नियमित डायलासिसका लागि प्रधानमन्त्री मनमोहन सेन्टरमा

प्रधानमन्त्री केपी शर्मा ओली। फाइल तस्बिर।

काठमाडौँ– एपेण्डिसाइटिसको १० दिने लामो उपचारपछि बालुटारमा आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलासिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टर गएका छन् ।

मंगलबार साँझ उनी नियमित डायालासिसका लागि मनमोहन सेन्टर पुगेको र आज साँझ नै बालुवाटार फर्कने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए।

‘सागको समापन कार्यक्रमपछि उहाँ समयको व्यवस्थापन गर्दै साँझ डायलासिसको लागि अस्पताल जानु भएको हो। उहाँ आज नै बालुवाटार फर्कनु हुने छ,’ थापाले देशसञ्चारसँग भने।

ओली फेरि बिरामी परेपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा आईसीयूको एउटा क्याबिन खाली गर्न लगाइएको समाचार आएपनि त्यसमा सत्यता नहरेको थापाले बताए।

१२ वर्ष अघि प्रत्यारोपित मिर्गौला फेल भएपछि प्रधानमन्त्री ओलीले गत महिना कार्तिकबाट नियमतिरुपमा डायलासिस गर्दै आएका थिए।

एपेन्डिसाइटिसको शल्यक्रियाका लागि यही मंसिर १० गते महाराजगञ्जस्थि सेन्टरमा भर्ना भएका ओली स्वास्थ्य लाभ गरेर ९ दिनपछि मंसिर १९ गते बालुवाटार फर्किएका थिए ।

बालुवाटार फर्किएर आराम गरेको पाँच दिनपछि सोमबार औपचारिकरुपमा मन्त्रीपरिषद् बैठकमा सहभागी भएर संसदको अर्को सेसन आव्हानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई त्यसको मिति तोक्न सिफारिस गर्ने निर्णय गरेका थिए।

यता यही मंसिर ४ गते पार्टी सञ्चालनको कार्यकारी अधिकार पाएको दोस्रो पटक सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीको अनुपस्थितिमा सोमबार नै केन्द्रीय सचिवालय बैठक डाकेर नीतिगत निर्णय गरेका थिए।

प्रधानमन्त्री ओलीले हालै एपेन्डिसाइट्सिको शल्यक्रिया गरेकाले करिव एक महिना उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपण संभव नभएको थापाले सोमबार बताएका थिए।

नियमिति डायलासिसको झन्झट व्यहोर्न भन्दा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नेबारे चिकित्सकहरुले छलफल गरिरहेका बेला उनलाई एपेन्डिसाइटिस भएको हो।

मंसिर २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्