एउटा बोकाको कमाई मासिक तीस हजार !

दाङ– एउटा बोकाको कमाई मासिक तीस हजार भएको खबर सुन्दा अपत्यारिलो लाग्ला। तर, यो वास्तविक हो।

राप्ती गाउँपालिका वडा नं. ७ वड्का सिसहनिया निवासी भिमबहादुर चौधरीले पालेको बोकाको मासिक कमाई झण्डै तीस हजार पुग्ने गरेको छ।

दैनिक कम्तिमा पाँच जना किसान आफ्नो बाख्राको प्रजनन्‌को लागि बेलन बोका कहाँ लग्ने गरेका हुन ।

एक जना किसानले दुई सय रुपैयाँ दिने गरेका छन्। दैनिक एक हजार रुपैयाँ बोकाले कमाउने गरेको छ।

भूमि अधिकार मञ्च कृषक समुहले गत असारमा पाँच लाख रुपैयाँको अनुदानमा बेलन बोका र दश जना किसानले उन्नतजातको बाख्रा पाएका थिए।

पशु विज्ञ केन्द्र तथा भेटनरी अस्पताल दाङले भूमिहिन किसानले खोलेको समुहमा आवद्ध किसानको आय आर्जनको लागी अनुदानमा बेलन बोका र बाख्रा प्रदान गरेको हो ।‘दैनिक चार–पाँच जना किसान बोका खोज्दै आउनुहुन्छ’किसान भिमबहादुरले भने–‘एक जना किसानले दुई सय रुपैयाँ दिनुहुन्छ ।’

गाउँमा उन्नत जातको बेलन बोका नहुदा यहाँका किसान धेरै टाढा टाढा सम्म जानुपर्ने बाध्यता थियो। तर, गाउँमै बेलन बोका भएपछी बाख्रामा नश्ल सुधारका साथै समुहको आम्दानी पनि बढेको छ । बेलन बोकाले आम्दानी संगै खर्च समेत गर्ने गरेको छ।

बोको लागी दाना र मकै पुर्‍याउन कमाईको आधा रकम खर्च समेत हुने गरेको छ ।‘बोका ठूलो छ । यसको आफ्नै खर्च धेरै छ’चौधरीले भने–‘कमाई गरेपनि खर्च पनि गर्छ ।’

भूमिहिन किसानले गरेको बाख्रापालनको गाउँपालिका स्तरबाट अनुगमन गरिएको छ । महिला तथा पछाडी पारिएका समुदायको सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार प्रवर्द्धन पावर परियोजनाको समन्वयमा गाउँपालिका स्तरबाट अनुगमन गर्दै बाख्रापालन व्यवसायलाई थप व्यवस्थीत गर्न सुझाव दिइएको छ।

बाख्रा पालनको लागी उपयुक्त गोठ र बस्ने व्यवस्था अनिवार्य गर्नुपर्ने, पोषीला घाँस तथा आहाराको व्यवस्था गर्न राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले सुझाव दिए।

‘बेलन बोकाको कमाईको बारेमा पनि थाहा भयो तर, बाख्रा पालनको प्राविधिक सिप हस्तान्तरण गर्न समुहमा जरुरी छ’उनले भने–‘हाम्रो गाउँपालिकामा कृषि तथा पशु शाखा छन्। ती शाखाको ध्यान यी किसान सम्म पुर्‍याउछु।’

मंसिर २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू