भारी हिमपातको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह

फाइल तस्बिर

काठमाडौँ– इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली बुधबार साँझसम्म नेपालको पश्चिमी भूभागमा प्रवेश गर्ने भएको छ।

उक्त प्रणालीको प्रभावले नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेकाले सतर्कता अपाउन मौसमविद्ले आग्रह गरेका छन्।

यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको मौसमविद् मञ्जु वासीले बताए।

सोही प्रणालीको प्रभावले देशैभरि बदली भई अधिकतम र न्यूनतम तापक्रममा गिरावट आई चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साथै यस प्रणालीका कारण देशका पश्चिमी भूभागका धेरै स्थानमा र मध्य र पूर्वी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको बताइएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हालसम्म नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकास नभए पनि रातिदेखि भने पश्चिमी न्यूनचापीय प्रणाली विकास हुनेछ।

महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारी र मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यम हिमपात हुने बताएको छ।

मौसमविद्का अनुसार यो क्रम आगामी शुक्रबारसम्मै जारी रहनेछ।

मंसिर २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्