प्रधानमन्त्री ओलीको आश्वासन

‘खेलाडीमाथि भेदभाव छैन, आगामी सात वर्षभित्र सात वटा अन्तर्राष्ट्रिय रंगशाला बन्छ’

काठमाडौँ– एपेन्डिसाइटिसको उपचारपछि बालुवाटारमा आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो उपचारपछि पहिलो पटक सार्वजनिकरुपमा सम्बोधन गरेका छन्।

१३ औँ दक्षिण एशियाली खेलकुद साग अन्तर्गत विभिन्न खेलमा जित हासिल गर्न सफल खेलाडीलाई बुधबार बालुवाटार बोलाएर सम्मान गर्नेक्रममा प्रधानमन्त्री ओलीले करिव २० मिटेन सम्वोधन गरेका छन्।

गएराती मात्रै उनको महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस गरेका ओलीले सम्वोधन गरेका हुन्।

१२ वर्षअघि प्रत्यारोपित मिर्गौला फेल भएपछि नियमितरुपमा १० औँ पटक उनले डायलासिस गरेका हुन्।

त्यसक्रममा उनले मुलुकको पहिचान अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन नेपाली खेलाडीले पनि विशेष योगदान पुर्‍याएको बताएका छन्।

आफ्नो मेहनतसँगै मुलुकको नाम राख्ने सबै खेलाडीलाई सरकारले सम्मान गर्ने र कुनै भेदभाव नगरी उनीहरुको क्षमता अभिवृद्धिका लागि आवश्यक भौतिक पूर्वाधार तथा सेवा सुविधा प्रदान गर्ने उनको भनाइ छ।

उनले नेपाली खेलाडीको उच्च कदर गर्दै बजेट घोषणाका आधारमा आगामी सागसम्म मुलुकभर अन्तर्राष्ट्रिय स्तरका सात वटा रंगशाला निर्माण गर्ने तयारीमा सरकार जुटेको समेत बताएका थिए।

सागमा कडा मेहनतका साथ जित हासिल गर्ने खेलाडीप्रति आभार व्यक्त गरेका प्रधानमन्त्री ओलीले आगामी सफलताका लागि उनीहरुलाई शुभकामना दिएका थिए।

त्यसअघि उनले सागमा स्वर्ण जित्ने खेलाडीलाई सरकारले नगद ९ लाख रकम पुरस्कार दिने घोषणा गरेका थिए।

ओलीले रजत जित्ने खेलाडीलाई नगद ६ लाख तथा काश्य जित्नेलाई तीन लाख पुरस्कारको घोषणा गरेका थिए।

यस्तै एक भन्दा धेरै स्वर्ण जित्ने खेलाडीलाई ११ लाख पुरस्कारको घोषणा प्रधानमन्त्रीले गरेका छन्।

सरकारले सामूहिक खेलमा गोल्ड मेडल जित्नेलाई जनही ५लाख दिने भएको छ।  त्यस्तै गोल्ड मेडल जिताउने कोचलाई जनही ५ लाख नै दिने सरकारको घोषणा छ।

मंसिर २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्