राम्रो मूल्य पाएपछि धान बेच्ने किसानको घुइँचो

नेपालगञ्ज– खाद्य व्यवसाय तथा व्यापार कम्पनीले राम्रो मूल्य दिएपछि धान बेच्ने किसानको घुइँचो लागेको छ। नेपालगञ्जको कारकाँदोमा रहेको खाद्यको कार्यालयमा धान बेच्न आएका किसानहरु नौ दिनसम्म पालो कुरेर बसेका छन्।

बाँकेको विकट मानिने राप्तीपारीको सोनवर्षाबाट आएका राजेशकुमार साहु नौ दिनदेखि खाद्यको कार्यालय परिसरमा बसेका छन्। ४० क्वीन्टलभन्दा बढी धान लिएर आएका राजेश बिस्तरा बोकेर आएका छन्। ‘आएको नौ दिन भयो। अझैसम्म मेरो पालो आएको छैन। होटलतिर गएर खाना खान्छु’, राजेशले भने, ‘बिस्तरा ल्याएको छु। यहीँ (खाद्यको परिसर) सुत्छु।’

बजार मूल्यभन्दा तीन सय बढीमा धान खरिद गरेपछि खाद्यमा किसानको भीड लागेको हो। खाद्यले मोटा धानलाई दुई हजार पाँच सय ३२ रुपैयाँ ८० पैसा र माध्यम धानलाई दुई हजार ६ सय ७३ रुपैयाँ १६ पैसामा खरिद गरिरहेको छ।

नेपालगञ्जबाट यो वर्ष ३५ हजार क्वीन्टल धान खरिद गर्ने खाद्य व्यवसाय तथा व्यापार कम्पनीका प्रमुख भरत खनियाँले जानकारी दिए।

खाद्यले दैनिक १२ सय क्वीन्टलसम्म धान खरिद गरिरहेको छ। चार वटा काँटा लगाएर बिहान ९ देखि साँझ ७ बजेसम्म खरिद गर्दा पनि घुँइचो कम हुन सकेको छैन।

खाद्यले कात्तिक २७ गतेदेखि धान खरिद गर्न शुरु गरेको थियो। अहिलेसम्म २० हजार ९ सय क्वीन्टल धान खरिद भइसकेको कार्यालय प्रमुख खनियाँले बताए।

‘लडियामा आएकालाई छिटो पठाउने व्यवस्था मिलाएको छु। त्यही पनि दुई/तीन दिन लागेको छ’, खनियाँले भने, ‘१५ गते ल्याएको धान आज २४ गते तौलिने काम भएको छ।’

बाँके र बर्दियामा फौजी किराले धानलाई नोक्सानी पुर्‍याएर चिन्तित बनेका किसानलाई खाद्यले राम्रो मूल्य दिएपछि केही राहत भएको छ।

खाद्यले गतवर्ष नेपालगञ्जबाट ३३ हजार क्वीन्टल धान खरिद गरेको थियो। २५ हजार क्वीन्टल खरिद गर्ने कोटा निर्धारण गरेकोमा पछि १० हजार क्वीन्टल बढाइएको थियो।

तर, थप आठ हजार क्वीन्टल मात्रै धान खरिद भयो। यसपाली पनि यस्तै घुइँचो रहेमा पछि कोटा बढाउन सकिने कार्यालय प्रमुख खनियाँले बताए।

 

मंसिर २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्