स्वास्थ्यमन्त्री ढकालद्वारा कोशी अस्पतालको पहिलोपटक स्थलगत निरीक्षण

मोरङ-स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विराटनगरस्थित कोशी अस्पतालको पहिलोपटक स्थलगत निरीक्षण गरेका छन्।

केहीसमयअघि कानुनमन्त्रीबाट स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका मन्त्री ढकालले बुधबार अस्पतालको निरीक्षण गर्दै स्वास्थ्य क्षेत्रमा देखिएका विकृति अन्त्य गर्ने बताएका छन्।

अस्पताल निरीक्षणपछि स्वास्थ्य क्षेत्रमा देखिएका विकराल समस्या तथा विकृतिको अन्त्य हुने उनले प्रतिवद्धता समेत जनाएका छन्। सो क्रममा मन्त्री ढकालले राजनीतिक आकांक्षा पूर्ति गर्ने अभिलाषाका साथ स्वास्थ्य क्षेत्रमा विभिन्न समस्या रहेको बताएका थिए।

कोशी अस्पतालद्धारा आयोजित स्वागत कार्यक्रममा मन्त्री ढकालले कोशी अस्पतालको सेवा विस्तार गर्दै विरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सरकार प्रतिवद्ध रहेको प्रस्टाए। उनले भने, ‘पैसा नभएको बाहना बनाएर सेवा विस्तार र उपचारमा समस्या ल्याइनु हुँदैन,’।

स्वास्थ्य क्षेत्रको जिम्मेवारीवहन गरिरहेका मन्त्री ढकालले सरकारद्धारा अघि सारिएको स्वास्थ्य विमाको कार्यक्रमलाई थप प्रभावकारी बनाउने स्पस्ट पारे।
सोही क्रममा विरामीका आफन्तहरुले कोशी अस्पतालको बेथीति, चिकित्सकहरुको डिउटी समयको बारे गुनासो पोखेका थिए।

त्यसैगरी, अस्पतालस्थित नर्सिङ प्रशासनतर्फ प्रमुख मञ्जु यादवले दरबन्दीअनुसार स्वास्थ्यकर्मी र कर्मचारी नहुँदा काम गर्न धेरै समस्या भइरहेको जानकारी दिइन्। यद्यपि, कार्यक्रममा प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले अस्पतालको सेवाप्रति जनविश्वास बढ्दै गएको दाबी गरेका थिए।

केहीदिन अघिमात्र अस्पताल परिसरमा करिब ६५ वर्ष एक वेवारिसे व्‍यक्तिको उपचारको अभावमा मृत्यु भएको थियो। ती वेवारिसे ब्यक्तिलाई पथरीबाट थप उपचारका लागि विराटनगर ल्याइएको अस्पताल श्रोतले जनाएको छ।

मन्त्री ढकालले प्रतिनीधि सभा निर्वाचनमा मोरङ्गको क्षेत्र नम्बर ३ बाट कडा प्रतिष्पर्धाको बीच कांग्रेसका प्रत्यासी सुनिल शर्मालाई पराजित गरेका थिए। सुनिल शर्मा आफैपनि विराटनगरस्थित नोवेल शिक्षण अस्पतालका सञ्‍चालक हुन्।

मंसिर २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्