार रक्षाको सवाल उठाए। तर, यो सवाल उठाउनेहरु बोल्न जान्नेहरु थिएनन्। किसान थिए। गृहिणी थिए।

होटलमा भाषण गर्नेले समग्र मानव अधिकारको मुद्दा उठाएका थिए। सडकमा ब्यानर र प्लेकार्ड बोकेकाहरुले सहकारीले हिनामिना गरिदिएको आफ्नो पैसा फिर्ता गराइयोस् भन्दै थिए।

‘हाम्रो मानव अधिकार रक्षा गर’ किसान र गृहिणीले नारा लगाएर बजार परिक्रमा गर्दा उनीहरुको अनुहार मलिन थियो, निराश थियो। उनीहरु सडकमा हिडेको यो नौलो थिएन। नौलो थियो त खाली नारा। नेपालगञ्जको सहकारी बित्तीय विकास बैंकिङ संस्था लिमिटेडले रकम हिनामिना गरिदिएपछि उनीहरु सात महिनादेखि सडकमा उफ्रिरहेका छन्।

निक्षेपकर्ता संघर्ष समितिका उपसंयोजक आशुतोष शुक्लाले माइकिङ गर्दै ‘हाम्रो मानव अधिकार रक्षा गर’ भन्दा गाउँबाट आएका किसान र गृहिणी त्यसमा स्वर मिलाउदै थिए।

पीडित निक्षेपकर्ताहरुले आफ्नो पैसा हिनामिना गरेको सहकारी कार्यालय अगाडि हुँदै जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वारमा पुगेर केहीबेर आक्रोश पोखे। भेरी अस्पताल अगाडि पुगेर कोण सभा गरे।

संघर्ष समितिका संयोजक विजयकुमार गुप्तले छिटो भन्दा छिटो पैसा फिर्ताको वातावरण बनाउन आग्रह गरे। उपसंयोजक शुक्लाले कडा आन्दोलनमा जाने चेतावनी दिए।

सहकारीमा ४३ करोडबढी हिनामिना भएको छ। ४१ जनाविरुद्ध मुद्दा दायर भएको छ।प्रहरीले ६ जनालाई पक्राउ गरेर अदालतमा उपस्थित गराएकोमा चार जना पुर्पक्षका लागि थुनामा गएका छन्। सञ्चालक र उच्च पदस्थ कर्मचारीहरु फरार रहेका छन्।

मानव अधिकार आयोग र सरकरको ध्यानाकर्षण गर्न पीडितले नेपालगञ्जमा प्रदर्शन गरेका हुन्। पैसा फिर्ताका लागि ‘कहिलेसम्म पर्खिने ?’ उनीहरुको प्रश्न रहेको छ।

मंसिर २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्