स्कुलबसले कुल्चिँदा २२ महिनाको नाबालकको मृत्यु

फाइल फोटो

मोरङ-मोरङको बेलबारी नगरपालिकामा विद्यालयको बसले किच्दा २२ महिनाको नाबालकको मृत्यु भएको छ।

बुधबार नगरपालिकाको रामपुरमा कसेनी मोडल इङ्लिस बोर्डिङ स्कुलको को १ ख ३०४६ नम्बरको विद्यार्थी ओसार्ने बसले स्थानीय प्रमोद साहका २२ महिनाको छोरा यसराज साहलाई किचेको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साहको आमा शिवकुमारीले ५ वर्षीय अर्को छोरालाई सोनु साहलाई सो बसमा चढाउन पुग्दा दुर्घटना भएको हो।

एलकेजीमा अध्ययनरत सोनु साह ठूलो छोरालाई बसमा चढाउने आउने क्रममा सानो बालक यसराजपनि पछ्याउदै आएको र रोकिराखेको बसमुनि पस्दा दुर्घटना भएको मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक राजकुमार खिउँजु बताए।

खिउँजुका अनुसार, मटिहारीबाट विद्यार्थी चढाउदै बस विद्यालयतर्फ जाने क्रममा सो घटना भएको हो। सानो बालक बसको पछाडीभागबाट मुनि पसेको र वरिपरिबाट कसैले नदेख्दा दुर्घटना भएको हो।

सो घटना लगत्तै विद्यालयले भने विद्यालय बन्द गरेको थियो। यद्यपि, बसका चालक बेलबारी नगरपालिका–६ का ४५ वर्षीय डम्बरबहादुर खड्कालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

मंसिर २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्